दुबई, युएई अबुधावी
मगरहरुको पोशाकमा सजिएका दाजुभाई तथा दिदीबहिनीहरु आफ्नै पूर्खेली भेषभूषासंगै “झोर्ले” यानी कि नमस्ते गर्दै एकआपसमा उत्साहित देखिन्थ्यो । नयां चलनचल्तीसंगै लोप हुदै गएको आफ्नो संस्कृतिलाई प्रवासमा पनि बिकास तथा प्रवद्र्धन गर्दै आउने क्रममा गत २४ फेब्रुअरी २०१२ का दिन अबुधावीस्थित केरला सोसियल सेन्टरमा मगर संघ युएईको आयोजनामा ३० औं मगर दिवस सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता मगर संघ युएईको अध्यक्ष नुनप्रसाद सोमै मगरले गरेकाथिए । मुख्य अतिथिको आसनमा नेपाली दूतावासका कार्यवाहक राजदूत दीपक अधिकारी थिए । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यावसायी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए । दुई चरणमा विभाजित गरि संचालन गरिएको कार्यक्रमलाई पहिलो तथा औपचारिक कार्यक्रम भरत रानाले संचालन गरेकाथिए भने दोश्रो र सांस्कृतिक कार्यक्रमलाई धनेन्द्र मास्की रानाले संचालन गरेकाथिए ।
“अभिवादन गर्छौ यहांहरुलाई फुल जस्तै कोमल मुटुले जीवन भरिलाई।।।,, बोल रहेको स्वागत गीतबाट थालनी भएको कार्यक्रममा स्थानीय कलाकारहरुको विभिन्न मगर संस्कृतिका करुवा, झ्याउरे, सालै जो र सोराठी जस्ता नाचले आफ्नो मौलिकतालाई कायम राख्दै नयां पिढीलाई सन्देश पनि दिएको थियो । आधुनिक जीवन शैलीसंगै लोप हुदै गएको संस्कृतिलाई उत्थान गर्नमा पनि मगर संघ युएईको अहम भूमिका रहेको छ ।
हातमा माइक थाम्दै “सिम सिम पानी पछेउरी भिजायो, फेरि उनकै मायाले बिजायो,, चिसो चिसो हावा सरर।।यो मायाको रुमाल फरर।।।गीत गाउंदै जब मुना स्टेजमा पुगेपछि ताली र सिटीले पूरै हल नै गुंजियो, किन कि गलाकी बहुधनी मुना थापाको प्रवेश भएको थियो । सायद दर्शकहरुको पर्खाईको समय पनि पूरा भएको थियो ।
त्यसपछि लगत्तै निकै चर्चामा आएको लोक दोहोरी “तिते करेलीले” को साथ करुवा र स्वलो भाकाका गीतको प्रस्तुतिले दर्शकहरुको मनलाई जित्नमा सफल भएको थियो । आफ्नो मनमोहक बोलीले दर्शकहरुलाई लठ्ठै पार्दै फेरि पनि मौका मिलेमा दुबईमा आउने बाचासम्म गर्न भ्याइन् ।
त्यसपछि फेरि अर्को ताली र सिटीको आवाजको बीचमा फेरि अर्को गीतको बोल थियो,“मैले त केही भनेको नै थिएन, तिमी बिना बाच्दिंन भन्थ्यौ नि बोल्दैनो किन,, आवाज नै सुरिलो र आफु पनि निकै आर्कषक व्यक्तित्व भएको दीपसागर थापाले दर्शकहरुलाई नचाएर नै छाडेका थिए । नेपाल टेलिभिजनमा घम्सा घम्सी कार्यक्रकका प्रस्तोता र लोक गायकका रुपमा परिचित दीपसागर थापाले चिसो मौसमलाई तताएर गर्मीमा पणिगत गरेका थिए ।
अध्यक्ष नुनप्रसाद सोमै मगरको शुभकामना मन्तव्यसंगै कार्यवाहक राजदूत दीपक अधिकारीले पनि आफ्नो मन्तव्य राखेकाथिए । त्यस्तैगरी नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकाल र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि आ–आफ्ना मन्तव्यहरु राखेका थिए ।
सोही अवसरमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले नेपालमा बांढीपीडित तथा भूकम्पमा परेका परिवारजनका लागि ने।रु। २५,००० को दरले ११,९० दिराम कार्यवाहक राजदूत अधिकारीलाई हस्तान्तरण गरेकाथिए ।
लालबहादुर ढेंगा