उपचारमा डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै धर्ना

Read Time:2 Minute, 23 Second

 लेखनाथ, १७ कात्तिक 

चिकित्सकको लापरवाहीका कारण उपचारका क्रममा प्राध्यापक शिवचन्द्र ढकालको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज पोखराको चरक अस्पतालमा धर्ना दिएका छन् । उपचारमा संलग्न डा बद्री पौडेलमाथि कारबाही र उनको लाइसेन्स खारेजीको माग गर्दै उनीहरुले बिहानैदेखि अस्पतालमा धर्ना दिइरहेका छन् । आफ्ना माग पूरा नभएसम्म आफन्तले मृतकको शव नबुझ्ने बताएका छन् । अस्पतालमा अप्रिय घटना हुन नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालमा दिइएको धर्नाका कारण केही समय अस्पतालको आकस्मिकसहित सम्पूर्र्ण सेवा ठप्प भएको थियो । घटनापछि उत्पन्न परिस्थितिको समाधानका लागि अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता सुरु भएको छ । कास्की लाहाचोकका ३२ वर्षीय प्रा शिवचन्द्र ढकालको सामान्य ज्वरो आएर शुक्रबारदेखि उपचार गराइरहनु भएकाु थियो । उपचारको क्रममा ढकालको मङ्गलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण ढकालको मृत्यु भएको आरोप लगाए पनि चिकित्सकले भने लापरबाही नभएको दाबी गरेका छन् । उपचारमा संलग्न डा बद्री पौडेलले बिरामी ढकाललाई अर्धचेत अवस्थामा बिरामीका आफन्तले पानी खुवाएका कारण घाँटीमा पानीको सर्को परेर मृत्यु भएको दाबी गरे । भारतको मुम्बैस्थित टाटा इन्स्टिच्युट अफ सोसल साइसेन्स कलेजमा प्राध्यापन गर्दै आउनु भएका ढकाल केही समय अगाडि तिहार पर्व मनाउन घर आउनु भएको थियो । दसदिने घोरेपानीको ट्रेकिङ गएर फर्किएपछि लेक लागेको आशङ्कामा ज्वरो आएपछि उपचारको लागि आस्पतालमा लगिएको प्रा ढकालका आफन्तले बताएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %