सिआन (चीन), १२ कात्तिक
राष्ट्रपति डा रामवरण यादवले आज बिहान यहाँस्थित टेराकोटा योद्धा म्युजियमको अवलोकन भ्रमण गरी विविध विषयमा जानकारी लिए ।
युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक एवम् पुरातात्विक महत्वको सो मन्दिर सर्वसाधारणका लागि सन् १९७९ मा खुला गरिएको हो ।
सङ्ग्रहालयमा कलात्मक शैलीका स्थानीय माटाबाट निर्मित छेन वंशी राजाका करिब आठ हजार सिपाही र घोडा एवम् १० हजारभन्दा बढी पित्तलका हतियार प्रदर्शित छन् ।
प्राचीन सभ्यता बोकेको चीनको पूर्व राजधानी सियान सहरछेउमा उत्खननका क्रममा भेटिएका ती ऐतिहासिक, पुरातात्विक एवम् सामरिक हिसाबले महत्व बोकेका ती चीजले चीनको कला, संस्कृति र प्रविधिलाई झल्काउँछ ।
यस सङ्ग्राहलयलाई विश्वको आठौँ आश्चर्यका रुपमा समेत लिइने गरेको छ ।
चीनको पहिलो मैत्रीपूर्ण सद्भावना भ्रमणमा रहनुभएका राष्ट्रपति डा यादवलाई सो सङ्ग्राहलयका पदाधिकारीहरूले स्वागत गर्दैै विविध विषयमा जानकारी गराएका थिए।
यही कात्तिक १४ गते हुने साङ्घाई एक्स्पो २०१० समापन समारोहमा भाग लिनेक्रममा कात्तिक ८ गते ल्हासा हुँदै कात्तिक १० गते यहाँ आइपुग्नुभएका डा यादवको आजै मुख्य कार्यक्रमस्थल साङ्घाई प्रस्थान गर्ने कार्यक्रम छ ।
भ्रमण दलमा राष्ट्रपति डा यादवकी सुपुत्री अनिता यादव, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारी, राष्ट्रपतिका सल्लाहाकारद्वय डा सूर्यप्रसाद शर्मा ढुङ्गेल र हरि शर्मा, चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्की, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, परराष्ट्र सचिव डा मदनकुमार भट्टराईलगायत उच्च अधिकृत एवम् पत्रकार छन् । रासस