पार्टीमा निकै विवाद बढेको छ किन हो ?
यो विवाद होइन । अध्यक्ष जेपी गुप्ता जेल गए पछि त्यस बेलाका सह –अध्यक्ष राजकिशोरलाई कार्यवाहक अध्यक्ष दिइयो । विगत पाँच महिनाको अवधिमा पनि पार्टी कार्यसमितिको वैठक एक पटक पनि बस्नै सकेन । पार्टीमा कुनै छलफल नै भएन । संविधानसभाको अवसर मुलुकमा एक जुगमा एक पटक मात्र आएको र त्यो संविधानसभा पनि आश्चर्यजनक रुपले अवसान भयो । फोरम गणतान्त्रिक मधेशी मोर्चा भित्रको दोस्रो ठूलो दल थियो । उसको भुमिका नगन्य देखियो । पार्टी हरायो कि जस्तो भयो । मन्त्रि पद खान राजकिशोर सहमतिमा गएका पनि गएका थिएनन् । मधेशी पार्टीहरु माथि सत्ताको लोभमा फसेको भन्ने आरोप लागि रहेका बेला कसैले राम्रो काम गर्दछ भने दिऊ न त भनेर हामीले केही विरोध गरेनौ, तर चार महिना वितिसक्दा पनि सरकारी स्तरमा हाम्रो पार्टीले कुनै काम गर्न नै सकेन । पार्टी त ध्वस्तै भयो । फोरम गणतान्त्रिकका सिनियर सदस्यहरुले मसंग चिन्ता व्यक्त गरे । पार्टीको अध्यक्ष समाल्न मलाई आग्रह गरे । त्यही कार्य समितिले राजकिशोरलाई कार्यवाहक अध्यक्ष बनाएको थियो त्यो समितिले नै विश्वास गरेर त्यो पद मलाई सुम्पिएको छ । पार्टीमा अध्यक्ष जेपी जेल गए पछि उथल पुथल चाहि देखिएको हो ।
नेतृत्व असफल भयो किन ?
राजकिशोरले नेतृत्व समाल्नै सकेनन् । चार चार महिना पार्टीको बैठक नै राख्न सक्नु भएन । संविधानसभाको विघटन हुदा कुनै आधिकारीक धारणा बाहिर ल्याउन सक्नु भएन ।
तपाईलाई कृषि मन्त्रीबाट हटाएकोमा त्यसको एक्सन उनी माथि लिएको भन्ने पनि गरिएको छ नि ?
त्यो आरोप लागे पनि हामीले सबै सदस्यको राय अनुरुप अगाडि बढेका छौ ।
आफ्नो पार्टीबाट सरकारमा सहभागि भएको मन्त्रीलाई तपाईहरुले असहयोग गर्नु भयो नि ?
सहयोग गरेको होइन हामीले पार्टीको भुमिका खोइ मात्र भनेको हो । मन्त्रीबाट फिर्ता हुनु पर्छ अहिलेको अवस्थामा भन्ने हाम्रो भनाइ हो । सरकारमा बसेर हाम्रो पार्टीको भुमिका नै देखिन्न भने किन सरकारमा बस्ने ? पार्टीको नेता भन्ने पार्टीमा कसैसंग सल्लाह पनि नगर्ने पार्टीका केन्द्रिय सदस्य सबैले यो कुरालाई उठाउने गर्दछन् । पार्टीको भुमिका प्रभावकारी कतै देखिएन र पार्टी नै हराउन पुग्यो । यो स्थितिमा मलाई पार्टीका सदस्यहरुले खोजेर जिम्मेवारी दिए । अब पार्टीलाई हराउन दिन्न । सबैको प्रयासले पार्टीको भुमिका सशक्क्त देखाउन खोज्ने छु । राजकिशोर यादवले म कहाँबाट चुनिए कसले मलाई कार्यवाहक अध्यक्ष बनायो त्यो नै भुले । सत्ता र पावरका कारण उनले होस् समेत गुमाए । हरेक पार्टीमा बैठक हुन्छन् र सहमतिमा हरेक कुरा टुंगिन्छ । पार्टीमा व्यक्तिले आफू खुसी निर्णय गरेर हिड्न पाउँदैन । पाँच महिनाको अवधिमा हामीसंग कुनै सल्लाह र सहमति लिएनन् राजकिशोरले । १४ जेठमा संविधानसभाको मृत्यु हुदा पनि हाम्रो पार्टी निश्चिन्त भएर सुत्यो । सत्तामा बसेर त्यसैमा मख्ख बनिरह्यो । एक जना सत्तामा बसेर मख्ख बन्दैमा पार्टीमा अन्य सदस्यको राजनीतिक भविष्य सुनिश्चित त हुन्न ।
तपाईहरु सरकारबाट फिर्ता हुन खोज्नु भएको हो वा नयाँ अनुहार पठाउन खोज्नु भएको हो ?
यही अवस्थामा सरकारमा जान मिल्दैन । मुलुकमा अहिले विषम परिस्थिति सृजना भएको छ । संविधानसभाको अवसार भएकोले राजनीतिक संकट गहिरिएको छ । यो अवस्थामा राजनीतिक दलहरु बीचमा सहमति गरेर नयाँ संविधान बनाउन तर्फ जानु पर्ने हुन्छ । अहिलेको अवस्थामा पार्टीहरुको भुमिका नै प्रमुख हुन्छ । पार्टीहरुमा द्वन्द्व नबढाएर सहमति गरेर देशलाई निकास दिन लाग्नु पर्ने हुन्छ । जेठ १४ पछि पनि एक महिना सत्तामा बसेकालाई बस्न दिउँ त्यो बीचमा उसको भुमिका कस्तो रहन्छ भनेर हामीले पर्खियो । राजकिशोर सत्ता लिप्साका कारण झन् विग्रिन थाले पार्टीलाई तहसनहस नै पार्न थाले पछि हामी बाध्य भएर नेतृत्व परिर्वतन र सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौ ।
जेपी गुप्ता अध्यक्ष रहदा पार्टी त अगाडि नै थियो तर नेतृत्वको असफलता यहाँ निर खड्कियो होइन ?
जेपी जेल गए पछि कार्यवाहक दिएकाले सही भुमिका देखाउन सकेनन् । नेतृत्वको कमजोरीका कारण पार्टी यो हालतमा पुगेको निश्चित हो । फोरम गणतान्त्रिक पनि पार्टी छ भन्ने स्थिति समेत रहेन ।
अब फोरम गणतान्त्रिकलाई पहिलेकै अवस्थामा फर्काउन सक्नु हुन्छ त ?
मैले त्यो कुरा देखाउन चाहन्छु । यदि सकिन भने म पनि नेतृत्व समालेर बस्दिन । पार्टीलाई कसरी अगाडि बढाउने योजना बनाइसकेको छु ।
अरु पार्टीमा देखिएको विवाद तपाईहरुको पार्टीमा पनि देखियो, मधेशी र माओवादी पार्टी फुटको रोग तपाईहरुमा अब सरेको हो ?
मलाई विश्वास छ पार्टी फुट्दैन । दुई तीन जना मात्र पार्टी फोड्न चाहेर पार्टी फुट्दैन । पार्टीका आधिकारीक व्यक्तिहरुमा हाम्रो कुनै विमति छैन । कसले पार्टी फुटाउने ? राजकिशोर आफ्नै सिफारिसमा मन्त्री पद खाएका हुन् । उनलाई पार्टीले सिफारिस गरेको थिएन । तर हामी तीन महिना केही नबोली बसौ भन्ने हाम्रो आन्तरिक सल्लाह पनि थियो । त्यो अवधि भन्दा धेरै चुप बस्यौ ।
पार्टीको समर्थन सरकारबाट फिर्ता लिएको पत्र प्रधानमन्त्री डा. भट्टराईलाई तपाईहरुले दिए पछि उनले के भने त ?
व्यक्तिलाई जोगाउने कोशिस नगर्नु पार्टीको आधिकारिक धारणालाई स्वीकार गर्नु पर्रयो भनेर भन्दा उहाँले तपाईहरुको भावना बुझे दुई तीन दिन पछि निर्णय गर्ने छु भन्नु भएको थियो ।
मधेशवादी दलहरु मधेशको मुद्धा थाति राख्दै सत्ता लिप्सामा लागिरहे भन्ने पनि आरोप छ नि ?
त्यो सही हो । सत्ता लिप्साका कारण मधेशवादी दलहरुको अस्तित्व संकटमा परेको छ । त्यस कारण अहिलेको अवस्थामा हामी सरकारमा सहभागि हुदैनौ । मुलुक राजनीतिक रुपले सही दिशामा आउदैन तब सम्म हामी सत्तामा बस्ने छैनौ ।
सरकारमा सहभागि हुने विवाद त्यही कुराले चुलिने अनि पार्टी फुट्ने रोग मधेशवादी दलहरुमा निकै देखिन्छ किन ?
हामी यो घटना देखि अलग छौ । यो सत्ता लिप्साकै कारण यस्तो भएको हो । राजनीतिक अस्थिरताको फाइदा केही स्वार्थी नेताहरुले राम्रैसंग उठाउँछन् । त्यस्तै अहिले भएको छ । राजनीतिक दलहरु प्रति जनताको निराशा बढेको छ । कतिपय आफ्नो मुलुक छोडेर गइरहेका छन् । सरकारको अस्थिरता र राजनीतिक संक्रमण लम्विदै जाँदा यस्तो घटना बढिरहेको छ ।
तपाईलाई कृषि मन्त्रीबाट किन हटाइयो ?
राजकिशोर यादवको सिफारिसले प्रधानमन्त्रीले मलाई मन्त्रीबाट हटाएका हुन् । प्रधानमन्त्री स्वयम्ले मसंग त्यो निर्णयमा पछुतो मानेका थिए । तर दुई मिनेट मसंग बोलाएर मलाई प्रधानमन्त्रीले सोधेनन् ।
अबको निकास के छ ?
संविधानसभालाई जानजान अवसान गराइयो ।सर्बोच्चले आयु समाप्त गरेको संविधानसभालाई फेरि पुर्न जिवित गर्नु कानुनी रुपले पनि संभव देखिन्न । सहमतिको सरकार बनाएर नयाँ निर्वाचनमा गएर एक बर्ष संविधानसभाबाट संविधान निर्माण गर्ने र चार बर्ष व्यवस्थापिका संसद्को काम गर्ने गरि काम गर्दा उपयुक्त हुन्छ ।
(राज्यसत्ता नेपाल व्युरो)