गुल्मी, ४ कात्तिक
काठमाडौँमा रहेको एक सहकारी संस्थाबाट १३ लाखभन्दा बढी रकम ठगी गरी फरार भएका गुल्मी जिल्ला तम्घास गाविस निवासी वसन्तकुमार श्रेष्ठलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीलाई उक्त संस्थाले पत्रमार्फत आग्रह गरेको छ ।
काठमाडौँस्थित ठमेलमा रहेको संयुक्त नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बजार प्रवद्र्धन सहायक पदमा कार्यरत श्रेष्ठले संस्थाका सदस्यहरूको बचत खाताबाट भुक्तानी पूर्जामा किर्ते हस्ताक्षर गरी संस्थामा जम्मा गर्न सदस्यले दिएको करिब रु १३ लाख ८४ हजार १२२ ठगी गरी फरार रहेको उक्त सहकारी संस्थाले बताएको छ ।
रकम लिई फरार बनेपछि श्रेष्ठ दम्पत्तिको खोजी गरी पक्राउ गर्न उक्त संस्थाले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई पत्र मार्फत उक्त आग्रह गरेको हो ।
पत्रमा असोज ३ गतेदेखि नै श्रेष्ठ फरार रहेको उल्लेख गरिएको छ । पत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोजतलासका लागि जिल्ला प्रहरी कार्यलय गुल्मीलाई आदेश दिएको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले जानकारी दिएका छन्.
रासस