५ कार्तिक
राजधानी बाहिर को सर्वाधिक धनराशी पुरस्कार रहेको तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगिताको १७ औं संस्करण आजदेखि रुपन्देहीको बुटवलमा शुरु भएको छ । रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा बुटवल–१३ देविनगर स्थित फिफा टेक्निकल सेन्टरमा संचालन भएको प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब पोखरा लाई हराउदै रुपन्देही ११ विजयी भएको छ । रुपन्देही–११ का नारायण थापाले खेलको दोस्रो हाफको दोस्रो मिनेटमा गरेको निर्णायक गोलले रुपन्देही–११ विजयी भएको हो । खेलमा रुपन्देही कै नारायण थापा म्यान अफ द म्याच घोषित भए ।
भोलिको खेल ए पी एफ क्लब र फ्रेण्डस् क्लब काठमाडौं बीच हुने रुपन्देही फुटवल संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै सिंचाई मन्त्री बालकृष्ण खाँणले खेलकुदको विकासका लागि राज्यले लगानी गर्नु पर्नेमा जोड दिए । प्रतियोगितामा नेपाल आर्मी,नेपाल प्रहरी, धरान फूटवल क्लव, एन आर टि क्लव, जावलाखेल यूथ क्लव, हिमालयन शेर्पा क्लव,एन्फा–११ र बंगलादेश फूटवल क्लव गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने लाई १ लाख ५५ हजार ५ सय ५५ नगद सहित गोल्डकप तथा दोस्रो हुने लाई ७७ हजार ७ सय ७७ रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यसै गरी खेल अवधिभर सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षक लाई ५ हजार ५ सय ५५ रुपैंयाका दरले पुरस्कृत गरिने छ ।
गोविन्द घर्ति, रुपन्देही