मोरङ (पानीट्याङ्की), ९ कात्तिक
प्रहरी जवान भर्नामा अनियमितता भएको उजुरीमाथि छानविन गर्न गृहमन्त्रीले निर्देशन दिएपछि गृहमन्त्रालयको टोलीले पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्रमा छानविन थालेको छ ।
प्रहरी जवानको भर्नामा पूर्वक्षेत्रीय तालिमकेन्द्रमा जवान भर्ना कार्यमा रु दुई लाखसम्मको लेनदेन भएको गृहमन्त्रीसमक्ष उजुरी परेपछि छानविनका लागि गृहले सहसचिव कैलाश खरेलको संयोजकत्वमा दुई सदस्यीय टोली त्यसतर्फ पठाएको थियो ।
प्रहरी स्रोतका अनुसार टोलीले सोमबारदेखि आवश्यक छानविन सुरु गरेको छ । सरकारले देशभरमा प्रहरी जवानमा तीन हजार ८०० प्रहरी जवान र २२३ जना फलोअर्स पदका लागि आवेदन मागेको थियो । जसमा विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्रको झन्डै ७०० कोटामा १० हजार ३५८ जनाले भर्नाका लागि आवेदन दिएका थिए ।
प्रहरी भर्नालाई अनियमितता हुन नदिने र आर्थिक लेनदेन भएको पाइए कडा कारबाही गरिने प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई निर्देशन दिएको थियो ।
रासस