अरहत् धज

Read Time:11 Minute, 47 Second

(Bhikkshu-Pmurti (P.H.D Scholar)  

भौगोलिक, सामाजिक नीतिनियम तथा समय, परिस्थिति अनुसार मानिसले आफूलाई सुहाउँदो र सजिलो हुनेगरी आफ्नो रहनसहनमा परिवर्तन गर्दै लगेको कुरालाई कसैले पनि नकार्न सकिंदैन । त्यसै अनुरुप प्रत्येक मानवको अभिन्न अंगको रुपमा रहेको भेषभूषा पनि आफूलाई सुहाउँदो तरिकाले गर्न थाल्यो । सामान्यतया भेषभूषाको चलन ब्याधाको युगदेखि शुरु भएको मानिन्छ तापनि यसको विकसित स्वरूप पाषाण युगलाई मानिन्छ । मानव सभ्यता सँगसँगै यसको विकसित स्वरूप व्यापक हुँदै आधुनिक युगसम्म पुगिएको मान्न सकिन्छ । समाजका अभिन्न अंगको रुपमा रहनुहुने ऋषि, तापस, सन्यासी, साधु, सन्तमहन्त तथा भिक्षुहरुको पनि आ-आफ्नै भेषभूषा रहेको कुरा सर्वविदितै छ । त्यस्तै बौद्ध भिक्षुहरुको पनि समय तथा देश अनुसारका पहिरन वा भेषभूषा रहेको देख्न सकिन्छ । जस्तै ताइवान, चीन, जापान, कोरिया तथा भेतनाम आदि देशहरुलाई लिन सकिन्छ । ती देशका पहिरनको रंग तथा स्वरूप भिन्न देखिन्छ ।
यसै अनुरुप थेरवादी बौद्ध भिक्षुहरुले लाउने गरेको पहिरन वा वस्त्रलाई “चीवर” भन्ने गरिन्छ । अत; यसै वस्त्रलाई चीवर, काशायवस्त्र, पाँशुकुलिक चीवर, पीतवस्त्र, गेरुवस्त्र, अरहत-धज इत्यादि नामले पुकार्ने गरेको पाइन्छ । पाँशुकुलिक चीवर भन्नाले तत्कालीन समाजमा लाशलाई बेरेर ल्याई मसानघाटमा फ्याँकिएको टुक्राटाक्री कपडालाई गाँसिएर निर्माण गरिएको पहिरनलाई भन्ने बुझिन्छ । वर्तमान समयमा यसरी निर्माण गरिने चीवर अप्राप्य भइसकेको छ भने त्यसको ठाउँमा तयारि चीवर नै लाशमाथि राखेर भिक्षुहरुलाई पाँशुकुल दिने चलन चल्दै आइरहेको छ बौद्ध समाजमा । सायद आफन्तजन तथा अन्य उपस्थित श्रद्धालुहरुले लाशलाई हेर्न नचाहनु वा नदेखाउनु पनि हुन सक्छ छोपिएको लाशमाथि तयारि चीवर राखेर पाँशुकुल दिने प्रचलन भएको । आधुनिक समाजमा यसरी प्रदान गरिने पाँशुकुललाई पाँशुकुलिक चीवर भन्ने गरिन्छ । बुद्धकालीन समयका आर्य ९अरहत० ज्ञान प्राप्त भिक्षुहरुले धारण गर्ने वस्त्र भएको हुनाले चीवरलाई “अरहत धज” भन्ने गरेको कुरा त्रिपिटकमा उल्लेख भएको पाईन्छ ।
हुन त पहिला चीवर आविष्कार वा निर्माण भएको देखिंदैन । तत्कालीन भारत समाजमा तापस, ऋषि, सन्तमहन्त, साधुहरुले, आफ्नो लाजसरम, ढाक्नको निमित्त पशुहरुको छाला, रौँ, खरानी, कपाललाई, आफ्नो वस्त्रको रुपमा प्रयोग गरेको थियो भने गौतम बुद्धप्रमुख भिक्षुसंघले पनि आफ्नो लाजसरम ढाक्नको निम्ति वस्त्र धारण गरेको पाईन्छ तापनि  तिनीहरुले अन्य ऋषि, तापस, शाधुसन्तहरुले जस्तै झारपात, पशुहरुको छाला, रौँ, कपाल इत्यादिको वस्त्र धारण गरेको उल्लेख छैन । तर सिङ्गो पहेंलो कपडालाई नै आफ्नो वस्त्र बनाएर लाउने गरेको कुरा महावग्ग-चीवरखन्ध सूत्रमा उल्लेख भएको पाईन्छ । हुनत गौतम बुद्धले समय र परिस्थिति नआएसम्म कुनै पनि नीति नियम बनाउनुभएको थिएन । स्मरणीय छ गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि २० वर्षसम्म कुनै पनि नीतिनियम निर्माण गर्नु भएको थिएन ।
आजकल थेरवादी बौद्ध भिक्षुहरुको चीवर ९पहिरण० लाई जो कसैले देखेपनि त्यस चीवरको रंगलाई देख्नासाथै फलाना बर्मेली, फलाना थाई भन्ने देशी तथा विदेशीहरूले गरेको पाईन्छ तर चीवरको रंगभन्दा पनि चीवरको स्वरुपलाई जान्नु अत्यन्त महत्त्वपूर्ण देखिन्छ । केवल सिंगो कपड़ालाई रंगाएर लाउँदैमा चीवर भन्न मिल्दैन । तत्कालीन समाजमा पहिले त गौतम बुद्ध प्रमुख भिक्षुसंघले सिङ्गो पहेँलो कपडालाई नै आफ्नो पहिरणको रुपमा लाउने गरेको थियो तर एकदिन महाजनताले “कामभोगी गृहस्थीहरुले जस्तै श्रमण शाक्यपुत्रहरुले वस्त्र लाउँदो रहेछ” भनी दोषारोपण गर्न थाल्यो ।
एकदिन बुद्ध राजगृह नगरदेखि दक्षिणागिरि भन्ने प्रदेशमा जानुहुँदा “मगधक्षेत्र” भन्ने चतुराकार लम्बाई-चौडाई भएको द्यांग, गरा, आली आदिद्वारा युक्त मगधको खेतको आकार देख्नु भयो र भिक्षु आनन्दलाई डाक्नुहुँदै “आनन्द ! ऊ त्यो खेतको आकार अनुसार चीवर निर्माण गर्नु भनी आज्ञा हुनु भयो बुद्धले । त्यसै अनुरुप भिक्षु आनन्दले चीवर निर्माण गर्नुभयो । भिक्षु आनन्दले प्रशिक्षण दिनुभएको चीवर काट्ने तथा सिलाउने क्रम भिक्षुहरुमाझ प्रचलित तथा प्रख्यात हुँदै गयो । यसरी चीवर भिक्षुहरुलाई सुहाउँने गरी अत्यन्त राम्ररी निर्माण गरेको हुनाले गौतम बुद्धले (पण्डितो भिक्खवे आनन्दो, महापन्न्यो भिक्खवे आनन्दो) आदिद्वारा “भिक्षु आनन्द पण्डित छ, महाप्रज्ञावान छ” भनी प्रशंसा गर्नुभयो । यिनै प्रक्रिया भिक्षुहरु बीच प्रचलन हुँदै गयो ।  आधुनिक समयमा समेत थेरवाद बौद्ध भिक्षुहरुको पहिरण खेतको आकारमा रहँदै आएको कुरा ती पहिरण हेर्दा देख्न सक्छौं ।
चीवरको रंगकोबारेमा भने बिभिन्न मतमतान्तर रहेको देखिन्छ तर विनय पिटक-महावग्ग अनुसार त्यस वखत भिक्षुहरुले गोबरबाट, पीली मिट्टीबात चीवरलाई रंगाउने गर्दथियो । जसले गर्दा चीवर चाडै दुर्वर्ण हुने भएको हुनाले छवटा रंगको चीवर प्रयोग गर्न सकिने आज्ञा हुनुभयो । १. मूल (पानीबाट निकालेको) रंग, २. स्कन्ध रंग, ३. त्वच  (छालाको) रंग, ४. पत्र (पातको) रंग, ५. पुष्प रंग, र ६. फल-रंग आदि हुन् । कुनै कुनै बौद्ध विद्वानहरुको भनाई अनुसार बुद्धको पंचरश्मि वा पंचस्कन्धबाट बौद्ध झन्डा निर्माण भएजस्तै भविष्यमा थेरवाद बौद्ध भिक्षुहरुको चीवर पनि ती ती रंगको निर्माण हुने विचार ब्यक्त गरिएको पाईन्छ । विनय पिटक महावग्ग अनुसार चीवरको प्रकार पनि उल्लेख गरिएको पाईन्छ । कपासको, कम्बल (ऊनी), साण (सनक) आदि हुन् । यी कच्चापदार्थबाट निर्मित चीवर परिभोग गर्न हुने अनुमति भिक्षुहरुलाई प्रदान गरिएको छ ।
स्मरणीय छ गौतम बुद्धको बुद्धत्व प्राप्ति पछी बीस वर्षसम्म कुनै पनि भिक्षुहरुले गृहस्थीहरुबाट दान प्रदान गरिएको चीवर ग्रहण गर्नुभएको थिएन । केवल पांशुकुलिक चीवरमात्र धारण गर्नुभएको थियो । बुद्धत्वको बीस वर्ष पश्चातमात्र (गृहस्थी) गृहपतिहरुद्वारा दान प्रदान गरिएको चीवर ग्रहण गर्न अनुमति प्रदान गर्नुभएको थियो साथै भिक्षुहरुलाई त्रिचीवरको अनुमति प्रदान गरिएको छ । त्रिचीवर भन्नाले उत्तरासंघ (चीवर), संघाटि (डबल चीवर) अनि अन्तरावास आदि हुन् । स्मरणीय छ, थाईल्याण्डमा चीवरलाई नै संघाटि (डबल चीवर) को रुपमा प्रयोग गर्ने गरेको देखिन्छ । सायद गर्मी देश भएकोले हो कि ?
ती वस्त्र आफू राम्रो हुनको लागि नभई प्राकृतिक वातावरणबाट हुनसक्ने बिध्नबाधाबाट बच्न प्रयोग गर्ने भनी “।।।।। सीतस्स पटीघाताय, उन्हस्स पटीघाताय, डंस मक़स ।।।।” “चीसोबाट बच्नको लागि, तातो प्रघातबाट बच्नको लागि घाम, हावा र पानीको प्रतिघातबाट बच्न ।।।।”  आदिद्वारा प्रत्यवेक्षना गरेर लाउनुपर्ने उपदेश दिनुभएको छ ।
चीवर दान गरेको आनिशंस (फल) को रुपमा यदि केटा पक्षले चीवर दान गरेमा अनेकौं जन्ममा भोगसम्पत्तिको भागीदार भएर ती भोग सम्पत्ति भोग गरेर अन्तमा बुद्धसमक्ष “एहि भिक्खु” भन्ने वाक्यद्वारा नै गृहस्थीभाव अंतर्धान भई भिक्षुत्व ग्रहण गरी अरहत ज्ञान हासिल गर्न सक्ने फल पाउने छ । त्यसरी पाउनेहरुमध्ये सारिपुत्र, मौद्गल्यायन, पंचवर्गीय भिक्षुहरुका साथ अनेकौं भिक्षुहरुको उल्लेख बौद्ध साहित्यमा भएको पाईन्छ । महिलाहरुले प्रदान गरेमा अनेकौं जन्ममा भोगसम्पत्तिको उपभोग गर्न सकिनेछ र बुद्धकालीन समयमा जन्मेमा नौकोटी मूल्यवान “महालता पसाधन” भन्ने स्वर्णाभरण प्राप्त गरिने छ र अन्तमा त्यस स्वर्णाभरण नै बुद्धशासनको लागि परित्याग गरेर प्रव्रजित भई अरहत ज्ञान प्राप्त गर्नेछ ।
अन्तमा खेत अनुसारको आकारमा वस्त्र निर्माण गरेको २५०० वर्ष भन्दा बढी समय भई सक्दा पनि त्यस वस्त्रमा अल्पमात्र भएपनि फरक नगरी हालसम्म प्रयोग गर्दै आउनुभएका एउतै मात्र समूह (निकाय) हो थेरवादी बौद्ध भिक्षुहरु ।
बुद्धोपस्थापक भिक्षु आनन्द महास्थविरमा आधारित – अप्रकाशित
साभारस् -आनन्द भूमिस बु.सं. २५४५, इ.सं. २००१ मे,  वर्ष २९, अंक १, पेज नं. १७-१९
                                                                                                  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %