संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

Read Time:3 Minute, 57 Second

संकर साैगात
सिन्धुली, असार २० ।
एक समय उजाड, सुख्खा र वनविहीन बनेका डाँडापाखाहरू स्थानीय उपभोक्ताको सक्रिय संरक्षण र दिगो व्यवस्थापनका कारण अहिले हराभरा, आकर्षक र जैविक विविधताले सम्पन्न वन क्षेत्रमा परिणत भएका छन्। संरक्षणसँगै वनलाई स्थानीयको उपभोग तथा आयआर्जनको स्रोतका रूपमा विकास गरिएपछि सिन्धुलीको दूधौली नगरपालिका–१, कुर्थौलीस्थित बिचित्रा ठाकुर सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उदाहरणीय सामुदायिक वनका रूपमा स्थापित हुँदै गएको छ।

४९० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा ३ सय ९५ घरधुरी उपभोक्ता आबद्ध छन्। वन क्षेत्रमा मुख्य रूपमा साल प्रजातिका रुख रहेका छन् भने साजलगायत अन्य स्थानीय प्रजातिका वनस्पतिहरू पनि पाइन्छन्। वन संरक्षण, व्यवस्थापन तथा विकासका सम्पूर्ण गतिविधिमा उपभोक्तालाई प्रत्यक्ष परिचालन गर्दै आएको समूहले सामुदायिक सहभागितामार्फत वन संरक्षणको प्रभावकारी अभ्यास गरिरहेको जनाएको छ।

समूहका अध्यक्ष हिरन माझीका अनुसार वन संरक्षण, वृक्षारोपण, सरसफाइ, वन गस्ती तथा व्यवस्थापनका अधिकांश कार्य स्थानीय उपभोक्ताको सहभागितामै सञ्चालन हुँदै आएका छन्। सामुदायिक अपनत्वका कारण वन क्षेत्रको संरक्षण प्रभावकारी बनेको र वनको अवस्था वर्षेनी सुधार हुँदै गएको उहाँले बताउनुभयो।

वन संरक्षणलाई थप प्रभावकारी बनाउन चुरे उत्थानशील आयोजना, सिन्धुलीको सहयोगमा चेकड्याम तथा रिचार्ज पोखरी निर्माण गरिएको छ। त्यसैगरी डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, वन पैदावारको चोरी निकासी नियन्त्रण तथा प्रत्येक उपभोक्तालाई बाँस रोप्न प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिएको समूहका उपभोक्ता गिरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

वन्यजन्तु व्यवस्थापनतर्फ पनि समूहले नयाँ अभ्यास थालेको छ। वन क्षेत्रमा आउने बाँदरलाई खेतीबालीतर्फ जान नदिन वनभित्रै आँपका बिरुवा रोपिएको छ। यसले वन्यजन्तुलाई वनमै आहारा उपलब्ध गराई किसानको बाली जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समूहका अर्का उपभोक्ता बालकृष्ण पहाडीका अनुसार उपभोक्तालाई नियमनसहित वनमा घाँस काट्न अनुमति दिइएको छ। यसबाट स्थानीयको पशुपालनमा सहजता हुनुका साथै वनको दिगो उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्न मद्दत पुगेको छ।

स्थानीयको सक्रिय सहभागिता, वैज्ञानिक वन व्यवस्थापन, संरक्षणमुखी कार्यक्रम तथा वनबाट प्राप्त स्रोत–साधनको दिगो उपयोगका कारण बिचित्रा ठाकुर सामुदायिक वन अहिले सिन्धुली जिल्लाका अन्य सामुदायिक वनका लागि पनि अनुकरणीय नमुनाका रूपमा स्थापित हुँदै गएको सरोकारवालाहरूको भनाइ छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %