राजविराज, ११ कात्तिक
नेपाली काँग्रेस सप्तरीको सभापतिमा दिनेश यादव विजयी भएका छन् । जिल्ला कार्य समितिको निर्वाचनमा उनको पूरै समूहले जित हात पारेको छ । निर्वाचनमा खसेको कुल एक हजार एक सय ७३ मतमध्ये दिनेशकुमार यादवले छ सय ७८ मत ल्याई विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी रामुप्रसाद यादवले चार सय ४१ मत प्राप्त गरेका थिए । यसैगरी, सचिवमा यादव समूहका सबुरलाल साह विजयी भएका छन् । उनले चार सय नौ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी रामदेव साहले चार सय एक मत प्राप्त गरेका छन् । यस्तै, कोषाध्यक्षमा शम्भु झा विजयी भएका छन् ।
सप्तरीका छवटा निर्वाचन क्षेत्रमध्ये चारवटा क्षेत्रमा सभापति यादवको समूह विजयी भएको छ भने दुई क्षेत्रमा मिश्रित परिणाम आएको छ । जिल्लाको क्षेत्र नं. १ बाट बैजनाथप्रसाद साह, विशेश्वरप्रसाद चौधरी, भुवनप्रसाद आचार्य र अनिल प्रधान तथा महिला सदस्यमा निरु पोखरेल निर्वाचित भएकी छन् ।
यसैगरी, क्षेत्र नं. २ बाट सरोज विराजी, शत्रुघ्नप्रसाद यादव, उमेश मिश्र, ब्रजकिशोर सिंह र महिला सदस्यमा वीणा देवी, क्षेत्र नं. ३ बाट महानन्द यादव, सब्बीर आजम, सतिशचन्द्र झा, उमेशप्रसाद साह र महिला सदस्यमा निलम कर्ण विजयी भएका छन् ।
यस्तै क्षेत्र नं. ४ बाट परमानन्द यादव, सुरेन्द्रप्रसाद यादव, हरिसुदन यादव, मोहम्मद रहमान तथा महिला सदस्यमा राजेश्वरी शर्मा, क्षेत्र नं. ५ बाट अर्जुनप्रसाद साह, मुखिलाल यादव, रामचन्द्र चौधरी, मनोज खड्का तथा महिला सदस्यमा मुन्नी गुप्ता र क्षेत्र नं. ६ बाट चतुरनारायण साह, मोहम्मद इजराइल, भागवतप्रसाद यादव र ध्रुवनारायण चौधरी निर्वाचित भएका निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले बताए ।
रासस