नारायणगढ, १२ कात्तिक । चितवनमा डेङ्ग्यूको सङ्क्रमण वर्षभरि नै रहने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन् ।
जाडोको याम बढ्दै गए पनि यहाँको तापक्रममा डेङ्ग्यू रोग सार्ने लामखुट्टे बाँच्न सक्ने भएकाले डेङ्ग्यूको त्रास वर्षभरि नै रहनसक्ने उनीहरूले बताएका हुन् ।
चितवनको अधिकतम तापक्रम ४० डिग्रीदेखि न्यूनतम २० डिग्रीसम्म अभिलेख हुने गरेको छ । यो तापक्रम लामखुट्टेको जीवनचक्रका लागि उपयुक्त हुने चिकित्सकहरूको भनाइ छ ।
‘चितवनको तापक्रम सबै प्राणीका लागि उपयुक्त छ’–चितवन मेडिकल कलेजका फिजिसियन डाक्टर शीतल अधिकारीले भने–‘जाडोमा पनि चितवनको तापक्रममा लामखुट्टे बाँच्न सक्ने भएकाले डेङ्ग्यूको सङ्क्रमण वर्षभरि नै रहन पनि सक्छ ।’
चितवनमा तीन महिनायता डेङ्ग्यूबाट प्रभावित हुनेको सङ्ख्या बढिरहेको छ । यहाँका अस्पतालमा १७ जनाको उपचार भइरहेको छ भने परीक्षणबाट डेङ्ग्यू पहिचान भएका एकजनाको ज्यान गएको छ ।