स्मार्ट सिटी कार्यान्वयन गराउन आफूहरू प्रतिबद्ध उपप्रधानमन्त्री पौडेल र सिंह 

Read Time:4 Minute, 9 Second

सन्जिब दुलाल 

भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । 

चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उहाँहरूका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्व सचिव मनि राम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल लगायत वडा अध्यक्षहरू तथा सरोकारवालाहरूले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको हो । 

चाँगुनारायण नगरपालिकालाई एक उच्च स्तरीय नगर बनाउनको लागि उहाँहरूले अवलोकन गर्नुभएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभएको छ । 

चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समय देखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा सहरी विकास मन्त्री स्वयम चाँगुनारायणको अवलोकनमा निस्कनु भएको हो । 

उहाँहरूले चाँगुनारायण नगरपालिकाका वडा नम्बर १ दुवाकोटबाट वडा नम्बर २ अनि वडा नम्बर ३ झौखेल र चार नम्बर वडाका चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गर्नुभएको थियो । 

चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडी बढाइने अर्थ तथा सहरी विकास मन्त्रीले बताउनुभएको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँका अनुसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोली सहित नगरपालिका क्षेत्रको अवलोकन भएको उहाँले जानकारी दिनुभयो । 

चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो । 

अर्थ तथा सहरी विकास मन्त्रीका साथमा उपत्यका विकास प्राधिकरणका पदाधिकारी तथा नगरका सरोकारवालाहरू बिचमा भएको उक्त अवलोकनबाट छिटो भन्दा छिटो स्मार्ट सिटी कार्यान्वयनको अवस्थामा आउनेमा आफू विस्वत भएको उहाँले बताउनुभयो । 

स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको उहाँले जानकारी दिनुभयो । 

मन्त्रीहरूका साथमा भएको उक्त अवलोकनबाट चाँगुनारायण बासीमा स्मार्ट सिटीको परिकल्पना पुरा हुने आशा जागेको छ । 

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %