-पूर्ण बहादुर राना
ओलिले माधवलाई र माधवले ओलिलाई भित्तामै पुर्याउने भन्थे त्यस्तै पाे गर्न खाेजेकाे हाे कि! वा मिलेर अघि बढ्नकाे लागि हाे कि! तर ओलि र माधव त मिल्छन है समय कालखण्डमा । हाम्राले के गर्छ हेर्न बाँकि छ ।

२०७४ सालमा ११औं राष्ट्रिय सम्मेलन रूपन्देही जिल्लाकाे भैरहवामा सम्पन्न भयाे । बन्दसत्र पाैवा हाेटलमा भएको थियाे । ११औं राष्ट्रिय सम्मेलनमा उपस्थित सबैले एउटा विषय टड्कारो रूपमा उठायाे । त्याे विषय “राष्ट्रिय जनमुक्ति पार्टी” काे नाम फेरेर “नेपाल जनमुक्ति पार्टी” बनाउनु पर्छ भन्ने थियाे ।
उक्त समयमा “राष्ट्रिय जनमुक्ति पार्टी” बाट नाम परिवर्तन गरेर “नेपाल जनमुक्ति पार्टी” बनाउनु हुँदैन । जनताको जनजिब्राेमा “राष्ट्रिय जनमुक्ति पार्टी” झुण्डिसकेकाे छ । राष्ट्रिय जनमुक्ति पार्टी एउटा ब्रान्ड बनिसकेको छ । याे ट्रेडमार्क जस्तै भैसकेकाे छ । ब्रान्ड बन्न धेरै समय लाग्छ । ब्राण्ड बन्न धेरै लगानी लाग्छ । ब्रान्ड बन्न धेरै नेता कार्यकर्ताकाे उर्जा खपत भएको हुन्छ । ब्रान्ड विगार्न हुँदैन भनेर मैले आवाज उठाएकाे थिएँ ।
मैले उदाहरणमा टाटा(TATA) कम्पनीका मालिकले यस्ताे “A” लेख्न नजानेर यस्तो ” ∧” लेखेकाे हाेईन । बरू याे त देख्दा अलग्गै(Unique) पहिचान हाेस सबैकाे ध्यान आकृष्ट गराेस भनेर (T∧T∧) लेखेकाे हाे भनेकाे थिएँ । मैले नाम नफेराैं बरू काम फेराैं । अब नामकाे सट्टामा काम गर्ने कार्यशैली फेराैं । नाम फेर्दा ३ कराेड नेपाली जनमुक्ति हुने पनि हाेईन भनेकाे थिएँ । पार्टीलाई जनतासँग जाेडाैं भने तर त्यतिबेला काेहि सुन्नेवाला थिएन र कसैले सुनेन पनि ।
मेराे याे कुरा सुनेर कतिपयले मलाई सम्झाउँदै भने “राष्ट्रिय” काे ठाउँमा “नेपाल” शब्द राख्याे भने सिंह राशि हुन्छ र ग्रह बलियाे हुन्छ भन्न समेत भ्याए । अनि पार्टीको राशि मिल्छ र पार्टी ठूलाे हुन्छ पनि भने ।
मैले अझ थप भने कि जनमुक्तिको अगाडि सिङ थपेर “संसारकै सबैभन्दा राम्रो जनमुक्ति पार्टी भनेपनि काेहि आउनेवाला छैन् जबसम्म भुँईमान्छे(Grassroot=ग्रासरूट) सम्म पार्टीलाई पुर्याउँदैन । र घरगाउँका भुँई मान्छेलाई पार्टीको बिचार,नीति, दर्शन र सिद्धान्त बुझाउँदैन र संगठित गर्दैन र बारम्बार स्कुलिङ, प्रशिक्षण, तालिम र जनताकाे दैननदिन आवश्यक पर्ने उपभाेग्य वस्तु र अन्य जनताकाे सराेकारकाे विषयमा बाेल्दैनन् तबसम्म पार्टी अघि बढ्दैन पार्टीको अगाडि जे थपे पनि वा पार्टीको पुच्छर थपे पनि भनें । म बबुराेकाे कुराे कसैले सुनेन । सबै एकढिक्का भएर “राष्ट्रिय जनमुक्ति पार्टी”को ठाउँमा “नेपाल जनमुक्ति पार्टी” बनाउने एकस्वरले पास गरे ।

त्यसपछि नेतृत्वहरू निर्वाचन आयाेगमा बुझाउन गए । तर निर्वाचन आयाेगले मानेन । नाम फेर्न महाधिवेशनबाट मात्रै संभव भएको र राष्ट्रिय सम्मेलनलाई मान्यता नदिने कुरा गर्याे । पछि निर्वाचन आयाेगले बाधाअड्काउ फुकाउकाे लागि विधान महाधिवेशनबाट नाम फेर्न पाईने कुरा गर्याे भनेर मलाई शिर्ष नेतृत्वले भन्याे । र त्याे नाम फेर्ने काम त्यतिकै थन्केर बस्याे ।
छैटौं महाधिवेशनमा याे कुरा कसैले उठाएन । काे अध्यक्ष हुने । कसकाे लबिङ गर्ने र कसले अध्यक्ष पाउने भन्ने द्वन्द्व देखिएकाे थियाे । महाधिवेशन हलमा अपशब्द बाेल्याे । जुत्ताकाे माला लगाई दिन्छाैं झाेलामा ल्याएकाे छ भने रे । हामीलाई हेप्याे र उनिहरू अर्कै ग्रहबाट आएकाे ठाने भनेर मलाई पुर्वका साथिहरूले गुनासाे पाेखे । राति केरकार पनि गर्याे खास के हाे हामी पुर्वलाई नचाहिने नै हाे त पश्चिमका साथिहरूलाई भनेर मलाई साेधनि भएको थियाे ।
जनमुक्ति पार्टीका नेता कार्यकर्ता बडाे सन्तोषी छन् । नेतालाई असाध्यै विश्वास गर्छन् । किन नाम फेरेन भनेर पनि कसैले महाधिवेशनमा प्रश्न गरेन । नाम नफेरेकाेमा ठिक गर्याे नेतृत्वले पनि भनेन ।
जनमुक्ति पार्टीका कार्यकर्ताहरूले अन्धाधुन्धा र अन्धभक्त भएर नेतालाई विश्वास गर्छन् । यसरी कसैले कसैलाई विश्वास गर्नु हुँदैन । शंकाकाे लाभ(Benefit of doubt) लिनैपर्छ । शिर्ष नेताहरूलाई शंकाकाे तराजुमा जहिले पनि जाेख्नैपर्छ । हिन्दी सिनेमा रेफ्युजि(Refugee)मा एउटा संवाद(Dialogue) छ कि “मानुष्य संसारकि घटिया प्राणी है” । मानिसले कतिखेर धाेका दिन्छ थाहा हुँदैन । हिजाे एम. एस. थापालाई विश्वास गर्नेहरूले आँखा चिम्लेर एम. एस. लाई मात्रै विश्वास गरे । गाेरे बहादुर खपांगीलाई विश्वास गर्नेहरूले खपांगिलाई मात्रै विश्वास गरे । राम्रो गरेनि वा नराम्रो गरेनि नेताहरूलाई एकपटक विश्वास गरेपछि नेतालाई ठिक भन्ने नेपाली चलन छ । अबका दिनमा आफ्नो पार्टीको हाेस या अरूकाे पार्टीको नेता राम्रो गरे राम्रो गर्याे भन्नुपर्छ र नराम्रो गरे नराम्रो गर्याे भन्नुपर्छ ।
अहिले केपि पालुङ्वा समूह र केशव सुर्यवंशी समूह पनि यहि चिन्तनले ग्रस्त छ एउटा समुहले अर्काे समुहलाई नेता नमान्ने । जनमुक्ति पार्टीका नेता कार्यकर्तालाई नेपालकाे प्रधानमन्त्री काे बन्नुपर्छ भनेर साेध्ने हाे भने रबि लामिछाने भन्ने बेर लाग्दैन । जे गरेनि हामीले नेपालको प्रधानमन्त्री त कि केपी लिम्बू भन्नू पर्छ कि केशव सुर्यवंशी भन्नुपर्छ । किनकि वहाँहरूनै हाम्राे पार्टीको नेता हाे भनेर पहिलाे चाेटि पार्टीको डेडलक फुकाउँदा बिजयसिं थापाले भन्नू भएको थियाे । साँच्चिकै याे गुटकाे चिन्तनले हामीले यस्तै भन्ने बेर छैन । गुटउपगुट बनाउन ध्याउन्न हुने राेगबाट ग्रस्त भएको हाे कि जस्ताे देखिन्छ । गुट जहिले पनि झुटबाट जन्मिन्छ । त्यसैले “खाेट र झुटबाट गुट जन्मिन्छ । गुटबाट उपगुट जन्मिन्छ । उपगुटबाट टुटफुट र छुट जन्मिन्छ ।”
(क) मगर र लिम्बूकाे वा पुर्व र पश्चिमकाे द्वन्द्व
जनमुक्ति पार्टीमा तीन जना महासचिव राख्ने बेलामा मैले नराखाैं भने । किन चाहियाे तीन जना महासचिव । कि पार्टी ठूलाे भए त ठिकै हाे ३ जना महासचिव राख्ने भनें । मैले भनेकाे थिए पार्टी ठूलाे भएको भए १ जना महासचिव पार्टी चलाउने, १ जना महासचिवले विदेश हेर्ने र १ जनाले अन्तरपार्टी सम्बन्ध र देशकाे अवस्थामा ध्यान दिई कार्यक्रम ल्याउने भनेकाे थिएँ । तर ३ जना महासचिव महाधिवेशन हलले ल्याएरै छाेड्याे । ३ जना मध्ये १ जना टाेप अस्लामी, १ जना रामु परियार र १ जना पदम जबेगु । याे पनि ठिकै थियाे । तर पार्टीकाे चिठिपत्र र निर्णय पत्राचार गर्ने कार्य अध्यक्ष केपी लिम्बूले महासचिव पदम जबेगु लिम्बूलाई खटाउनु भयाे र कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले प्रेश विज्ञप्ति महासचिव टाेप अस्लामिलाई रिलिज गर्न जिम्मेवारी दिनु भएको जस्तै देखियाे । दाेश्राे नम्बरकाे महासचिव रामु परियार पेन्डुलम जस्तै बन्याे । र वहाँले मैले भुमिका पाएन भनेर गुनासाे गरिरह्याे ।
अनि मैले भने हामी बढि जातिवादि भयाैं कि! लिम्बूकाे महासचिव लिम्बू र मगरकाे महासचिव मगर जस्तै भयाे । एक जना अध्यक्ष र महासचिवकाे जिल्ला फरक छ भने अर्काे अध्यक्षकाे र महासचिवकाे एउटै जिल्ला छ भनें । कसाे एकाघरकाे राखेनाैं हामीले पनि भनिदिएँ । बरू माईन्युट लेख्न जिम्मेवारी र चिठिपत्र गर्न रामु परियारलाई दिऊँ वहाँले दलित समुदायकाे प्रतिनिधित्व गर्नु हुन्छ भने तर कसैले सुनेनन्। पछि महासचिव रामु परियारले फेसबुक स्टेटसमा केके लेख्याे भनेर छलफल पनि भयाे ।
मलाई त कहिलेकाही लाग्छ कतै भाेलि सत्ता आउँदा त झन हामी बढि जातिवादि, संकिर्णवादी, लालचि र भ्रष्टाचारी त बन्दैनाैं जस्ताे लागिरहन्छ ।
अहिले अध्यक्ष केपि समुहले मिटिङ बाेलाउँदा कार्यकारी अध्यक्ष केशव सुर्यवंशी समूह आउँदैन । र केशव सुर्यवंशि समुहले मिटिङ डाक्याे भने केपि समूह आउँदैन ।
अध्यक्ष केपी पालुङवालाई छैटौं महाधिवेशन भएको १ वर्ष पछि कार्यकारी अध्यक्ष केशव सुर्यवंशी समुहले बैठकमा पार्टी सानाे गरेकाे, पार्टीको भाेट घटाएको आराेप लगाएर कहिले राजिनामा देउ भनेर माग गरिरह्याे । कहिले पार्टीमा महाअभियाेग लगाउँछाैं भनिरह्याे । कहिले विशेष महाधिवेशन गराैं भनिरह्याे । कहिले राजिनामा देउ भनेर मिटिङमा बारम्बार आवाज उठिरह्याे । पार्टी कार्यालयको भाडा तिर्न जिम्मेवार नबन्ने भनिरह्याे । अझ राेचक कुरा त पाँचौ महाधिवेशनबाट कार्यकारी अध्यक्ष केशव सुर्यवंशी समुहले अध्यक्ष केपि पालुङ्वा लिम्बू समुहलाई पार्टीको वेभसाईटर र फेसबुककाे युजर आईडी र पासवर्ड नदिएकाे, माईन्युट छुन नदिएकाे भनेर भित्रभित्रै खुनखुन भईरह्याे ।
छैटौं महाधिवेशन पछि केपी लिम्बू समुहले पनि त्यस्तै गर्याे । वहाँहरूले मगरवाद भयाे भन्नुभयो । पार्टी कार्यालय मगरहरूले जहाँ भन्छ त्यहीँ हुनुपर्ने जस्ताे साेंचबाट ग्रस्त भईरह्याे । । पाँचौ महाधिवेशन पछि पार्टी कार्यालय धाेबिघाटबाट भाडा तिर्न असमर्थ भएरै हाेला तत्कालीन काेषाध्यक्ष डब जर्बुजा पुन मगरज्यूले आफ्नै घरमा लगेर राख्नु भएको थियाे । पार्टीको मिटिङ वहाँकै घरकाे छतमा हुने गर्थ्याे । कतिपयले भने जहाँपनि मगरवाद देख्नेले पार्टी कार्यालयकाे भाडा तिर्नेमा किन मगरवाद देखेन? प्रश्न उब्जिरह्याे र गरिरह्याे । माईन्युट पार्टीको कार्यालयमा नराख्ने । पुर्व गए पुर्वै लाने । घर गए घरै लाने गरिरह्याे । अहिले माईन्युट पार्टी कार्यालयमा छैन् ।
(ख) आफ्नो पार्टी नेताकाे रिफरेन्स लिनुपर्ने आवश्यक
२०६७ सालमा कावासाेति नवलपरासीमा सम्पन्न चाैंथाे राष्ट्रिय महाधिवेशनमा मैले नेपाल विद्यार्थी माेर्चाकाे तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्दा भनेकाे थिएँ कि आफ्नाे नेताकाे भनाईलाई उन्नत वा गुणगान(Edification) र सन्दर्भ(Reference) लिएर बाेलाैं भनेर लिखित बुझाएको थिएँ । जस्तै अन्य पार्टीको अवस्था हामीले हेर्न सक्छौं ।
विपि काेईरालालाई काङ्ग्रेस पार्टीमा जननायक ठान्छ । उनले पार्टी स्थापना गरेकाेले उनकाे गुणगान काङ्ग्रेसजनले खुलेरै गर्छन् । यसरी नै समुदाय र परिवारकाे चित्त बुझाई दिन गणेशमान सिंहलाई लाैह पुरूष ठान्छन् । कृष्ण प्रसाद भट्टराईलाई सादगि नेता ठान्छन् । र उनिहरूकाे गुणगान(Edify) गाउँछ र उनिहरूकाे भनाइलाई सन्दर्भ(Reference) रूपमा लिएर बाेल्छन् ।
एमाले पार्टीले पुष्पलाल श्रेष्ठले पार्टी जन्माएकाे ठान्छन् । तर पुष्पलाल श्रेष्ठलाई एमाले जनले मदन भण्डारीलाई जतिकाे मान्दैन र गन्दैन । कतिपयलाई त लाग्दाे हाे मदन भण्डारीले नै कम्युनिस्ट पार्टी एमाले स्थापना गरेकाे थियाे । तर कुराे त्यसाे हाेईन । पुष्पलालकाे चर्चा कम भएको कारणले त्यस्ताे लागेकाे हाे । यसमा मनुवादीकाे गन्ध आउँछ । मनुवादीहरूले उनलाई ओझेलमा पारेकाे उनि आदिवासी समुदाय नेवार भएकोले पनि हुनसक्छ । किनकि केन्द्रीय समितिमा आदिवासी नेवारहरू त्यति धेरै देखिंदैन ।
नेपाल जनमुक्ति पार्टी(साविककाे राष्ट्रिय जनमुक्ति पार्टी) स्थापना गर्ने नेता एम. एस. थापा र गाेरे बहादुर खपांगीहरूमा गाेरे बहादुर खपांगीकाे नाम बढि लिन्छ । यसकाे कारण खपांगी बढि फल्डमा खटेकाे र उनकाे भाषण शैली(Oratory Skill) राम्रो भएर पनि हाे । तर पछिल्लो चरणमा एम. एस. थापा र गाेरे बहादुर खपांगीकाे चर्चा त्यति भएकाे सुनिंदैन । आफू आफुनै राम्रो भन्ने आपुँगि भावना बढि छ वर्तमानका नेताहरूमा ।
माओवादी पार्टी भित्र त झन के कुरा गर्ने प्रचण्डको भाषा मात्रै बाेल्ने हाेईन उनकाे कुम हल्लाएकाे पनि माओवादी कार्यकर्ताले नक्कल गर्ने गर्थे । मैले जनमुक्ति पार्टीमा यति सार्हाे हाउभाउकाे नक्कल गर्नुपर्छ भनेकाे चाँहि हाेईन कि पार्टीका शिर्ष नेताहरूकाे राम्रो भनाईहरू र उनिहरूकाे राम्रो गराईकाे ईडिफिकेसन(Edification) र रिफरेन्स(Reference) लिएर बाेलाैं भनेकाे मात्र थिएँ।
(ग) भुँईकाे टिप्दा पाेल्टाकाे खस्ने नहाेस्
जनमुक्ति पार्टी ईतिहासमा जाेजससँग पार्टी एकीकरण गर्छ हाम्रो पार्टीका नेता कार्यकर्ता उल्टै एकीकरण गर्न आउने पार्टीसँग पाेइला जाने कार्य भइरह्याे । यस्तो हुनु दुर्भाग्य हाे । भुँईकाे टिप्छु भन्दा पाेल्टाकाे खसे जस्तो भईरह्याे । सुका टिप्छु भन्दा माेहाेर खसे जस्तै भईरह्याे । अब एकीकरण गर्न आउनेहरूसँग जनमुक्ति विचारधारा माथि बहस गरि साँच्चिकै चित्त बुझे एकीकरण गर्नुपर्छ । नत्र जनमुक्ति पार्टीमा पढेलेखा र बुझेका काेहि छैन भनेर कुनै पार्टीले जनमुक्ति पार्टी र यसका नेता कार्यकर्तालाई हेपेर(Underestimate) एकीकरण गर्न आए भने एकीकरण गर्ने हाेईन । बरू विचारमा छ्याङ्ग हुन नसके छ्याङ्ग हुन काेसिस गर्ने । र समय लाग्ने भए माेर्चाबन्दि र गठबन्धन गर्न सकिन्छ ।
(घ) झिनामसिना कुरामा नअल्झाैं
धर्मशास्त्र फेर्न सक्दैनौं । भगवान बुद्धकी आमा मायादेवि नै हाे । भगवान बुद्धकी आमा मधुमाया राना भनेर धर्मशास्त्र सच्याउन मिल्दैन । किनकि भगवान बुद्धकी आमा मायादेवी बाहेक अरू हुन सक्दैन । मधुमाया राना त पूर्ण बहादुर रानाकी आमा हुन् । रामायणमा सिताकाे लाेग्ने राम नै हाे । सिताकाे लाेग्ने हनुमान भन्ने छुट कसैलाई छैन । देशकाे संविधान परिवर्तन हुन्छ । नेपालकाे संविधान सातसात पटक फेरिसकेकाे छ । नाथे पार्टीकाे विधान तपाईँ हामीले महाधिवेशनबाट फेर्न सकिन्छ । अब पार्टीले राम्रो नियम भएको विधाान बनाउँ र लागू गराैं । अब वास्तविक जातीय समानुपातिक सिद्धान्त कम्तीमा पार्टीको केन्द्रीय समिति चयन गर्दादेखि नै लागू गराैं ।
अब किर्तेफिर्ते जेजे गरेकाे छ साे महाधिवेशनबाट सच्याउँ भनेकाे हाे ।अब त अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन आयाेगकाे ईजालसलाई दिएकाेले अन्तिम निर्णय ईजालसले गर्ने छ ।
(राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल जनमुक्ति पार्टी बिचकाे द्वन्द्वका लेखक राष्ट्रिय जनमुक्ति पार्टी गण्डकी प्रदेशको सचिब हुन )।