दाङ, ७ कात्तिक
सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले नयाँ सहमतिबिना प्रधानमन्त्री चयनको नयाँ निर्वाचन प्रणालीमा जान नहुने बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले सहमति नगरी निर्वाचनको अर्को प्रणालीमा गइयो भने फेरि पनि सहमति हुन सक्दैन भने ।
अहिलेको विवाद कुर्सीका लागि नभएको बताउँदै उहाँले शान्ति प्रक्रियालाई नयाँ चरणमा कसरी प्रवेश गराउने भन्ने विवाद नै अहिलेको विवादको चुरो भएको पनि बताए ।
सरकारले बजेटको व्यवस्था कसरी गर्दछ भन्ने जिज्ञासामा मन्त्री पोखरेलले अब सरकारले पेश्की खर्च विधेयक नल्याउने स्पष्ट गर्नुभयो । उहाँले जुनसुकै तरिकाले भए पनि बजेट पारित गरिने बताए ।
बजेट पारित गर्नका लागि अन्य दलसँग आग्रह गरिने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो– ‘राज्यलाई वैधानिक सङ्कटमा लैजाने कुराले कसैलाई पनि फाइदा पुग्दैन ।’
मन्त्री पोखरेलले राष्ट्रपतिकै समानान्तर हुने गरी क्रियाकलाप गर्नबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई रोकिएको दाबी गरे । उनले राजाको सक्रियता धार्मिक भनिए पनि राजनीतिक उद्देश्यले प्रेरित भएको धारणा पनि राखे ।
तत्कालीन सरकार र माओवादीबीच भएको १२ बुँदे सहमतिलाई नयाँ ढङ्गले पुनःसंरचना गर्न आवश्यक रहेको बताउँदै मन्त्री पोखरेलले पहिलेका कार्यसूची खल्बलिएकाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ कार्यसूची तयार गर्नुपर्ने विचार राखे।
उनँले श्रमजीवी पत्रकारको सहयोगबिना श्रमजीवी ऐन कार्यान्वयन सम्भव नभएकाले श्रमजीवी पत्रकार नै गम्भीर हुनुपर्ने बताए ।