साङ्घाई (चीन), कात्तिक १४
साङ्घाई विश्व एक्स्पो समापन समारोहमा भाग लिन चीनको भ्रमणमा रहनुभएका राष्ट्रपति डा रामवरण यादवले आज यहाँ आफ्ना श्रीलङ्काली समकक्षी महिन्दा राजपक्षेसँग भेट गरेका छन् ।
साङ्घाई विश्व एक्स्पो आयोजनास्थलमा रहेको एक्स्पो केन्द्रमा भएको भेटमा दुवै पक्षबीच द्विपक्षीय सम्बन्ध र आपसी चासोको विषयमा विचारविमर्श हुनुका साथै श्रीलङ्काली राष्ट्रपति महिन्दा राजपाक्षेले नेपालको वर्तमान राजनीतिक परिस्थितिको बारेमा जिज्ञासा राख्ोका थिए ।
डा यादवले नेपालको संविधान निर्माण र शान्ति प्रक्रिया सकारात्मकरुपमा अघि बढिरहेको र त्यसमा श्रीलङ्काबाट विगतजस्तै सहयोग पाइरहने आशा व्यक्त गरे ।
राष्ट्रपति यादवले दुवै देशले शिक्षा र स्वास्थ्यको क्षेत्रमा संयुक्तरुपमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले नेपाल र श्रीलङ्काबीचको व्यापार, पर्यटन तथा वाणिज्य क्षेत्रको विकासका लागि यसअघि नै संयुक्त समिति गठन भई धेरै चरणमा वार्ता भएको र त्यसबाट कुनै निस्कर्ष निकाल्न नसकिएको उल्लेख गर्दै उक्त संयुक्त समितिलाई क्रियाशील बनाई ठोस नीति तयार पार्न लगाउनुुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रपति राजपाक्षेले आफ्नो मुलुकमा शान्ति कामय होस् भनेर लुम्बिनीको भाकल गरेको उल्लेख गर्दै श्रीलङ्कामा शान्ति स्थापना भएलगत्तै आफूले लुम्बिनीको भ्रमण गरेको स्पष्ट पारे ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहयोग गर्न आफ्नो सरकार सकारात्मक रहेको तथा त्यसका लागि बजेट विनियोजन गरिसकिएको उहाँले जानकारी दिए ।
यद्यपि, कुन कामका लागि कति बजेट छुट्याइएको भनेर उनले स्पष्ट पारेनन् ।
राष्ट्रपति यादवले आजै चिनियाँ प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
रासस