राज्यसत्ता
काठमाडौँ , ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ (पिंकी)ले संस्थाका सदस्यहरूसँग जलविद्युत कम्पनीको शेयर भर्न भन्दै रकम उठाएको स्वीकार गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित भई उनले शेयर खरिदका नाममा सदस्यहरूबाट रकम सङ्कलन गरेको खुलेआम स्वीकार गरेकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल राज बोहराका अनुसार पिंकी र मनिषा ढकाल प्रहरीकहाँ पुगेर आफूहरू पनि ठगिएको गुनासो गरेका थिए। उनीहरूको भनाइमा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू उजुरी दिन जानु अघि नै पिंकी प्रहरी परिसर पुगेर आफ्नै शेयरमा लगानी गरेको रकम डुबेको गुनासो गरिसकेकी थिइन्। तर पिंकी र मनिषाले आफ्नो रकम डुबेको दाबी गरे पनि औपचारिक उजुरी भने दिएका छैनन्।
पिंकीलाई रकम बुझाएका पीडितहरू भने रकम फिर्ता गराइदिन माग गर्दै जाहेरी लिएर प्रहरी परिसर पुगेका थिए। तर प्रहरी परिसरले “पिंकी र मनिषा पहिले नै त्यस्तै गुनासो लिएर आएका थिए, घटना पुरानो हो” भन्दै जाहेरी लिन अस्वीकार गरेको पीडितहरूले बताएका छन्।
२०७४ वैशाखदेखि रसुवा, धुन्चे–५ मा रहेको भनिएको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको नाममा करिब आठ वर्षअघि रसिद दिई रकम उठाएकी पिंकीले पछिल्लो समय (२०८१ वैशाख ३१) इनर्जी इन्जिनियरिङ लिमिटेडको नाममा शेयर प्रमाणपत्र वितरण गरेकी थिइन्। सो प्रमाणपत्रमा शङ्का लागेपछि सोधखोज गर्दा उनले प्रस्ट जानकारी नदिएपछि पीडितहरू उजुरी दिन पुगेका थिए। तर प्रहरीले “पिंकी र मनिषा पहिले नै आएर आफूहरू उल्टै ठगिएका छौँ भनेका कारण” उजुरी लिन नमिल्ने जवाफ दिएको पीडितहरूको भनाइ छ।
प्रहरीले उजुरी नलिएपछि पीडितहरू जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगे। पीडितहरूको आग्रहअनुसार तत्कालीन अध्यक्ष पिंकीलाई बोलाएर छलफल गरिएको छ। सहन्यायाधीवक्ता रामहरि शर्मा काफ्लेको सामु पिंकीले समुदायका सदस्यहरूसँग शेयरमा लगानी गर्ने नाममा रकम सङ्कलन गरेको स्वीकार गरेकी छिन्।
रकम उठाएको स्वीकार गरेकी पिंकीले एक साताभित्र रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएकी छिन्। सहन्यायाधीवक्ता काफ्लेको भनाइ उद्धृत गर्दै पीडितहरूले भने, “रकम लिएको स्वीकार गर्नुभएको छ, आउँदो हप्ताभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभएको छ। नगरे कानुनी कारबाहीमा जाने चेतावनी पनि दिनुभएको छ।”
पीडितहरूका अनुसार, २०७४ सालमा डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी पिंकीले पार्टीसँग आबद्ध व्यक्तिको कम्पनी भनेर समुदायका सदस्यहरूलाई जलविद्युत कम्पनीको शेयर भर्न प्रेरित गरेकी थिइन्। ब्लु डायमन्ड सोसाइटीका कर्मचारीसहित समुदायका धेरै सदस्यसँग शेयरका नाममा रसिद वितरण गरी लाखौँ रुपैयाँ सङ्कलन गरेकी पिंकी अहिले रकम फिर्ता गर्न दबाबमा परेकी छन्।
२०७४ सालमै विवेकशील आदर्श कम्पनीको नाममा रकम असुली गरेर रसिद दिएकी उनले समाचार सार्वजनिक भएपछि अर्को “इनर्जी इन्जिनियरिङ कम्पनी” को नाममा करिब एक वर्षअघि मात्रै शेयर प्रमाणपत्र वितरण गरेकी थिइन्। तर उक्त कम्पनी समेत दर्ता–नवीकरण नभएको पत्ता लागेपछि पिंकीलाई रकम बुझाएकाहरू प्रहरीदेखि न्यायालयसम्म धाउनुपरेको हो।
पीडितहरूले हल्लीखल्ली गर्दै उजुरी दिन गएपछि मात्र पिंकीले आफ्नो पनि रकम डुबेको भन्दै सफाइ दिएकी हुन्। समुदायका अन्य सदस्यहरूले समेत उनले १० हजारदेखि २–३ लाख रुपैयाँसम्म उठाएको गुनासो गरेका छन्।
शेयर प्रमाणपत्र दिइएको इनर्जी इन्जिनियरिङ लिमिटेडको ठेगाना थापाथली–११, काठमाडौं उल्लेख गरिएको छ। कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भएको र आर्थिक वर्ष २०७३/७४ मा दर्ता भएको दाबी प्रमाणपत्रमा गरिएको छ।
एक पीडितले पिंकीलाई ११ हजार बुझाउँदा प्रमाणपत्रमा १० हजार मात्र संस्थापक शेयर भनेर लेखिएको थियो। अर्को पीडितलाई २२ हजार, अर्कोको ४४ हजार रुपैयाँ संस्थापक शेयरको प्रमाणपत्र दिइएको छ। केही महिना अघि निधन भएकी क्रिष्टिनाले समेत पिंकीलाई १ लाख रुपैयाँ बुझाएकी थिइन् भन्ने कुरा उनका साथीले बताएका छन्।
पिंकीले रकम डुबेको थाहा पाउँदा–पाउँदै पनि दर्ता–नवीकरण नभएको कम्पनीको नाममा शेयर प्रमाणपत्र वितरण गरेको विषयमा भने कुनै स्पष्टीकरण दिएकी छैनन्। अनुसन्धानको दायरामा आउने निश्चित भएपछि उनी दलबलसहित प्रहरी र सरकारी वकिलको कार्यालय पुगेकी थिइन्। त्यहाँ उनले आफैँ पनि पीडित भएको दाबी गरे तापनि रकम सङ्कलन गरेको स्वीकार गरिसकेकी हुँदा पीडितहरूले रकम फिर्ता पाउने आशा पलाएको बताएका छन्।