प्रेमध्वज गाहा मगर, कावासोती, नवलपरासी
सरकारले समयमा क्षतिपुर्ति उपलब्ध नगराउँदा नवलपरासी सहीदनगर डण्डास्थित थारु राष्ट्रिय संग्रहालयको पुनःनिर्माण हुन सकेको छैन । संग्रहालयमा गत बैशाख २६ गते ब्राम्हण क्षेत्री संगठनका कार्यकर्ताहरुले आगजनी तथा तोडफोड गर्दा करिव १५ लाख रुपैया बराबरको सामग्रीको क्षति भएको थियो । आगजनीबाट उत्तर तर्फको भवन र यसभित्रका सामानहरु पुर्ण रुपमा नष्ट भएको थियो भने थुप्रै सवारीका साधनहरु पनि जलेका थिए । कार्यालय भवनका झ्याल ढोका, कुर्सी र टेवलहरुमा पनि क्षति पुगेको थियो ।
५ महिना बितिसक्दा पनि सरकारले क्षतिपुर्ति रकम उपलब्ध गराएको छैन । संग्रहालय ब्यवस्थापन समितिका अध्यक्ष मझिलाल थारु थनेतले क्षतिपूर्ति सम्बन्धि फाइल गृहबाट अर्थमन्त्रालयमा पुगेर अड्किएको जानकारी दिनुभएको छ । जम्मा १५ लाख रुपैयाको कुरामा पनि सरकारले आनाकानी गरिरहेको वहाँको ठहर छ । “सँग्रहालयको क्षतिपूर्तिका लागि आन्दोलन गर्नुपर्ने भएको छ, हामी त्यसको तयारी गर्दैछौं । ”वहांले भन्नुभयो ।
संग्रहालय पुनःनिर्माण हुन नसक्दा थारु सँस्कृति झल्कने सामग्रीहरुको ब्यवस्थापन गर्न समस्या भएको,सँरक्षणकर्ता खड्ग बहादुर महतोको भनाई छ । स्मरण रहोस् यही सँग्रहालयको क्षतिपूर्तिको माग गर्दै बैशाख २७ गते निस्केको शान्तिपूर्ण जुलुस माथि प्रहरीले गोली चलाउंदा सख्त घाइते भएका गोछडा नवलपरासीका धन बहादुर थनेतले शहादत प्राप्त गरेका थिए भने तीन जना घाइतेहरु उपचार पश्चात सामान्य जीवनमा प्रवेश गरीसकेका छन् ।
क्षतिपुर्ति नपाउंदा, पुनःनिर्माण भएन : थारु राष्ट्रिय संग्रहालय
Read Time:2 Minute, 17 Second