एएफसी च्यालेन्ज कप प्रतियोगिता राजधानीमा शुरु भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा अध्यक्ष सेप ब्लाटरको अनुरोधमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फागुन २५ गते प्रतियोगिताको उदघाटन गरेका हुन । नेपालले आयोजना गरेका मध्ये यो सबैभन्दा ठूलो प्रतियोगिता हो ।
काठमाडौं दशरण रंगशालामा भएको उदघाटन खेल भने नेपालका लागि सुखद रहेन । दिनको पाँच बजे शुरु भएको खेलमा प्यालेस्टाइनसँग २-० गोल अन्तरले नेपाल पराजित भएको छ । अर्को खेलमा तुर्किमिनिस्तानले भारतलाई ३-१ ले पाखा लगाएको छ । गत वर्ष उत्तरकोरिया अफगानिस्तान र श्रीलंकासँगको खेलमा उपविजेता भएर नेपाल अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो । शुरुवाती नतिजाले नेपालको सेमिफाइनल यात्रा अत्यन्त कठिन देखिएको छ ।
नेपालले फागुन २७ र २९ गते माल्दिभ्स र तुर्किमिनिस्तानसँग खेल्नेछ । अर्को समूहमा भारत, फिलिपिन्स, उत्तर कोरिया र ताजिकिस्तान छ ।
खेल दशरथ रंगशाला र सशस्त्र प्रहरी बलको मैदानमा खेलाइएको छ । प्रतियोगिताको फाइनल चैत ६ गते हुनेछ ।
सन् २००६ देखि शुरु भएको एएफसी च्यालेन्ज कप हेर्न नेपालका गिनेचुनेका प्राय सबै नेता दशरथ रंगशाला पुगेका थिए । यसरी रंगशाला जानेहरुमा प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशिल कोइराला, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, रामचन्द्र पौडेल, केपी शर्मा ओली, वामदेव गौतम, युवा तथा खेलकुद मन्त्री कमला रोका लगायत थिए ।
यसैवीच, एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको प्रमुख आतिथ्यता ग्रहण गर्न आएका फिफा अध्यक्ष ब्लाटरले राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. भट्टराईसँग भेटवार्ता गरेका छन् ।