राष्ट्रिय सहमतिका लागि पटक –पटक दलहरुलाई दबाव दिदै आएका राष्ट्रपति डा.रामवरण यादवले एक हप्ता भित्रै राष्ट्रिय सहमतिको सरकार गठनका लागि औपचारिक रुपमै आह्वान गरेका छन् । संविधानसभा विघटन भएको करीब ६ महिना पुग्नै लाग्दा पनि दलहरु बीच सहमति कायम नहुदा राजनीतिक संकटको गाँठो फुक्न नसके पछि राष्ट्रपति यादवले संवैधानिक प्रक्रिया अनुरुप राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तीमा नेपालको अन्तरिम संविधानको धारा ३८ को (क) अनुरुप यस्तो आह्वान गरेको उल्लेख गरेको छ । संविधान अनुरुप सहमतीय सरकारको नेतृत्वका लागि उपयुक्त व्यक्तिको नाम र सोही व्यक्तिको अध्यक्षतामा मन्त्रीमण्डलको गठन गर्न एक हप्ताको समय दिइएको छ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रका नाममा सम्वोधन गदै बिहीवार सहमतिका लागि अह्वान गरे पनि सहमति जुट्ने संकेत नदिएपछि राष्ट्रपतिले राजनीतिक निकास निकाल्न अग्रसरता देखाएका हुन् । राष्ट्रपति यादवले गरेको सहमतीय सरकार गठनको आह्वानलाई विपक्षी दल एमाले र काङग्रेसले उपयुक्त कदम भन्दै स्वागत गरेका छन् । कांग्रेस सभापति सुशील कोइरालाले एक हप्ता भित्रै सहमति जुट्ने प्रतिकृया दिए । वर्तमान सरकारले घोषणा गरेको मंसिर ७ को निर्वाचन नभएको अवस्थामा राष्ट्रपतिको कदम उचित भएको एमाले अध्यक्ष झलनाथ खनालले बताएका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुई धु्रवतिर फर्किरहेको अवस्थामा सहमतिमा प्रधानमन्त्रीको छनौट सात दिन भित्रै होला भन्ने कुरामा धेरै आशावादी हुन सकिने अवस्था छैन । तर, यसपटक राष्ट्रपतिले औपचारिक रुपमै सहमतीय सरकार गठनका लागि ढोका खोलि दिए पछि वर्तमान सरकार राष्ट्रपतिको यो कदम प्रति अतालिसकेको छ । राष्ट्रपतिले आफ्नो भूमिका देखाएको भन्दै सरकार पक्ष राष्ट्रपतिसंग चिडिएको छ । सरकारको बहिर्गमनको मुद्धा लिएर सडक आन्दोलनमा लागेका कांग्रेस एमाले लगायतका दलहरु सत्तापक्षसंग एउटै टेवलमा बसेर सहमतिमा सात दिनमै प्रधानमन्त्रीको छनौटको यात्रा आफैमा चुनौतिपूर्ण देखिन्छ ।
–राज्यसत्ता नेपालव्युरो
सहमतीय सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्धारा ७ दिने समय सीमा
Read Time:3 Minute, 10 Second
