चाजिन्द्र राना मगर, बेलायतसम्वादाता, १२ मे, मगर संघ यु के द्वारा हरेक बर्ष आयोजना गर्दै आएको प्रथम सहिद लखन थापा मेमोरियल फुट्बल प्रतियोगिता २०१२ सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा अण्डर १२, अण्डर १६, मुख्य समूह र भेटरेन गरी ५२ समूहले भाग लिएकोमा अण्डर १२ वर्ष समूहबाट फ्युचर स्टार रश्मुर टीम फानवरो प्रथम भएकेा छ । दोस्रो स्थान नेपाली किड्स अल्डरसटले हात पारे । उक्त समूहको खेलमा मेन अफ द म्याच लियो राना घोषित भई पदक हात पारेका थिए । अण्डर १६ वर्ष समूहबाट स्वीन्डन तारालाई हराउँदै फोक्सटन नेपाली समूह विजेता बन्ने मौका पायो । उक्त समूहबाट सुदीप पुन, वेष्टप्लेयर घोषित भएका थिए । त्यस्तै भेटरेनतर्फ समूहबाट मगर संघका खेलाडीले किराँत याक्थुङ्ग चुम्लुङ्गलाई हराउँदै यस वर्षको विजेता बने । उक्त समूहबाट मेन अफ द म्याच तनहुका रुक आलेमगर घोषित भएका थिए । १७ वर्षदेखि ३७ वर्षसम्मको उमेर समुहमा मगर संघ युवा रश्मुर शाखाले मंगोलियन भाञ्जा समूहलाई हराउँदै विजेता बनेको छ । उक्त समूहबाट नर राना वेष्टप्लेयर बनेका थिए ।
छैठौ लखन थापा स्मृति कप फुटबल प्रतियोगिताको लागि मे.रि. कृष्णकुमार आले, महासचिव योगकुमार फागामी, खेलप्रेमी रुक आले, रमेश राना , वरिष्ठ उपाध्यक्ष दुत पुन, कोषाध्यक्षद्वय दलमान पुन र टंक मगरले जिम्मेरिवारी निर्वाह गरेका थिए । खेललाई अनुशासित एवं मर्यादित गर्न त्यहाँ रहेको नौं वटा खेल मैदानलाई मगर संघका शाखाहरुले १/१ वटा जिम्मा लिएका थिए । खेल अवधिभर त्यहाँ आवश्यक पर्ने सबै कुराहरुको जिम्मा शाखा समितिले लिएको कारण अत्यन्तै व्यवस्थित रहेको कुरा आयोजकको भनाई छ । लखन थापाप्रतिको श्रद्धा र आफ्नो इष्टमित्र एवं साथीभाइ दिदीबहिनीहरुलाई भेटघाट गर्न दर्शकको रुपमा बेलायतको ब्रेकन, स्विन्डन, रेडिङ, लण्डन, मेडिस्टोन, केन्ट, इसेक्स, केन्टवरी आदिबाट ठूलो संख्यामा दर्शकहरु ओइरियेका थिए । खेल मैदानमा सुरक्षाका नीम्ति प्रहरी, एम्बुलेन्स आदिको पनि व्यवस्था गरिएको थियो भने खानपिनको लागि पनि उचित व्यवस्था मिलायेको थियो।
सबै समूहको बिजेताहरुलाई संयोजक सदस्य मे.रि. कृष्णकुमार आले, एनआरएनको अध्यक्ष कुल आचार्य, मगर संघ यूकेका अध्यक्ष मे.रि. कुल थापामगर र वरिष्ष्ठ उपाध्यक्ष दुत पुनले प्रथम तथा द्वितीय हुने समूहलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष मे.रि. कुल थापाले सहिद लखन थापालाई राज्यले स–सम्मानसहित प्रथम सहिदको साँचो सम्मान गर्नुपर्ने बताउँदै प्रतियोगितामा भागलिनु हुने सबै खेलप्रेमी, दर्शकहरु लगायत मगर संघ केन्द्रीय समितिका पदाधिकारीहरु, शाखा समितिका सम्पूर्ण पदाधिकारीहरु, महिला तथा युवा संघका पदाधिकारीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।