बाँके ६ कात्तिक
सूचना तथा सञ्चार मन्त्री शङ्कर पोख्रेलले पेश्की बजेट सकिनुअघि सहमति नभए बहुमतका आधारमा भएपनि सरकारले बजेट ल्याउने बताएका छन् ।
प्रेस चौतारी बाँकेले आज नेपालगन्ज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोख्रेलले सरकारसँग बजेट पारित गर्नका लागि स्पष्ट बहुमत रहेको बताए ।
पेश्की बजेट सकिनुअघि कात्तिक मसान्तभित्रै सहमति नभए पनि सरकारले बजेट ल्याउने उनको भनाइ थियो ।
तत्काल नयाँ सरकार बन्ने सम्भावना नदेखिएको बताउँदै उहाँले कात्तिकभित्र बजेट नल्याए देशमा आर्थिक सङ्कट उत्पन्न हुनसक्ने चेतावनी दिए ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेका कारण सरकारले बजेटका लागि राजनीतिक सहमति खोजेको मन्त्री पोख्रेलले स्पष्ट पारे ।
राजीनामा दिएको सरकारले बजेट ल्याए यही सरकारले निरन्तरता पाउँछ कि भन्ने माओवादी बुझाइ गलत भएको पनि उनले वताए ।
मन्त्री पोख्रेलले दलहरूबीच प्रधानमन्त्री को बन्ने भन्दा पनि शान्ति प्रक्रियालाई नयाँ चरणमा प्रवेश गराउने विषयमा मतमतान्तर रहेको छ उनले भने ।
अनमिनको समयावधि पुससम्मका लागिमात्र थपिएका कारण सोही अवधिमा माओवादी सेनाको समायोजन र व्यवस्थापनसहित शान्ति प्रक्रिया अर्को चरणमा प्रवेश गर्नुपर्ने उनको धारणा थियो ।