कुकुर किन भुक्छाै तिमी?

-पूर्ण बहादुर राना(मेल्क्हाट माम्हिन्चाे)

किन भुक्छाै
कुकुर तिमी
भारि बाेक्ने
बाेरा बाेक्ने
फाेहाेर उठाउने
थाेत्राे लुगा लाउने
मान्छे देख्दा

किन भुक्छाै
कुकुर तिमी
बाईक र स्कुटिसँग
कतै तिमीलाई
बाईकहरूले
हानेर हाे कि?

तर
तिमी त
काेट र सुटमा
कार र पजेराेमा
हिंडेकाे मान्छे देख्दा
देखे पनि
नदेखे झैं गर्छाै?

कि तिमी कुकरले पनि
विभेद गरेकाे हाे
धनी र गरिब बिचमा?

कि तिमीले
रमाइलो मानेर
आफू भुकेसि
साथि पनि भुक्छ
भनेर हाे?

कि तिम्राे मालिककाे
सामान चाेर्ने
चाेर आयाे भनेर हाे?

कि फाेहाेरकाे थुप्राेमा
तिम्रो खाने कुरा
चाेर्याे भनेर हाे?

खै मैले त
कुरै बुझिन ।