वैदेशिक रोजगारीवाट साढे तीन लाख नेपालमै रोजगार

Read Time:4 Minute, 55 Second

 

वैदेशिक रोजगारसँग सम्वन्धित विभिन्न निकायहरूमा करिब तीन लाख ४४ हजारले स्वदेशमै रोजगारको अवसर प्राप्त गरेका छन् । वैदेशिक रोजगार व्यवसाय सञ्चालक र त्यससँग जोडिएका विभिन्न कम्पनीले यति धेरै संख्यामा स्वदेशमा नै रोजगार सिर्जना गरेको एक अध्ययनले देखाएको छ ।   नेपाल विकास अध्ययन संस्था (निड्स) का अनुसार वार्षिक दुई लाख ५० हजारभन्दा बढी कामदार विदेश पठाउने वैदेशिक रोजगार व्यवसायी र उनीहरूसँग सम्बन्धित व्यवसायी तथा सेवाकर्ताले आन्तरिक रूपमा तीन लाख ४४ हजार मानिसलाई रोजगार दिएको अध्ययनबाट देखिन्छ । वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीमा पाँच हजार सात र दलालतर्फ तीन लाख २१ हजारले रोजगारी पाएका छन् ।
    
    त्यस्तै सो संस्थाको अध्ययनअनुसार स्वास्थ परीक्षण संस्था, अभिमुखीकरण तालिम, विज्ञापन, व्यवसायी, फोटो स्टुडियो सञ्चालक, रेस्टुरेन्टलगायतका विभिन्न ठाउँमा १८ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा बेरोजगारीको सङ्ख्या बढ्दै गएको र शिक्षाको पहुँच नपुगेको हँदा ७५ प्रतिशत कामदार वैदेशिक रोजगारमा गएको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष सोमलाल बटाजुले बताए  ।  उनका अनुसार गरिब कामदार भारतमा, मध्यस्तरको खाडी मुलुकमा र धनी कामदार विकसित देशमा गएका छन् भने २० प्रतिशत कामदार वैदेशिक रोजगारीमा जान नसक्ने अवस्थाका छन् ।

    वैदेशिक रोजगारीमा जाने कामदार अधिक मात्रामा जनजाति र दलित भएको बताउँदै अध्यक्ष बटाजुले जनजातिमा अधिकांश एक घर एक व्यक्ति बराबर वैदेशिक रोजगारमा गएका छन् ।  वैदेशिक रोजगारीका कारण दैनिक रु आठ करोड १२ लाख निजी क्षेत्रले कमाउने गरेको पनि निड्सले जनाएको छ । निड्सले गरेको अध्ययनअनुसार स्वास्थ्य संस्थाले दैनिक रूपमा रु १५ लाख ४० हजार, अभिमुखीकरण तालिममा रु दुई लाख १० हजार, तालिम दिने संस्थाले रु १० लाख ५० हजार र विज्ञापनतर्फ रु १० लाख ५० हजार कमाएका छन् ।

     त्यसैगरी लेखनदासले रु ७० हजार, वैदेशिक रोजगारीमा पठाउने संस्थाले रु पाँच करोड ५० लाख कमाएका छन् ।  यस रकममध्ये वार्षिक रु सात करोड विदेश जाने गर्दछन् भने वार्षिक वैदेशिक रोजगारमा जाने कामदारले राहदानी खर्च र एयरपोर्ट कर गरी सरकारलाई रु एक अर्ब २३ करोड बुझाउने गरेको पाइन्छ ।  रेमिट्यान्सको मुख्य भूमिकाले गर्दा करिब १५ वर्ष अगाडिको ४२ प्रतिशतको बेरोजगारी २५ प्रतिशतमा ओराल्न सफल भएको छ ।   देशका ४४ प्रतिशत घरधुरीमा एकजना वैदेशिक रोजगारीमा गएका छन्, १९ घरधुरीमा एक कामदार नेपालमा नै काम गरिरहेका छन् भने बाँकी बेरोजगार रहेको अध्यक्ष बटाजुले बताए  ।

    वैदेशिक रोजगारीका कारण अन्तर्राष्ट्रिय उडानका यात्रुमध्ये ५० प्रतिशत नेपाली रहेका छन् ।   वैदेशिक रोजगारीमा सुरुमा पहाडी क्षेत्रबाट गए पनि सन् २००९ देखि तराईबाट बढ्न थालेको छ ।  हाल वैदेशिक रोजगारीमा तराईबाट ४८ प्रतिशत पहाडबाट ४५ प्रतिशत र हिमालबाट सात प्रतिशत कामदार विदेश गएका छन् ।    गैरआवासीय नेपाली सङ्घका अध्यक्ष देवमान हिराचनले वैदेशिक रोजगारीमा गएका कारण रोजगारी तथा रेमिट्यान्स बढे पनि सो रकम उपभोग्य बस्तुमा बढी खर्च भएकाले उत्पादनमूलक कार्यमा लगानी गर्न सरकारले लगानीमैत्री वातावरण बनाउने सुझाव दिए ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %