इटहरी, ६ कातिक
सुनसरी जिल्लाको हाँसपोसास्थित धरान इटहरी सडकखण्डमा हिजो राति दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ ।
सो घटनामा गम्भीर घाइते सुनसरी सोनापुरका २५ वर्षीय गौरव राई, इटहरी–१ निवासी २० वर्षीय प्रेम चौधरी र हाँसपोसा–१ निवासी ३० वर्षीय शुक्र रम्तेलको उपचारका लागि धरान लैजाने क्रममा नै मृत्यु भएको थियो ।
उक्त घटनामा गम्भीर घाइते सोनापुरका ३० वर्षीय सुरज राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले बताएको छ ।
इटहरीबाट धरानतिर जाँदै गरेको को ७ प ७९७२ नम्बरको मोटरसाइकल र धरानबाट इटहरीतिर आउँदै गरेको को ४ प १७३४ नम्बरको मोटरसाइकल १ नम्बर पानीट्याङ्कीनजिक सडकमा एकआपसमा जुधेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेका दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएको र ती दुवै मोटरसाइकल प्रहरी चौकी, तरहराले नियन्त्रणमा लिएको छ । रासस