एमाले पार्टी भित्र पार्टी नीति विपरीत अभिव्यक्ति दिने उपर कारर्वाही गर्ने भनिएको छ त्यो किन ?
पार्टीले यसरी बाहिर विचार नराख्नुहोस् पार्टी भित्रै राख्नु होस् भनेर भन्दा वास्तै नगरि उनीहरुले वाहिर वाहिर पार्टी विरुद्ध विभिन्न अभिव्यक्ति दिदै विभिन्न क्रियाकलाप गरि हिडेकाले अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।
एमालेले को– को लाई स्पष्टीकरण लिइसकियो ?
त्यो आयोगले गर्ने भएकाले आयोगका पदाधिकारीलाई मात्र थाहा होला । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा हुनु हुन्छ । म जिल्ला तिर भएकाले त्यसको जानकारी पाइसकेको छैन ।
पार्टी भित्र असन्तुष्ट भएर पार्टी गठन गर्ने भनेकालाई पनि कारर्वाही गर्नु हुन्छ तपाईहरु ?
पहिले पार्टी गठन गर्ने भनेको भए पनि अहिले नगर्ने भनेर जनजाति नेताहरुले पार्टी समक्ष भनेका छन् । छुट्टै पार्टी गठन गर्ने सोच र योजना छैन उनीहरुको । पहिले असन्तुष्ट बनेका जनजाति नेताहरु विस्तारै पार्टीको कार्यक्रममा सहभागी हुदैछन् । पार्टी गठन गर्ने भनेर बाहिर प्रचार गरे पनि पार्टी गठन गर्ने उनीहरुको कुनै योजना छैन ।
संघीयताको विवादले एमालेमा भुइँचालो ल्याइदियो अझ त्यहि विवाद कायम छ नि किन ?
संघीयताको विषयमा एमालेले साझा धारणा सार्वजनिक गरेको छ । तैपनि अझ पनि कतिपय नेताहरु त्यसमा सन्तुष्ट छैनन् । त्यो विषयमा अझ छलफल गरेर अगाडि बढ्दा राम्रो हुने हुदा अझ पनि छलफल भैरहेको छ ।
एमाले भित्रैका नेताहरु कतिपय संघीयताको विषय जनमत संग्रहबाट छिनोफानो गर्नु पर्ने भन्ने गरेका छन् नि ?
संघीयताको विवाद एमाले भित्र मात्र होइन, सिंगो समाज अनि कांग्रेस र माओवादी पार्टी भित्र पनि छ । सबै पार्टीहरु संघीयताको बारेमा अझ पनि स्पष्ट छैनन् । त्यसैले यो विषय अझ पनि छलफल भैरहेको छ । एमाले भित्रका केही नेताहरु जनमत संग्रहमा जानु पर्ने पनि बताएका छन् । बहु पहिचानमा आधारित ७ प्रदेश बनाउनु पर्ने कुरा पार्टीले निर्णय गरेको हो । केही नेताले फरक धारणा राख्दैमा त्यही नै पार्टीको आधिकारिक हुन सक्दैन ।
(राज्यसत्ता नेपाल व्युरो)