तपाई प्रहरी सेवामा कसरी प्रवेश गर्नु भयो ?
वि. सं. २०३९ सालमा स्नातक गरेर बसेको थिए । स्नाकोउत्तर पढ्ने मानसिकता बनाइरहेको थिए । त्यति नै बेला प्रहरीमा भर्ना खुलेको थियो । मेरा एक साथी प्रहरी सेवामा थिए उनले नै त्यो कुराको जानकारी दिए । प्रहरीमा जाने वा अरु के गर्ने भन्ने केही सपना बुनेको थिइन । मेरो क्षमता, तनरुस्ती अरु कुरा हेरेर मलाई उत्पे्ररणा दिए । मेरा साथी विमल लामाले मलाई प्रहरीमा भर्ना हुन उत्पे्ररित गरे अनि मेरो जीवनले नै नयाँ मोड लियो ।
प्रहरी महानीरिक्षक भैसके पछि कुन– कुन कुरालाई प्राथमिकता साथ गर्ने योजना बनाइरहनु भएको छ ?
प्रहरी नागरिकको सेवाका लागि स्थापित संस्था हो । त्यस कारण हामीले अपराध नियन्त्रण र रोकथामका लागि प्रहरीले दिने सेवालाई प्रभावकारी र साख सहित पारदर्शी र जवाफ देही बन्नु पर्छ भन्ने मान्यतामा हामी अगाडि बढ्नु पर्छ । त्यही मान्यतामा रहेर हामीले हाम्रो स्रोत र साधनलाई केन्द्रित गरेका छौ । नागरिक केन्द्रित सेवालाई प्रभावकारी जवाफदेही र सरल अनि सहज बनाउँने हाम्रो प्रयास रहने छ । एकदमै नौलो कार्यक्रम त्याउँछु भनेर यसै भन्न सक्दिन । किन भने मेरा पूर्वजले पनि निरन्तरता दिइरहेका कामलाई नै प्रभावकारी रुपमा कसरी अगाडि बढाउने र उत्कृष्ट परिणाम हासिल गर्न तिर हामी केन्द्रित बन्ने छौ । आवश्यकता अनुरुप नयाँ कार्यक्रम पनि संगै अगाडि बढाउने छौ ।
प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप बढी नै देखिन्छ । नेपाली सेनामा एउटा रोलक्रम अनुसार प्रमुख पदमा यो पछि यो भन्ने निश्चित हुन्छ, तर प्रहरीमा त्यस्तो निश्चिता छैन किन ?
प्रहरी संगठन निश्चित अनुशासनात्मक आधारमा उभिएको संगठन हो । यसको आफ्नै ऐन नियम छ । त्यस किसिमको अभ्यासमा रहेर सरुवा वढुवा र वृत्ति विकासका अवसरहरु प्रदान गर्न सकिन्छ । सरुवा बढुवाको निश्चित आधारहरु बनाइएको छ । ऐन नियम र कानुनको अभ्यास नै हामीले गरिरहेका छौ । साथै त्यसलाई बैज्ञानिक र युक्तिसंगत अनि पारदर्शी बनाउने भूमिका हाम्रो हुन्छ । त्यो अवस्था कायम राख्नमा म प्रतिवद्ध छु ।
राजनीतिकरणलाई चिरेर काम गर्दछु भन्ने तपाईमा कति आत्मविश्वास छ ?
राजनीति कुनै पनि राज्य संयन्त्रलाई अगाडि बढाउने नेतृत्व हो । उसले देखेका दृष्टिकोण र रणनीति प्रचलित कानुन बमोजिम अनुरुप निर्दिष्ट बनेर प्रहरी संगठन अगाडि बढछ । प्रहरी संगठन त्यसरी अगाडि बढ्ने क्रममा अन्य दवाव र प्रभाव पर्न थाल्यो भने राजनीतिक दलले पनि त्यसलाई अगाडि बढाउनु हुन्न साथै प्रहरीको नेतृत्व गर्नेले पनि त्यसलाई अस्वीकार गर्नु पर्छ । अनधिकृत र गैरकानुनी लाभका लागि दवाव आउँछ भने त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न प्रहरी संगठन प्रतिवद्ध रहन्छ ।
प्रहरीको नेतृत्वमा पुग्नु पछाडि तपाईको क्षमता कुशलता अनि स्वच्छ छवीले काम गरेको भए पनि प्रधानमन्त्री बाबुराम भट्टराईले तपाईलाई काखी च्यापेकोले पनि हो भनिन्छ नि ?
त्यो कसरी भयो र किन भयो भन्ने तिर अहिले नजाऊ । मेरो नियुक्ति सरकारको निधारित पद्धति अनुरुप भएको छ । त्यसको लागि नेपाल सरकार र गृह मन्त्रालयप्रति म धन्यावाद दिन्छु ।
प्रहरी संगठन यस अगाडि भष्ट्राचारका काण्डले तहसनहस हुन पुग्यो ? संगठनमा त्यस्ता गतिविधि नियन्त्रण गर्न तपाईको त्यस्तो केही रणनीति छ कि ?
त्यसका लागि रणनीति हाम्रा यस अगाडि नै स्थापित छन् । हामीसंग निर्धारित संयन्त्र छ । साथै अन्य आकस्मिक निरीक्षण अनि विभिन्न स्रोतबाट आएका सूचनाको अन्वषेण अनि मूल्याङकन गरेर त्यस किसिमको अनियमितालाई कडाइका साथ छानविन गरि त्यसलाई नियन्त्रण गर्ने प्रयास हाम्रो रहने छ ।
यस अगाडिका महानीरिक्षक भन्दा तपाईले वेग्लै के काम गरेर इतिहासमा स्मरण गर्ने काम गर्न खोज्दै हुनु हुन्छ ?
यो कुरा अहिल नै बोल्ने कुरा होइन । कुरा भन्दा काम महत्वपूर्ण हुन्छ । काम गदै जादा त्यो कुरा त्यसै गरि परिणत हुन्छ । सेवाग्राही जनताले अनुभव गर्ने गरि हामीले काम गर्दछौ । हाम्रा सेवा सुविधा कसरी पाउँछन् त्यो महत्वपूर्ण हुन्छ । संगठन भित्रका साथीहरुले पनि के उपलब्धी हासिल गरे भन्ने कुराले नै बढी महत्व हुन्छ ।
मानवअधिकार बादी एक संस्थाले तपाई माथि एक घटनामा दोषी रहेको आरोप लगाएर सर्बोच्चमा मुद्धा दायर गरेको थियो पछि सर्बोच्चले यहाँलाई सफाय पनि दियो त्यस घटनाबारे के भन्नु हुन्छ ? किन यहाँलाई दोष लगाइयो ?
ती घटना कानुन बमोजिम नै भएका थिए । यस विषयमा अब भन्नु आवश्यकता रहदैन ।
तपाई लागू औषध सम्वन्धी जानकार हुनु हुन्छ । नेपालमा लागू औषधको कारोवारमा ट्रान्जिट पोइन्ट बनिरहेको छ । त्यसलाई नियन्त्रण गर्ने कुनै योजना छ कि ?
लागू औषधको समस्या विश्वव्यापी छ । त्यसबाट नेपाल पनि अछुतो छैन । लागू औषधमा क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा गाँजा चरेस आदि कारोवारमा चिनिएको छ । त्यसको नियन्त्रणका लागि अहिलेसम्म धेरै काम भैरहेको छ । तराईका जिल्लामा गाँजा चरेस आदि नियन्त्रणमा आएका छन् । पहाडी जिल्ला मकवानपुर रोल्पा रुकुम वाग्लुङ आदिमा हाम्रो पहुँच नहुदा ती जिल्लामा उत्पादन भैरहेका छन् । त्यसलाई प्रहरी प्रशासनले नियन्त्रण गर्न अभियान चाल्नु पर्ने भएको छ । नेपालमा खैरो हिरोइन चरेस जस्ता लागू औषधको कारोबार उल्लेख्य हुने गरेको छ । भारत पाकिस्तान र अगफानस्तानसम्मको रुट हुदै नेपालको लागू औषध कारोवार भैरहेको छ । नेपालमा सेवन औषधीजन्य लागू औषध नै रहेको देखिन्छ । खुल्ला सिमानाका कारण त्यस्ता लागू औषध भित्रिरहेको छ । युवाहरुलाई त्यस्ता लागू औषधको सेवनबाट जोगाउनु पर्ने देखिन्छ । सिमानामा पनि त्यस्ता लागू औषध नियन्त्रण गर्नु पर्ने देखिन्छ । यदि भित्रिएको खण्डमा त्यसलाई नियन्त्रण गर्ने काम गरिरहेका छौ । अझ त्यसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नु पर्ने देखिन्छ ।
ठूला अपराधका घटनामा प्रहरीले वास्तविक अपराधी पता लगाउन सकिरहेको छैन । त्यसमा साधनस्रोतको कम हो वा अनुसन्धान नै कमजोर हो ?
अधिराज्य भरिमा घटेका धेरै संगीन र जगन्य अपराधका ठूला अपराधीहरु कानुनको डायरामा आएका छन । त्यस्ता घटनामा सफल अनुसन्धान भएको छ । तथापी केही अपराधका अपराधीहरु अनुसन्धानको दायरामा छन् । तिनीहरुलाई समय लाग्न सक्छ । हाम्रो मात्र स्फेसिक तथा नेपाल प्रहरीको मात्रै होईन संसारका सबै अत्यान्तै समता मूलक समाजमा पनि त्यस किसिमका घटनाहरु भैरहेको पाईन्छ । हाम्रो देशको आर्थिक अवस्था कमजोर छ । साधन र स्रोत प्रशस्त नभएले सरकारले पनि खासै केही गर्न सकिरहेको छैन । साधन स्रोतको अभाव रहेको छ । अनुसन्धान नियन्त्रण र अनुसन्धानको पक्षमा जति हाम्रा स्रोत साधन छन् काफी छन् । त्यस्तै जनशक्तिको पनि अभाव पनि छ । यी हाम्रा आन्तरिक चुनौती र कमी कमजोरी हुन अर्कोतिर त्यस्तै खुला सिमाना छ । सिमा वरपर चाहि त्यस किसिमको अपराधीहरुको चलखेल हुन सक्छ । उनीहरु यताउता गर्न सक्छन् । त्यसरी घटना भएर सिमापार गएका अपराधीहरुलाई पक्राउ गर्न सकिदैन । त्यसमा कानुनी व्यावहारिक समस्याहरु छन् । त्यसले गर्दा पनि कहिले काही अपराधीहरु खुल्न नसक्ने अवस्थामा छन् । अपराधीहरु पक्राउ हुन नसक्ने अवस्था छ ।
प्रहरी सेवामा रहदा यहाँको सुखत् क्षण कहिले रह्यो र दुखत् क्षण कहिले ?
प्रहरीको व्यक्तिगत सुरक्षाको अवस्थालाई हेर्दा द्धन्द्धकाल अत्यान्तै कष्टदायक थियो । द्वन्द्वका कारण प्रहरीले तोकिएको काम पूरा गर्न सकिरहेको थिएन । त्यो समय हाम्रो लागि अत्यान्तै कठिन थियो ।
यहाँका ४ दिदी अनि दाजुभाईहरु मध्य को– को प्रहरी सेवामा लाग्नुभएको छ ? बताईदिनु न ?
एक जना मात्र प्रहरीमा हुनु हुन्छ । ३ जना चाहि भारतीय र बेलायती सेनामा हुनुहुन्थ्यो उहाँ चाहि अवकास प्राप्त भै सक्नुभयो । एकजना अहिले पनि कार्यरत हुनुहुन्छ युनिसेभमा र अर्को एक जना चाहि विदेशमा हुनुहुन्छ ।
प्रहरी सेवामा ३० वर्षे सेवा अवधि कायम गरिएको छ । अवसर हुन्छ यसमा तपाई के भन्नु हुन्छ ? ३० वर्षे सेवा अवधी कतिलाई काम गर्न प्रयाप्त समय होइन पनि भनिन्छ तपाईको यसमा धारणा के छ ?
सेवा अवधी वास्तवमा चाहि एउटा बैज्ञानिक कुरा गर्ने हो । अन्यत्रको पनि कुरा गर्ने हो भने देखि त्यति युक्तिसंगत चाहिँ होईन । तथापी अहिले व्यवस्था छ र अहिले चाहि त्यही व्यवस्था अनुरुप आज त्यसमा रहनै पर्दछ । सरकार यस कुरालाई विशेषण गरि अन्यत्रको अभ्यासलाई पनि हेर्नु पर्छ । सेवा प्रवेश गरे पछि उसले अनवरत र व्यवसायिक रुपले कुन हदसम्म सेवा दिन सक्छ भन्ने कुरामा सरकारले तत्काल विचार गरि नयाँ व्यवस्था ल्याउँनु पर्ने देखिन्छ ।
तपाई जनजातिबाट ठूलो तहमा पुग्नु हुनुहुन्छ । तर समावेशीकरणको मुद्धालाई सरकारले कार्यान्वयन गर्न सकेको छैन यसमा तपाईको भनाइ के छ ?
प्रहरी संगठन सरकारी सयन्त्र भएको हुनाले आफ्नै सरकार निर्दिष्ट ऐन कानुनहरु छन् र समावेशीकरणको सरकारले नीति अख्यिार गरिसकेको छ । सरकारी भर्ना छनौटमा त्यो लागू भईसकेको छ । सेवामा प्रवेश गरेपछि यो कुरा लागू हुनुपर्दछ ।विभिन्न कर्नरहरुबाट यो कुरा चाहि उठने गरेको कुरा हो तथापी अब त्यसलाई कहिले काँही कार्यान्वयन गर्ने गरे पनि व्यवहारिकमा कहिले लागू गरेको कहिले नगरेको जस्तो देखिन्छ । किन भने कानुनले त्यसलाई निर्दिष्ट गरेको छैन । व्यक्ति विकासमा चाहि नगरेको अवस्थामा चाहि कहिले काहि यो स्वागत योग्य पनि भएको छ विवादित पनि भएको छ । यस्तै छ भन्ने चाहि छैन तथापी त्यता तिर चाहि ध्यान दिएको भने छ ।
तपाई माथि किन जातीय आधारमा काम गर्दछ भनेर बाहिर आरोप लगाइन्छ ?
मैले त्यसो गरेको छैन । अत्यन्तै नीति गत रुपमा काम गरिहेको छु ।
तपाइँसंगैका दुई जना प्रतिपस्पर्धीलाई साथै लिएर काम गर्न सक्नु हुन्छ ?
हामी एउटै संगठनका सदस्य हौँ । हामी आपसमा व्यवसायिक र व्यक्तिगत सम्वन्ध पनि छ । हामी व्यवसायिक प्रतिस्पर्धामा उत्रेकै हौ । टीममा उहाँहरुले मलाई पूर्ण सहयोग गर्नु हुन्छ भन्नेमा म विश्वस्त छु । टिममा राखेर साथ लिइ काम गर्न म तत्पर छु ।
गृह मन्त्रीसंग तपाइँको तीतो सम्वन्ध कायम छ भनिन्छ नि ?
त्यसमा कुनै सत्यता छैन । गृह प्रशासनको नेतृत्व गर्ने गृह मन्त्रीले हो । गृह मन्त्रीको नेतृत्वमा प्रहरी संगठन सुपेरिवेक्षित र परिचालित हुन्छ ।
देशमा अहिले पनि जनताहरु सुरक्षित भएको महशुस गरिरहेका छैनन् । जनताले सुरक्षित छौ भन्ने अनुभूति कहिले दिलाउनु हुन्छ ?
द्वन्द्वबाट तत्काल बाहिर निस्केको अवस्थामा शान्ति प्रकृया नटुंगिएको र संक्रमण रहेका बेला अन्य देशको तुलनामा नेपालको शान्ति सुरक्षा राम्रो छ । त्यस कारण वास्तविक रुपमा अपराधका घटना हुन्छन् । अपराध विहीन समाज कहि पनि हुदैन । अपराध नियन्त्रणका लागि गरिएका प्रयास र अपराधका घटनामा सफल अनुसन्धान गरेर अपराधीलाई दण्डित गर्न नसकेको अवस्थाको मूल्याङकन गरिनु पर्छ । हाम्रो अवस्था अहिले राम्रै छ । अपराधको घटनाको आँकडाले पनि त्यो कुरालाई पुष्टि गर्दछ ।
नेपाल प्रहरीको साखलाई अन्तराष्ट्रिय स्तरमा राम्रो बनाउन के गर्नु पर्ला ?
हाम्रो समाजले पनि प्रहरीलाई सहयोग गर्नु पर्छ । प्रभावकारी सेवा प्रभाव जनतामा पुरयाउन प्रहरीले सक्यो भने मात्र यसको साख राम्रो हुन्छ । हामी त्यसैमा केन्द्रित गरेर अगाडि बढ्ने प्रयासमा छौ । प्रहरीको आचरण र व्यवहार पनि जनताले गुनासो गरिहेका बेला त्यसलाई सुधार्नमा बढी ध्यान केन्द्रित गर्नु पर्ने पनि भएको छ l
उपत्यकामा विशेष सुरक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ यो किन सञ्चालन गरियो के हात लाग्यो ?
हामीले सुरक्षाका लागि २४ घण्टा नै काम गरिहेका हुन्छौ । तर बेला बेलामा विशेष कार्यक्रम ल्याएर सुरक्षा व्यवस्था अझ बजबुत पार्नु पर्ने हुन्छ । अहिले खास गरि चाड पर्वलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम गर्न यस सुरक्षा योजना लागू गरिएको हो । यो योजना चाड पर्व सिधिएको केही समय पछि सम्म पनि रहन्छ । यस अन्तर्गत उल्लेख्य रुपमा हातहतियार फेला पार्नुका साथै फरार अभियुक्तहरु समेत पक्राउ परेका छन् । अपराधका घटना क्रमिक रुपमा न्युन हुदै गएको अवस्था हो ।
अन्त्य …..
समाजमा सुरक्षा व्यवस्था कायम गर्ने काम निकै जटिल र संवेदनशील छ । त्यसको व्यवस्थापनमा जुट्ने सुरक्षा निकाय त्यसै अनुरुप प्रभावकारी र सक्षम हुनु पर्छ । त्यसका लागि संगठन भित्रैका सबै सदस्यहरुको पनि त्यस्तै प्रयास हुनु पर्छ । त्यसका लागि साधन स्रोत वृद्धि गरि ऐन नियम बनाउन सरकारले महत्वपूर्ण भूमिका हुन्छ पर्छ । समाजका व्यक्ति पनि विना बर्दीका प्रहरीको रुपमा अगाडि आएर प्रहरीसंग सहकार्य गरेमा मात्र शान्ति सुरक्षाको स्थिति ज्यादै मजबुत बन्न सक्छ । यस राज्यसत्ता अनलाइन पत्रिका मार्फत् समाजका प्रत्येक व्यक्ति प्रहरीसंगको साझेदारीमा सुरक्षा व्यवस्थालाई अगाडि बढाउन विशेष आग्रह गर्दछु ।
(राज्यसत्ता नेपाल व्युरो )