बर्दिवास, १२ कात्तिक
महोत्तरी जिल्लाका सबै सरकारी कार्यालयहरु जिल्ला शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिशोर झाको हत्या विरुद्ध बन्द गरिएका छन् ।
जिल्लामा कार्यरत आठवटा निजामती कर्मचारी सङ्गठनहरुले अधिकृत झाको हत्याले आम निजामती कर्मचारीको सुरक्षा अत्यन्त फितलो भएको पुष्टि गर्ने बताउँदै भरपर्दो सुरक्षा नभएसम्म सबै कार्यालय बन्द रहने जनाएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ, नेपाल स्वास्थ्यकर्मी, सङ्घ, गाविस कर्मचारी सङ्घ नेपाल, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र गाविस सचिव हकहित संरक्षण केन्द्र महोत्तरीले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो आह्वान गरेका हुन् ।
निजामती कर्मचारी सङ्गठनहरुले अधिकृत झाका हत्यारा पत्ता लगाएर कारबाही नथालेसम्म, आम कर्मचारीले ढुक्क भएर काम गर्नसक्ने सुरक्षा व्यवस्था नभएसम्म र डर, त्रास, धम्कीको वातावरण अन्त्य नहुँदासम्म काममा फर्कनसक्ने स्थिति नरहेको संयुक्त विज्ञप्तिमा जनाएका छन् ।
चार दिन अघिदेखि यातायात बन्द रहँदै आएको जिल्लामा हिजोदेखि कार्यालय सबै बन्द भएपछि जिल्ला सदरमुकाम जलेश्वरलगायत अन्य प्रमुख बजार केन्द्रहरु सुनसान देखिएका छन् ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत झालाई हिजो बिहान जनकपुर–७ स्थित आफ्नै निवासबाट कार्यालय आउन लाग्दा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका कार्यकर्ताले गोली प्रहार गरेका थिए ।
गोली लागि गम्भीर घाइते हुनुभएका झाको हिजो नै उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।
रासस