भक्तपुर, ८ कात्तिक । नगर प्रवेश गर्ने पर्यटकबाट दैनिक लाखौँ रुपैयाँ उठाउँदै आएको भक्तपुर नगरपालिकाले पर्यटकका लागि अति आवश्यक शौचालयको पर्याप्त व्यवस्था नगर्दा पर्यटकले सास्ती भोग्नुपरेको छ ।
नगरपालिकाले नगर प्रवेश गर्ने १६ वटा नाकामा काउन्टर स्थापना गरी पर्यटकसँग रकम उठाउँदै आए पनि आवश्यकताअनुसारको शौचालय, अन्य पूर्वाधारको समेत अभाव रहेको गुनासो पर्यटक एवम् गाइडहरूले गरेका छन् ।
नगरभित्र कतिपय ठाउँमा शौचालय खोज्दै हिँड्नुपर्ने, शौचालयकै लागि होटल पस्तुपर्ने, भएका शौचालयमा पनि पानी नहुने, फोहोर दुर्गन्ध हुने, साबुन तथा शौचालय पेपर नहुने गरेकाले पर्यटकले सास्ती झेल्नुपरेको अस्ट्रेलियन नागरिक मार्क ब्रोजीले गुनासो गरिन ।
त्यसैगरी नगरभित्र पर्यटकीय स्थलबारे जानकारी दिने निकायको अभाव र सामान बिक्री गर्ने हक्करले जबरजस्ती सामान खरीद गर्न दबाब दिनाले पर्यटकले हैरानी व्यहोर्नु परेको पथप्रदर्शक प्रकाश जोशीले बताए ।
नगरपालिकाले सार्क राष्ट्र एवम् चीनका नागरिकसँग प्रतिव्यक्ति रु ५० र गैरसार्क राष्ट्रका नागरिकसँग प्रतिव्यक्ति रु ७५० अर्थात् (१० अमेरिकी डलर) प्रवेश शुल्क लिने गरेको छ ।
नगरपालिकाको पर्यटक काउन्टरका प्रमुख गौतम लासिवाले शौचालयको अभाव नभएको दाबी गर्दै केही शौचालय अपुग रहेको र भएको शौचालयको मर्मत सुधार गर्ने कार्य अघि बढाएको बताए ।
रासस