विराटनगर, १७ कात्तिक
उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले शान्ति र संविधान सुनिश्चित हुने गरी प्याकेजमा सहमति भए एकीकृत नेकपा माओवादीकै नेतृत्वमा सरकार बनेमा नेपाली काँग्रेसलाई आपत्ति नहुने बताएकी छन् ।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँंदै उनले शान्ति र संविधानका लागि नेपाली काँग्रेस जस्तोसुकै त्याग गर्न तयार रहेको प्रष्ट पारिन ।
उनले नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पदका लागि दिएको उम्मेदवारी सत्ता र कुर्सीका लागि नभई नेपाली जनताले पाएका उपलब्धिहरुको रक्षाका लागि हो भन्दै थपिएको समय सीमामा पनि संविधान बन्न नसके निश्चित रुपमा मुलुक दुर्घटना पर्नेछ उनले भनिन ।
उपप्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुले आ–आफ्नो हठलाई छाडेर सहमतिमा आउनुपर्ने र यसैको माध्यमबाट लोकतन्त्रको जग बस्ने धारणा व्यक्त पनि व्यक्त गरिन ।
रासस