विषादी हटाउन विद्यार्थी र गाउँले सडकमा उत्रिए

Read Time:3 Minute, 2 Second

बारा, १२ कात्तिक 

बाराको अमलेखगन्जमा रहेको विषादी हटाउनुपर्ने माग राख्दै विद्यार्थी र गाउँलेले तीनघण्टा  शुक्रबार सडक अबरुद्ध गरेका छन् ।

    सर्वोच्च अदालतले एक वर्षभित्र बाराको अमलेखगन्जस्थित विद्यालयसँग जोडिएको गोदाममा अव्यवस्थित रुपमा भण्डारण गरिएको विषादी हटाउन दिएको आदेशको अवज्ञा सरकारले गरेको जनाउँदै ‘बाँच र बाँच्न देऊँ’ नारा लेखिएको ब्यानर बोक्दैै आज बिहान ७ देखि १० बजेसम्म पथलैया हेटाँैडा सडकखण्डको अमलेखगन्जमा विद्यार्थी र गाउँलेले अवरुद्ध गरेका हुन् ।

    सर्वोच्च अदालतले अमलेखगन्जबाट एक वर्षभित्र विषादी हटाउन परमादेश जारी गरेको वर्ष दिन नाघिसकेको छ  ।

    विद्यालयसँगै टाँसिएर रहेको विषादीको गन्धमा बसी पढ्न बाध्य विद्यार्थी र गोदामनजिक रहेको बस्तीका बासिन्दामा समेत यसको प्रत्यक्ष असर परेको छ ।

    हालै गरिएको एक अध्ययनले विषादीको गन्धका कारण नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ९४ प्रतिशत विद्यार्थीको रगतमा विषादी देखिएको छ ।

    गुरु अङ्गददेव भेटेनरी एन्ड एनिमल साइन्स युनिभर्सिटी भारतबाट भेटेनरी जनस्वाथ्यमा स्नातकोत्तर गरेका डा. शीतलकाजी श्रेष्ठले शिक्षक र विद्यार्थी गरी ५० जनाको रगत परीक्षणपछि उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

    विषादी ३२० वटा ड्रममा भण्डारण गरिएको छ । भण्डारण गरिएको विषादीमा धुलो तथा झोल गरी अर्गानो मर्करी कम्पाउन्ड, एगिभाईस, बिएचसी, इन्ड्रेन ग्र्यामुयन, डिटिटीलगायतको रहेको कृषि कार्यालय वीरगन्जले जनाएको छ ।

    यसैबीच पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका व्यवसायीहरुले शुक्रबार पनि बाराको अमलेखगन्ज डिपोमा तीन घन्टा लोड–अनलोड ठप्प पारेका छन् ।

    भारत बरौनियादेखि अमलेखगन्जसम्म ट्याङ्करबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न रोक लगाएको विरोधमा व्यवसायीहरुले आज विहान १० देखि १ बजेसम्म पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न नदिएका हुन् ।

    भारतको बरौनीबाट १५० र रक्सौलबाट १५० ट्याङ्करले अमलेखगन्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्दैआएका छन् ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %