फागुन २ गते प्रथम सहिद दिवस

Read Time:14 Minute, 42 Second

शिवलाल थापा गुरुछान मगर

सर्वप्रथम त प्रथम सहिद लखन थापा मगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्न चाहन्छु !
पर्सि फागुन २ गते प्रथम सहिद दिवस कसरी मनाउने,प्रथम सहिद दिवस भनेको केहो र किन मनाइन्छ भन्ने बारे विद्वानहरुबाट आएका केहि भ्रमहरुको बारेमा थोरै कुरा कोट्याउने जमर्को गरेको छु ।


सामान्यतया काल गतिले मृत्यु भएका व्यक्तिहरुलाइ सहिद मानिदैन । जसले राष्ट्र,राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय एकीकरण, स्वतन्त्रता र लोकतन्त्रको लागि आफ्नो ज्यानको प्रवाह नगरी स्वतन्त्रता र स्वाभिमानको लागि वलिदान दिने व्यक्तिलाई नै सहिद भनिन्छ । एउटै उद्देश्यको लागि धेरै व्यक्तिले ज्यान दिएको हुन सक्छ तर सबभन्दा अगाडि जसले देशको लागि वलिदान दियो त्यो नै प्रथम सहिद हो । राम्रो काममा ज्यान दिनेलाई सहिद भनिन्छ । सहिद भन्ना साथ उ अजम्बर हुन्छ, कहिल्यै मर्दैन । राणा विरोधी आन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति लखन थापा मगर भएकोले ऊनी नेपालका प्रथम सहिद हुन । लोकतन्त्र प्राप्तिको लागि निरङ्कुश राणा शासन विरुद्ध लड्दा लड्दै सहादत प्राप्त गर्ने सहिद प्रति सम्मान गर्न आवश्यक भएकोले नेपाल मगर संघको पहलमा नेपाल सरकारलाई घच्घच्याउने काम गर्यो र फलस्वरूप २०५६ सालमा लखन थापा मगरलाई सहिद घोषणा गर्यो । वास्तवमा ऊनी सहिद मात्र होइनन्, प्रथम सहिद हुन । त्यसैले फेरि दोश्रो पटक लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस भन्ने माग राखेर सरकारलाई दवाव दिने कार्यहरू भए ।
नेपाल मगर संघको पाचौं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको बैठकले लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्नको लागी आधिकारिक दस्तावेज चाहियो भनेपछि नेपाल मगर संघका तत्कालीन महासचिव शिवलाल थापा मगरलाई २०५१ सालमा लखन थापा मगरको जीवनी लेख्ने जिम्मा दिएको हो ।
झण्डै डेढ दुई वर्षको खोज तथा अनुसन्धानबाट लखन थापा मगरको जीवनी लेख्ने काम सम्पन्न गरि २०५२ सालमा “ओझेलमा परेका मगरहरु” नामक पुस्तक प्रकाशित गरि नेपाल मगर संघलाई हस्तान्तरण गरेको हो । सो ऐतिहासिक पुस्तक प्रकाशित गरे बापत नेपाल मगर संघ, केन्द्रीय समितिले लेखक शिवलाल थापा गुरुछान मगरलाई “कृष्ण बहादुर आले मगर” नामक पुरस्कारबाट २०५७ सालमा सम्मानित गरेको थियोे । त्यही पुस्तकको आधारमा नेपालको प्रथम सहिद लखन थापा मगर हो भनेर नेपाल मगर संघ, केन्द्रीय समितिले निर्णय गर्‍यो । त्यसपछि संघ कै पहलमा लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भनी नेपाल सरकार समक्ष निवेदन दियो ।
२०७० सालको संविधान सभाबाट निर्वाचित सदस्यहरुले पनि संविधान सभामा लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्ने प्रस्ताव राखे । २०७० सालको फागुन महिनाको संविधान सभामा शुन्य समय लिएर शिवलाल थापा मगरले लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्ने प्रस्ताव राख्यो । तर कहिँ कतैबाट पनि केहि प्रतिक्रिया आएन । फेरि अर्को पटक २०७१ जेठ महिनामा पनि विशेष समय लिएर शिवलाल थापा मगरले व्यवस्थापिका- संसदमा लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्ने प्रस्तावको बारेमा आफ्नो कुरा राख्यो तर पनि कतैबाट प्रतिक्रिया आएन ।
न त सरकारको ध्यानाकर्षण हुन्छ न त माननीय सान्सदहरुलाइ बुझाउन सकिन्छ । केहि सीप नलागेपछि २०७१ असोज ३ गते लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्ने सार्वजनिक महत्वको प्रस्ताव संसद सचिवालयमा दर्ता गरायो । व्यवस्थापिका- संसदमा वहसको विषय बन्यो । ठीक त्यसको एकवर्षपछी २०७२ असोज ३ गते नेपाल सरकारले लखन थापा मगर प्रथम सहिद हुन भनेर घोषणा गर्यो । तर फागुन २ गते प्रथम सहिद दिवस भनेर सरकारले औपचारिक कार्यक्रम गरेको देखिदैन । प्रथम सहिद भनेको व्यक्ति विशेष वा समुदाय विशेषको मात्र हुदैन तर पनि सरकारले यसप्रति किन ध्यान नदिएको हो बुझ्नै सकिएन ।
पछिल्लो चरणमा आइपुग्दा केहि व्यक्तिहरुले लखन थापा मगर प्रथम सहिद होइनन त्यो भन्दा अगाडि राणाहरुले मारेको व्यक्ति तुले रोहनी हो त्यसैले तुले रोहनी नै नेपालका प्रथम सहिद हुन भनेको सुनियो । त्यति मात्र होईन, वर्तमान प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले पनि लखन थापा मगर प्रथम सहिद होइनन किनभने त्योभन्दा अगाडि बाकावीरलाइ राणाहरुले मारेका हुन त्यसैले बाकावीर नै नेपालका प्रथम सहिद हुन भन्न भ्याए । अघिल्लो सरकारले गरेको निर्णय पछिल्लो सरकारले वदर गर्दै जाने हो भने कसले कसको विश्वास गर्ने ?
यसरी लखन थापा मगर प्रथम सहिद होईनन भनेर चारैतिरबाट आक्रमण भैरहेको बेलामा आफ्नै समुदायभित्रका एकाध व्यक्तिहरुले लखन थापा मगरको जन्म मिति र मृत्यु मिति मिलेन, पहिला लेखिएको फागुन २ गते होइन, लखन थापालाई झुण्ड्याएको पुस ७ गते हो भनेर कपोलकल्पित भ्रमहरु शृजना गर्न खोजिएको देखियो । जन्म मिति, मृत्युु मिति, युद्ध लडेको मिति, ठाउँ र ऊनी सिपाही हो कि क्याप्टेन हुन भन्ने कुरा महत्वपूर्ण कुरा होइन त्यो भन्दा महत्त्वपूर्ण कुरा केहो भने देशको लागि, जनताको लागि, स्वाधीनताको लागि निरङ्कुश शासनको विरुद्धमा लडेर आफ्नो ज्यानको वलिदान दिने पहिलो व्यक्ति नै लखन थापा हुन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । उनले गरेको त्यो राजद्रोहलाइ निरङ्कुश शासन सत्ताका विरुद्ध जनपरिचालन गरिएको मुलुकको सबभन्दा पहिलो राजनीतिक आन्दोलन थियो भनेर हामीले मान्नुपर्ने हुन्छ । आजको सरोकारको विषय नै यही हो ।
मेरो आसय केहो भने कसैले पनि एकैपटकमा सबै कुरा लेख्न सकिदैन । खोज अनुसन्धान गर्दै थप्दै मिलाउदै जानुपर्छ तर भ्रम शृजना गरेर कपोलकल्पित कुराहरू लेख्नु राम्रो मानिदैन ।
सामाजिक संजाल मार्फत आफ्नो अभिव्यक्त बिचारले समाजलाई के असर पर्छ भन्ने कुरा तर्फ ध्यान दिनु राम्रो हुन्छ । एकले अर्काको बिचारलाइ सम्मान गर्नुपर्छ । साथी भाइहरुले लेखेको पढे । बिचार नै नगरी लखन थापा मगरलाई १९३३ फागुन २ गते होइन पुसको ७ गते झुण्ड्याइ मारेका हुन त्यसलाई सच्याउनु पर्छ भनेर लेखेका रहेछन र आधार केहो त भन्दा निम्न लिखित बुदाहरु हुन भनेर लेखेको पाइयो ।
(१) गोरखा कालिका मन्दिरमा दिवङ्गत लखन थापा मगरको स्मृतिमा १९३३ माघ शुदी ८ रोज ४ मा घण्टा चढाएको व्यहोरा सोही घण्टामा अंकित रहेको हुँदा सो मिति अगावै ऊनी मारिएकोमा शङ्का गर्ने ठाउँ छैन भनेर लेखेका रहेछन्-
१, सर्वप्रथम त गोरखा कालिका अगाडि झुण्ड्याएको घण्टामा लखन थापाको नाम उल्लेख गरिएको छैन केवल कालिकालाई प्रतिती गरि चढाएको घण्ट भनिएको छ त्यसैले प्रमाणित गर्न खोजिएको आधार मिलेन ।
२, हत्याको विषय र प्रसङ्ग केहि पनि उल्लेख छैन त्यसैले प्रमाणित हुन सक्दैन ।
३, पुस ७ गते भन्ने ठोस आधार पुष्टि गर्ने प्रमाण केही पनि नभएकोले प्रमाण पुग्दैन ।
(२) केहि इतिहासकार र वङ्शावली अनुसार लखन थापा पुसमा मारिएको उल्लेख छ भनेर लेखेका रहेछन्-
१, केहि इतिहासकार भनेका को हुन ? कुन पुस्तकको कति नम्बर पेजमा छ भन्ने उल्लेख नभएकोले यो पनि प्रमाणित हुदैन ।
२, वङ्शावली अनुसार भनेको कसको वङ्शावली हो ? यो पनि अनुमानको भरमा लेखेकोले प्रमाणित हुदैन ।
(३) यो भनाइ स्थानीय माझ पनि पाइन्छ भनेर लेखेका रहेछन्-
कुन गाउँ, कुन ठाउँका स्थानीय हुन भन्ने कुराको केहि पनि प्रमाण छैन त्यसैले यो पनि मिलेन ।
(४) विगत २०४८ पौष १२ गतेका दिनसम्म स्थानीय मानिसहरुले सहिदको सम्झनामा स्मृति दिवस मनाउदै आएको प्रमाणित छ भनेर लेखेका रहेछन-
१, लखन थापा मगर र जयसिङ चुमी राना मगरले बुङ्कोट, काहुले, भंगारमा दरबार बनाइ सकेपछि कम्पाउण्ड भित्र नै मन्दिर बनाएर मनकामना, गोरखा कालिका र गोरखनाथको मूर्ति स्थापना गरि पन्चवली दिएका थिए पछि स्थानीय गाउलेलाई पनि पन्चवली दिन लगाएक हुन त्यसैको निरन्तरता हो ।
२, लखन थापाको मृत्युुपछि मात्र पन्चवली दिन थालिएको होइन त्यसैले यो पनि प्रमाणित हुँदैन ।
३, पुसको पहिलो हप्ताको पन्चमी तिथि अनुसार पन्चवली दिएको हो पुस ७ गते होइन । पन्चमी तिथि त कहिले १ गते, कहिले २ या ३ गते वा ६/७ गते पनि पर्न सक्छ भने के आधारमा पुस ७ गते हुन्छ । यस्तो कपोलकल्पित कुरा लेखेर भ्रम छर्ने कार्यले समाजलाई धोका हुन्छ ।
५, स्मृति दिवस हरेक पुसको पहिलो पन्चमी तिथि पारेर स्थानीयले मनाउने गरेका छन भनेर लेखेका रहेछन्-
पुसको पहिलो पन्चमी तिथि पारेर स्थानीयले स्मृति दिवस मनाउनु ठीक हो । त्यो त स्मृति दिवस हो, जन्म जयन्ती मनाए जस्तो त हुँदैन । मिति होइन तिथि पारेर मनाएको स्मृति दिवस हो । पुस पहिलो हप्ताको पन्चमी तिथि भनेपछि कहिले १/२ गते पर्न सक्छ, कहिले ४/५ मा पर्न सक्छ भने कहिले ६/७ गते पर्न सक्छ । सधैं पुस ७ गते कसरी हुन्छ, यो पनि मन गडन्ते कुरा जस्तो देखियो ।

अब फागुन २ गते नै प्रथम सहिद दिवस किन मनाउने ?
१, नेपाल सरकारले प्रथम सहिद दिवस फागुन २ गते हो भनेर घोषणा गरिसकेकोले ।
२, नेपाल मगर संघले पनि प्रथम सहिद दिवस फागुन २ गते हो भनी निर्णय गरि सकिएकोले ।
३, प्रथम सहिद दिवस फागुन २ गते हो भनेर हरेक नेपालीको मन मस्तिष्क र जिब्रोमा झुण्डिसकेकोले ।
४, विद्यालय र महाविद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तकमा प्रथम सहिद दिवस फागुन २ गते भनेर पढाई शुरु भैसकेकोले ।
५, प्रथम सहिद दिवस फागुन २ गते भनेर प्रचलनमा आइ सकेकोले ।
६, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रथम सहिद लखन मगर हो र प्रथम सहिद दिवस फागुन २ गते हो भनेर परिचीत भैसकेकोले ।

सरकारले २०७२ असोज ३ गते लखन थापा मगरलाई प्रथम सहिद भनेर घोषणा त गर्‍यो तर प्रथम सहिद दिवस मान्ने कुरामा सरकारले कन्जुस्याइँ गरेको पाइन्छ । प्रथम सहिदले पाउनुपर्ने सम्मान राज्यले दिन सकिरहेको छैन । त्यतातिर सरकारको ध्यानाकर्षण गराउदै,
प्रथम सहिद लखन थापा मगरप्रति हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु ! नमन गर्न चाहन्छु !! सहिदहरु अमर रहुन !!!

प्रस्तुत लेख शिवलाल थापा गुरुछान मगरकाे फेसबुक वालबाट साभार गरिएको हाे । -पूर्ण बहादुर राना

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %