दैनिक बुद्ध पूजा गर्ने तरिका

Read Time:10 Minute, 10 Second

श्यामलाल चित्रकार

परिचय

पूजा शब्द क्रिया धातु ‘पुज’ बाट आएको हो । नमस्कार गर्नु, ढोग्नु, सम्मान गर्नु, आदर गौरव राख्नु, सेवा सत्कार गर्नु आदि कार्यलाई पूजाको रूपमा बुझ्न सकिन्छ । बुद्धमूर्ति, बोधिवृक्ष, चैत्य, स्तुप वा बुद्धको अस्थिधातु अगाडि वा मनमनै तिनीहरूलाई सम्झेर विहार, घर वा अन्य स्थानमा उपरोक्त कार्यहरू गर्नुलाई बुद्ध पूजा भनिन्छ । भगवान् बुद्धले मंगल सूत्रमा भन्नुभएको छ, पूजा च पूजनेय्यानं एतं मंगल मुत्तमं अर्थात् पूजा गर्न योग्य व्यक्तिलाई पूजा गर्दा मंगल, राम्रो र शुभ हुन्छ । यो निर्विवाद सत्य कुरालाई बुझेर अनुसरण गरेमा स्वयंले नै अनुभव गर्न सकिन्छ । गुरु र बाबुआमा, जेष्ठ, वृद्ध वा ठुलो ओहदामा बस्ने कल्याणकारी इष्टमित्रलाई मान सम्मान गर्दै सेवा गरेमा उत्तम र मंगल हुन्छ ।

बुद्ध

प्राणी मात्रलाई अति करुणा राखि कल्पौं कल्पसम्म दश पारमिता, दश उपपारमिता र दश परमत्थ पारमिता पूर्ण गर्दा अनेक दुःख कष्ट झेली समस्त दुःखलाई अन्त गर्ने उपाय बोधिज्ञान लाभ गर्नु भई बोधिसत्त्व सिद्धार्थ कुमार ईसापूर्व ५२८ मा बुद्ध हुनुभयो । असंख्य देवमनुष्यहरूलाई भगवान् बुद्धले धर्म उपदेश दिएर उद्धार गर्नुभयो । आजसम्म त्यो धर्म उपदेश हामीसामु छ । त्यस्तो अनुपम धर्म उपदेशहरूलाई अलिकति मात्र पनि लागू गरेमा अहिलेको अहिलै नै सुख शान्तिको अनुभव गर्न सकिन्छ । त्यस्तो अतुलनीय भगवान बुद्धप्रति सम्पूर्ण मानव जगत नतमस्तक छन् । धेरै देशहरूमा भगवान बुद्धलाई आ–आफ्नो तरिकाले पूजा गर्ने गरिन्छ । कुनै पनि व्यक्तिले डर, त्रास वा लोभलालचमा परेर यदि कसैलाई मान सम्मान वा पूजा गर्दछ भने त्यो शुद्ध पूजा हुँदैन । भगवान् बुद्धले कुनै पनि प्रकारको अनिष्ट र बिघ्नबाधा नपरोस् भन्नका लागि केही पाउने इच्छाले भाकल गरेर पूजा गर्नुको कुनै अर्थ नहुने बताउनु भएको छ । भगवान् बुद्धलाई शुद्ध श्रद्धाभाव र प्रशन्न चित्तले आफ्नो अनुकूल समय मिलाएर पूजा गर्न सकिन्छ । पूर्ण श्रद्धा र विश्वासका साथ शीलमा रहेर पूजा गर्नु मात्र वास्तविक पूजा हो ।

पूजा गर्ने तरिका

भगवान् बुद्धले उपदेश गर्नुभएको ३८ वटा मंगलहरु मध्ये उपरोक्त मंगल तेस्रो मंगल हो । संसारमा पूजा गर्न योग्य व्यक्तिहरुमध्ये भगवान् बुद्ध जत्तिको श्रेष्ठ र उत्तम व्यक्ति अरू छैन । संसारमा सबैले उहाँ सम्यक् सम्बुद्धलाई अतुलनीय व्यक्तित्वको रुपमा मान्दै आएका छन् । भगवान् बुद्धले सिकाउनु भएको धर्म भक्तिमार्ग होइन, ज्ञानमार्ग हो । सम्पूर्ण दुःखलाई नास गरी निर्वाणसम्म पुग्न सक्ने धर्म उपदेश दिने शास्ता ईसापूर्व ४८३ मा महापरिनिर्वाण भएपछि उहाँ तथागत नभए पनि धर्म र विनयलाई शास्ता मान्नु भन्ने भगवानको अन्तिम वचन महापरिनिर्वाण सूत्रमा उल्लेख भएको पाईन्छ । बुद्धलाई कसरी पूजा गर्ने ? भन्ने सन्दर्भमा बुद्ध पूजाविधिमा उल्लेख भएको पाईन्छ । बुद्ध पूजाविधिको पुस्तकमा बुद्धलाई पूजा गर्दा आमिष पूजा र पटिपत्ति पूजा दुई प्रकारले पूजा गर्नुपर्छ भनेर स्पष्ट गरिएको छ ।

पानी, धुप, बत्ति, खाद्य पदार्थ, फूल, फलफूल आदि चढाई आमिष पूजा गर्नुको साथै इमाय धम्मानु धम्म पटिपत्तिया बुद्धं पूजेमि अर्थात् धर्मानुकूल आचरण गरी बुद्धलाई पूजा गर्दछु भनी पटिपत्ति पूजा गर्नुपर्नेमा जोड दिइएको पाईन्छ । आफ्नो आचरण राम्रो गर्नु र चित्त शुद्ध गर्नु नै सबैभन्दा राम्रो बुद्ध पूजा हो, तापनि घरमा, विहार, चैत्य वा अन्य जुनसुकै स्थानमा धार्मिक वातावरण ल्याउन र श्रद्धा उत्पन गर्न बुद्धमूर्ति, धूप, वत्ति, फूल, फलफूल, झण्डा, अन्य श्रृंगार सामाग्री इत्यादि आमिष पूजा पनि आवश्यक हुँदोरहेछ । नेपालको थेरवादी बुद्ध विहारहरूमा प्रचलित बुद्ध पूजाविधिको बारेमा केही प्रकाश पार्नु सान्दर्भिक हुने ठानेको छु ।

१) ढोग्नु

(क) हातका औँला सिधा पारी दुई हात जोडेर शीरदेखि मुखसम्म लैजाने र छातीसम्म झारी टाउको निहुराई काय, वाक र मनले कुकर्म नगर्ने प्रण गर्दै बुद्ध, धर्म र संघ (त्रिरत्न) लाई तीनपटक वन्दना गर्ने ।

(ख) घुँडाले टेकी दुई हात जोडेर छाती अगाडि राख्ने र टाउकोले भुईमा छुवाउन ठाउँ पुग्ने गरी हातहरू भुईमा राख्ने तथा टाउको निहुराएर भुईमा छुवाउने । बुद्ध,धर्म र संघ (त्रिरत्न) लाई सम्झी दुई हात, दुई खुट्टा र टाउको गरी पाँचवटा अंगले तीनपटक वन्दना गर्नुलाई पंचाङ्ग दण्डवत भनिन्छ ।

आफूभित्र रहेको दोषपूर्ण अभिमानलाई नास गर्नका लागि त्यसरी ढोग्ने गरिन्छ ।

२) पूजा सामाग्रीहरू चढाउनु

अन्य पूजाहरूमा जस्तै लामो सूची बमोजिम पूजा सामाग्रीहरू बुद्ध पूजा गर्दा आवश्यक छैन । चार महाभूत, पंचइन्द्रिय, अनित्य स्वभाव, भवसंसार आदि सम्झाउन प्रतीकको रुपमा केही सामाग्रीहरू जस्तैः पाँच वा सात वटा पानीको कचौरा, बत्ति, फूलहरू, धूप, केही खाद्य वस्तुहरू राख्ने प्रचलन छ ।

(३) पाठ पढ्नु

विहारमा वा पूजा गर्ने स्थानमा भिक्षु वा भिक्षुणी भएमा ‘नमो तस्स भगवतो अरहतो सम्मासम्बद्धुस्स’ तीनपटक वाचन गरी सकेपछि त्रिरत्न शरणमा जाने र पञ्चशील ग्रहण गर्ने गरिन्छ । बुद्ध, धर्म र संघका गुणहरूलाई वाचन गरी जीवनभर शरणमा जाने प्रतिज्ञा गरिन्छ । त्यसपछि बुद्धमूर्ति अगाडि राखिएका पूजा सामाग्रीहरू पनि वाचन गरी आमिष पूजा गरेपछि पटिपत्ति पूजाका गाथाहरु वाचन गरिन्छ । ती सबै प्रचलित बुद्ध पूजापछि विहार अनुसार आ–आफ्नै तरिकाले दान पारमिता गाथा, त्रिरत्न शरण, भजन, मैत्री सूत्र, हेतु पच्चय, ३२ कोठ्ठास, कुनै कुनै परित्राण सूत्र पाठ पढ्ने पनि गरिन्छ । तर, बुद्ध पूजा गर्दा पढिने पाठहरू देवी देवताको स्तूति गान जस्तो भने होईन । ती बुद्ध पूजा विधिमा अनित्य, अनात्मा, दुःख, आश्रव क्षय गरी चित्त शुद्ध गर्ने दार्शनिक तथा आचरण राम्रो गर्ने व्यवहारिक ज्ञानहरूले युक्त छ । तर बुद्ध पूजा गर्दा पढिने पाठहरु पालि भाषामा भएकाले बुद्ध पूजा गर्ने सबै उपासक उपासिकाहरूले बुझेका हुँंदैनन् । ति पाठहरूको अर्थहरू बुझाउनेमा जोड दिनुपर्ने देखिन्छ ।

उपसंहार

दैनिक वा विशेष दिनहरूमा बुद्ध पूजा गर्नु र ध्यान बस्नु धेरै फलदायी छ र हुन्छ । आफ्ना पुर्खाहरूले गर्दै आएको नगरेमा पाप लाग्छ भनेर नित्य कर्म सम्झेर अन्ध विश्वासको भरमा बुद्ध पूजा नबुझिकन गर्दा र भनिएको कुरा अनुसरण नगर्दा केही राम्रो फल प्राप्त हुँदैन । बोधि भनेको नै बुझेको अर्थ भएकोले जुनसुके कार्य गर्दा बुझेर गर्दा उत्तम हुन्छ ।

प्रस्तुत लेखलाई सम्यक् सन्देशको आगामी अंकमा समाविष्ट गरिनेछ ।

लेखक : सम्यक् सन्देशका सल्लाहकार, बौद्ध अध्येता एवं दाता र बुद्ध पूजा सम्बन्धी कलम चलाउँनु हुन्छ ।

(लेखककाे फेशबुक सम्यक् सन्देश बाट साभार गरिएकाे) – राज्यसत्ता

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %