त्रिलोक थापा मगर

(सन् १५५९)
आदिबासी भूमिपुत्र “मगरहरु” नेपालको मध्य पश्चिम भेगमा बसोबास गर्ने भोट बर्मेली भाषिक समुहको एउटा जाति वा जनजाति हुन । “मगरात प्रदेश” मगरहरुको आदि भूमि तथा बसोबास गर्ने थलो हो । प्राचीन तथा ऐतिहासिक प्रदेश हो । वास्तवमा मगरात राज्य मगरहरुको सामाजिक, साँस्कृतिक, परम्परा, रीतिथिती, सभ्यता तथा पहिचान संग जोडिएको पुन्य-पबित्र भूमि हो ।
प्राचीन समयमा मगर जनजातीको २२० वटा भन्दा पनि बढि स्वतन्त्र र स्वायत थुम, कबिला तथा स-साना राज्यहरु थिए । मध्य पश्चिम नेपालमा अवस्थित मगरहरुका थुम, कबिला र स-साना राज्यहरुका मुखिया, राजा वा कबिला प्रमुखहरुले बृहद एवं विशाल मगरात राज्य खडा गर्ने आ-आपसमा सहमति गरे । केही समय पछि छरिएर रहेका मगरहरुको थुम, कबिला तथा स-साना राज्यहरुलाई एकिकरण गरेर विशाल मगरात राज्य खडा गरे ।
वास्तवमा बिना कुनै रक्तपात, हिंसा, युद्ध तथा हत्याको २२० भन्दा पनि बढि स्वतन्त्र थुम, कबिला तथा स-साना राज्यहरुलाई आ-आपसको समझदारी सम्झौता तथा सहभागिताको आधारमा टेकेर वृहद मगरात राज्य नेपालको मध्य पश्चिम भूभागमा स्थापना गरे । भनिन्छ साझा-संघात्मक शासन प्रणालीको यस्तो अवधारणा छिमेकी र सार्क मुलुकहरुमा पनि बिकसित भएको थिएन । तर मगरहरुले त्यसै समयमा साझा संघात्मक शासनको अवधारणा आ-आपसी समझदारी एवं सहमतिमा विकसित गरेका थिए । किनभने आदीकाल देखि मगर समाजमा सामुहिकता, पारस्पारिक सहयोग र पर्म जस्ता सांस्कृतिक विशिष्टता रहेको पाईन्छ ।
शाहवंशीय राजा तथा मगर मुखिया र राजाहरुको राज्य एकिकरण अभियानको शैली तथा पद्धतिमा पनि धेरै अन्तर रहेको पाईन्छ । एकातिर द्वन्द र अर्को तिर सामञ्जस्यता थियो । मध्य पश्चिम नेपालमा मगरात र मगर राजाहरुको शासन व्यवस्था र शासन सत्ता शाहवंशीय राजाहरु भन्दा बढि समय र अवधि सम्म रहेको थियो भनेर पनि भनिन्छ ।
भौगोलिक, सामाजिक, सामाजिक, ऐतिहासिक एवं ऐतिहासिक आधारहरुमा मगर, मुखिया र राजाहरुले बारह तथा अठ्ठारह मगरात राज्यमा गठन गरेका थिए । माझकोट (गोरखा) बारह मगरात अन्र्तगतको अत्यन्त शक्तिशाली एवं महत्वपूर्ण राज्य थियो । जस्को अवसान सन् १५५९ मा भयो । सोही राज्यको अन्तिम राजा खड्का थरका मगर राजा मान सिंह खड्का मगर थिए । जसलाई केही ईतिहासकारहरुले अलोकप्रिय राजा भनेर लेखेका छन ।
अग्रिम लक्ष्यः
लमजुङ्ग राज्यका राजा यशोब्रम्ह शाहका माहिला छोरा राजकुमार द्रव्य शाहले लिङलिङ वा लिगलिग राज्य माथि आफ्नो शासन सत्ता कायम गरे । त्यसपछि उनि ज्यादै उत्साहित भए । उनको मनोबल र साहस पनि ज्यादै बढ्न गयो । अब उनको अग्रिम लक्ष्यमा मगरात प्रदेशको सबभन्दा महत्वपूर्ण राज्य माझकोट अर्थात गोरखा राज्य माथि बिजय प्राप्त गर्नु थियो । खड्का थरका मगर राजा मानसिंह खड्का मगरलाई हटाएर आफै माझकोट राज्यको राजगद्दीमा बस्नु थियो । हिमवतखण्डमा एउटा विशाल, एवं वृहत गोरखा साम्राज्यको निर्माण गर्नु गराउनु उन्को लक्ष्य थियो । गोरखा राज्यमा शाहबंशीय राजबंशको शासन व्यवस्था स्थापना गर्न चाहेका थिए ।
आक्रमणको तयारीः
यसै क्रममा राजकुमार द्रव्य शाहले माझकोट राज्य माथि भीषण एवं भयंकर आक्रमण गर्ने चाँजोबाजो मिलाउनु थाले । भए भरका आफ्नो सैनिक, लडाकु दस्ता, सहयोगी युवाहरुलाई जम्मा पारे । रागनीस भन्ने मगर राज्य माझकोटको सीमा संग जोडिएको थियो । युद्धका लागि आवश्यक पर्ने सामाग्रीहरु सो राज्यबाट माझकोट राज्यमा ओसार पसार गर्न पायक पर्दथियो । सो राज्यबाट माझकोट माथि आक्रमण गर्न पनि सजिलो थियो । अतः रागनीस राज्यको भूमिमा युद्धको सम्पूर्ण तयारी राजकुमार द्रव्य शाहले गर्न थाले ।
माझकोट राज्यमा प्रवेशः
सन १५५९ अगष्ट महिनामा राजकुमार द्रव्य शाह आफ्ना सेना, लडाकु दल तथा युवाहरुका साथ माझकोट राज्यमा प्रवेश गरे । माझकोटलाई चारै तर्फबाट घेरामा पारे । त्यसपछि माझकोट माथि भीषण एवं भयंकर हमला गरे । दुबै पक्षका बीच युद्ध हुन थाल्यो । राजकुमार द्रव्य शाहले ठानेका थिए केहि समयमा सम्पूर्ण किल्ला ध्वस्त हुनेछ । त्यसपछि राजा मानसिंह खडका मगरले आफै आफ्नो पराजय स्विकार गर्ने छन् ।
पन्ध्र दिन सम्म निरन्तर राजकुमार द्रव्य शाह, उन्का सैनिक, लडाकु दल तथा सहयोगी यूवाहरुले माझकोट राजदरवार माथि हमला गरे । तैपनि राजा मानसिंह खड्का मगर तथा उन्का सैनिकहरु अलिकति पनि विचलित भएनन् । राजकुमार द्रव्य शाहले राजा मानसिंह खड्का मगरलाई धेरै गलाउन प्रयास गरे तर उनि असफल भए । मानसिंह खड्कालाई हराउन धेरै प्रयास गरे तर उनि सफल भएनन् ।
वास्तवमा माझकोट राज्यका खड्का थरका मगर युवाहरु आ-आपसमा ज्यादै संगठित एवं एकजूट थिए । आफ्नो संरक्षक राजा तथा मुखिया प्रति पूर्ण रुपमा समर्पित थिए । बफादार थिए । राजा मानसिंह खड्का मगर आफै युद्धकलामा अनुभवी, निपुण तथा शक्तिशाली योद्धा थिए । खड्ग, तलवार चलाउनमा उनि सिद्धहस्त थिए । तसर्थ उनलाई र उन्को समुदायलाई “खड्गा” को पद्वी प्रदान गरिएको थियो । सो पद्वी पछि गएर “खड्का” थरमा परिवर्तन हुन गयो भनेर भनिन्छ । राजा मान सिंह खड्का विना हातहतियार शत्रुको आक्रमण र प्रहारलाई पनि छल्न सक्ने कलामा पनि निपुण थिए भनेर अनुमान गरिन्छ । त्यसै समयमा भारतका एकजना राजपुत राजा पनि ध्वनी सुनेर वाँण हाने कलामा दक्ष थिए ।
जनसमर्थन
कुनै पनि राजा वा फौज बिना प्रजाको सक्रिय सहयोग, सहायता तथा समर्थनको पन्द्र दिन सम्म एक्लै युद्ध लड्न सक्तैन । एक्लै आफ्नो राज्यको रक्षा एवं प्रतिरक्षा गर्न सक्तैन । वास्तवमा माझकोटको स्थानीय प्रजाले अन्तिम समय सम्म युद्धमा आफ्नो राजाको साथ दिएको अनुमान गर्न सकिन्छ । यसै कारणले गर्दा राजकुमार द्रब्य शाहले माझकोट माथि पन्ध्र दिन सम्म लगातार हमला गरेता पनि राजा मान सिंह खड्का मगरलाई कुनै हानी नोक्सानी पु¥याउन सकेनन् । बरु आफै पराजित भएर युद्ध स्थलबाट फर्किनु प¥यो भनेर भनिन्छ ।
अतः राजकुमार द्रव्य शाह ज्यादै निराश एवं हताश थिए । युद्धमा पहिलो पटकको हारले गर्दा उनि चिन्तित एवं बिचलित थिए । तर पन्ध्र दिने युद्धबाट राजकुमार द्रव्य शाहलाई धेरै रणनीतिक ज्ञान एवं व्यवहारिक अनुभव भयो । सिधै एवं सोझै हमला गरेर राजा मानसिंह खड्का मगर जस्तो शक्तिशालि योद्धालाई हराउन गाह्रो हुन्छ भन्ने आभास भयो ।
त्यसै समयमा अन्य ठाउँहरुबाट बसाई सरेर आएका खस र आर्य समुहका युवाहरुले राजकुमार द्रव्य शाहलाई उस्काउन थाले । जे जसरी भए पनि मानसिंह खड्का मगरलार्इृ माझकोट—गोरखा राज्यको राज्य सिहासनबाट हटाउनु पर्दछ भन्न थाले । सो सिंहासनमा क्षत्रिय ठकुरी राजवंशका राजकुमारलाई बसाल्नु पर्दछ भन्न थाले । रुढीवादी तत्कालीन समाजमा राजा संरक्षक वा मुखिया सके सम्म क्षेत्रिय ठकुरी राजबंशको हुनु पर्ने धारणा पनि व्यापक थियो ।
राजकुमार द्रव्य शाह पनि महत्वाकांक्षी राजकुमार थिए । उन्को गोरखाको राजा बन्ने तीब्र चाहना थियो । गोरखा राज्यमा शाहवंशीय ठकुरीहरुको राज्य सत्ता कायम गर्ने आन्तरिक इच्छा थियो । गुरु गोरखनाथ बाबाले पनि यिनीलाई “यस भेगको राजा हुनेछ” भन्ने वरदान सपनामा दिएका थिए ।
फलतः राजकुमार द्रव्य शाहले माझकोट—गोरखा राज्यमा दोश्रो पटक हमला गर्ने निधो गरे । तर यस पटक कुटनितिक चालबाजी तथा छलकपटबाट शक्तिशाली मगर राजा मानसिंह खड्का मगरलाई पराजित गर्ने रणनीति राजकुमार द्रव्य शाहले तयार गरे ।
दोश्रो पटकको आक्रमणः
माझकोट—गोरखा राज्य माथि आक्रमण गर्नु भन्दा पहिले राजा मानसिंह खड्का मगरलाई आत्म समर्पण गर्नका लागि राजकुमार द्रव्य शाहले सन्देश पठाए । सो प्रस्तावलाई राजा मानसिंह खड्का मगर तथा उनकासहयोगिहरुले ठाडै अस्विकार गरिदिए । त्यसपछि राजकुमार द्रव्य शाहले माझकोटका केही स्थानीय युवाहरु संग सम्पर्क स्थापित गरे । तिनिहरुलाई पद र पदवीको लोभ लालचमा पारेर आफ्नो पक्षमा मिलाउन उनि सफल भए । उनिहरुको सहयोगमा मध्य रातीको घनघोर अंध्यारोमा राजकुमार द्रव्य शाहले आफ्नो सैनिक, लडाकु दस्ता तथा खस आर्य समुहका युवाहरुका साथ गोप्य तरिकाले चुपचाप माझकोटको तल्लोकोटमा प्रवेश गरे । स्थानीय युवाहरुकोघरमा लुकेर बसे । केही सैनिकहरु बन जंगलमा लुक्न गए ।
किल्लाको घेराबन्दीः
केहि समय पछि सुराकीको गोप्य सूचनाको आधारमा मध्य रातीको घनघोर अंध्यारोमा राजकुमार द्रव्य शाहका सैनिक, लडाकु दस्ता तथा खस आर्य समुहका युवाहरुले माझकोट दरवारलाई चारै तर्फबाट घेराबन्दी गरे । त्यस समय राजा मानसिंह खड्का मगर आफ्नो शयन कक्षमा सुतिरहेका थिए । घोर निन्द्राको अवस्थामा थिए ।
राजकुमार द्रव्य शाहले युद्धको घोषणा पनि गरेका थिएन । आक्रमण गर्ने पुर्व सुचना पनि दिएका थिएन । घोर निन्द्राको अवस्थामा रहेका राजा मानसिंह खड्का माथि एक्कासी राजकुमार द्रव्य शाहले आफ्नो तरवारबाट हमला गरे । भनिन्छ अर्ध निन्द्रित अवस्थामा राजा मानसिंह खड्का मगरले आक्रमणको प्रत्याक्रमण गरे । शसक्त ढंगबाट प्रतिरोध गरे । राजकुमार द्रव्य शाहको तरवारको मारले गर्दा गोरखा राज दरवारको मूल ढोका निरको दलीनमा सानो चिनो बन्न गयो । सो चिनो आज पनि त्यहाँ देख्न सकिन्छ ।
राजकुमार द्रव्य शाह सशस्त्र तथा राजा मानसिंह खड्का मगर निःसशस्त्र थिए । तै पनि दुबै पक्षका बिचमा घमासान युद्ध भयो । धेरै बेर सम्म लडाई भयो तर एक्कासी राजा मानसिंह खडका मगर घाईते भए । भुईमा लडे उठ्न सकेनन् । अन्तमा त्यहि उन्को देहवसान भयोे । त्यसै रातीको बिहान पख मिरमिरे उज्यालोमा साईत अनुसार राजकुमार द्रव्य शाहलाई माझकोट राज्यको कटुवालले गोरखाको राजा भनेर विधिवत घोषणा ग¥यो । (बि.सं. १६०६ भाद्र २५ गते तदनुसार २४ अगष्ट सन १५५९)
शाहवंशीय शासनको स्थापनाः
सदियौं देखिको खड्का थरका मगर राजवंशको माझकोट राज्यबाट (सन १५५९ अगष्ट २४ दिनांकमा बि.सं. १६०६ भाद्र २५ गते ) अवसान भयो । त्यसै दिन देखि शाहवंशीय ठकुरी क्षेत्री शाही राजवंशको माझकोट—गोरखामा विधिवत शासन व्यवस्था स्थापना भयो । गोरखा राज्यको शुरुवात पनि त्यसै समय देखि शुरु भयो । राजा द्रव्य शाहले जम्मा ११ वर्ष सम्म गोरखामा राज्य गरे । सन १५५९-१७६८ गोरखा राज्य र १७६८-२००८ सम्म नेपाल अधिराज्यमा शाहवंशीय शासन थियो ।
मगरात राज्यको अवसान
पन्ध्र सोह्र शताब्दी भन्दा पहिले मगरात राज्यको “रिडी” गण्डकी नदी देखिको पुर्वको सम्पूर्ण भुमिलाई बाह्र मगरात तथा पश्चिम तिरको भूभागलाई “अठार मगरात” भने चलन थियो । आज पनि सो कायम छ । त्यस समयमा मगर जनजातीको बाह्र वटा राज्यहरु बाह्र मगरातमा थिए । त्यस्तै अठार वडा मगर राज्यहरु अठार मगरातमा थिए । पछि यी राज्यहरु छासमिस भयो । फलस्वरुप खस आर्य समुहहरुकोबाईसौं तथा चौबिसौं नामले स-साना राज्यहरुको उदय भयो ।
लिच्छवी शासन समाप्त भए पछि पच्छिम नेपालको अधिकांश भूभागहरुमा बाह्र तथा अठार मगरात राज्यहरुको शासन व्यबस्था थियो । त्यस समयमा मगरात राज्यमा स्वर्णिम युग थियो । कसैलाई दुःख, बिपती एवं कष्ट भयो भने सो को निवारणका लागि मगरात राज्यमा गएर आश्रय लिनु भन्ने उखान वरपरका गाउँघरहरुमा व्याप्त थियो । न्याय र इन्साफका लागि मगरात जानु भन्ने चलन पनि थियो । यस्तै उखान टुक्काहरुबाट प्रमाणित हुन्छ कि मगरात राज्यको शासन प्रणाली तथा राज्य व्यवस्था कल्याणकारी अवधारणामा आधारित थियो । नेपालको इतिहासमा मगरात राज्यको विविध पक्षहरुमा प्रायः विस्तृत विवरणहरु उल्लेख गरिएको पाइदैन । कारण नेपालको एकिकरण एवं बिस्तारको अभियानको हुरी बतासले मगरात राज्यको लिखित दस्तावेजहरु मेटाई दिए जस्तो छ अथवा जानीजानी मेटाईएको छ ।
माझकोटको मगर राजा मानसिंह खड्का मगरलाई छलकपटबाट उन्को हत्या गरियो । उन्को दरवारलाई ध्वंस्त पारियो । ऐतिहासिक प्रमाणहरुलाई नष्ट गरियो । उन्का नातागोतालाई लखेटियो । आफन्तहरुलाई क्रुरता पुर्वक हत्या गरियो । राजा मना सिंह खड्का मगरको कान्छी रानी गर्भवती थिइन । गर्भवती महिलाको हत्या गर्दा पाप लाग्छ भनेर उनलाई छाडिदियो । तसर्थ खड्का राजाको वंश विनाश हुनबाट जोगियो ।
माझकोटको तल्लोकोटमा लुकी बसेर दाह्रे गौडा हुदै माथील्लो माझकोटमा आक्रमण गर्ने राजकुमार द्रव्य शाहलाई १५ दिन सम्म राजा मानसिंह खड्काको विरुद्ध युद्ध गर्नु प¥यो । दोश्रो पटकको युद्धमा विश्वासघात तथा षडयन्त्रले मारिएका मानसिंह खड्का मगर मगरात राज्यका लोकप्रिय एवं जनप्रिय अन्तिम मगर राजा थिए ।
त्यसपछि गोरखा राज्यको विधिवत उदय भयो । यस्का साथै मगरहरुको मगरात राज्यहरुको अवसान हुन थाल्यो । केही समय पछि गोरखा राज्य — नेपाल एकिकरण र बिस्तारको अभियान शुरु भयो ।
एकीकरण अभियानको कथा
क) राजा द्रव्य शाहले स्थापित गरेको शाहवंशीय गोर्खा राज्यको उत्तराधिकारी पृथ्वीनारायण शाह २० वर्षको उमेरमा सन् १७४३ ई.अप्रिल ३ तारिकमा (चैत्र २५ गते) गोर्खा राज्यको राजगद्दीमा आरोहण गरे । गोर्खा राज्यको एकीकरणको अभियानको पहिलो चरण बडामहाराजा पृथ्वीनारायण शाहले शुरु गरेका थिए । केही लेखकहरूले यो गोर्खा राज्यको साम्राज्यवादी आन्तरिक औपनिवेशिक अभियान थियो भनेर भन्दछन् ।
ख) केही विद्वानहरूको तर्क अनुसार, पृथ्वीनारायण शाहले गोरखा राज्यको एकीकरण र बिस्तार गरेर विशाल नेपाल अधिराज्यको स्थापना गर्नमा सफल भए । यो भौगोलिक एकीकरण थियो । तर जनजाति, आदिवासी तथा भूमि पुत्रहरूको लोक संस्कृति, सामाजिक परम्परा तथा ऐतिहासिक विशेषतालाई एकीकरण गर्न सकेनन् । अर्थात उनीहरूको साँस्कृतिक, भाषिक, सामाजिक एंव ऐतिहासिक विशिष्टता माथि निरन्तर प्रहार भयो । हुनत राजा पृथ्वी नारायण शाहले “चार जातको फूलबारी” र “म मगरातको राजा” तथा “मगरलाई विचारीको पद” दिनु भनेर मगर भूमिपुत्रहरूलाई फुरुङ्ग पार्ने प्रयास गरे । जे होस्, आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह नै हुन भनेर ईतिहासको पानामा अंकित छ ।
ग) दोस्रो चरणको नेपाल एकीकरणको अभियानको संचालन राजा प्रताप शाह, राजेन्द्र लक्ष्मी तथा बहादुर शाहको पालामा भएको हो । यसै अभियानलाई अघि बढ़ाउन तेश्रो चरणमा राजा रण बहादुर शाहको पालामा प्रधानमन्त्री भीमसेन थापा द्वारा पहल गरिएको थियो । वास्तवमा बाइसी, चौबीसी तथा मगरात राज्यहरूमा गोर्खा राज्यले आफ्नो आधिपत्य कायम गरिसकेका थियो । त्यसपछि गोर्खा राज्यको पश्चिम सरहदको विस्तार गर्ने आदेश नायब बहादुर शाहले दिएका थिए । त्यसै बेलादेखि महाकाली नदी पार गरेर गोर्खा राज्यको पश्चिम सरहदको विस्तारको ऐतिहासिक कथा शुरु हुन्छ ।
साराँश
सन १५५९ अगष्ट २४ मा गोरखा एउटा सानो शाहवंशीय राज्य थियो । सन १८१५ डिसेम्बर २ दिनांक सम्म दक्षिण पुर्व एशियाली राष्ट्रहरुमा विशाल एवं बृहद गोरखा साम्राज्य हुन गयो । ईस्ट इन्डिया कम्पनी सरकार संग भएको सुगौली सन्धी (२ डिसेम्बर १८१५) पछि यस मुलुकले आधा भन्दा बढि आफ्नो भुमि गुमाउनु प¥यो । तर नेपाल अधिराज्यको राष्ट्रिय झण्डा कहिले पनि कसैको अगाडी कुनै पनि समयमा झुकेन । अर्थात यस मुलुकले कहिले पनि स्वतन्त्रता दिवस ९क्ष्लमभउभलमभलत म्बथ० मनाउदैन ।
(केही बुडापाका संगको वार्ताको आधारमा)
लेखक सामाजिक अभियन्ता हुन । ऐतिहासिक कथा लेखनमा अभिरुची राख्नुहुन्छ ।