भद्रपुर, १३ असोज । जिल्ला निर्वाचन कार्यालय झापाद्वारा भइरहेको फोटोसहितको मतदाता, नामावली सूचीकरण कार्यमा आज झापाको दुईवटा नगरपालिकामा लिम्बूवानका कार्यकर्ताले अवरोध उत्पन्न गरेको छ ।
मेचीनगरपालिका–१० र दमक नगरपालिका–५ मा लिम्बुवानका कार्यकर्ताले मतदाता नामावली सूचीकरण गर्ने केन्द्रमा पुगेर यस कार्यमा खटिएका कर्मचारीलाई काम बन्द गर्न भनेकाले यतिखेर मतदाता सूचीकरण गर्ने कार्य ती वडाहरूमा ठप्प भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिकामा भने मतदाता नामावली सङकलन कार्य जारी छ ।
कार्यालय प्रमुख गोपाल आचार्यले मतदाता सूचीकरण कार्यको अवरोध हटाउन पहल भइरहेको बताएका छन् ।
जिल्लाको तीनवटै नगरपालिकामा भदौ ३० गतेदेखि फोटोसहितको नामावलीको कार्य सुरु भएपछि हिजोसम्ममा ३१ हजार ३६२ जना मतदाताको नामावली सूचीकरण गरिएको छ ।
मेचीनगरपालिकामा १३ हजार ६८०, दमक नगरपालिकामा १२ हजार ८२० र भद्रपुर नगरपालिकामा चार हजार ८६२ जनाको फोटोसहितको नामावली सूचीकरण गरिसकिएको उक्त कार्यालयले जनाएको छ । रासस