यसपटकको दशै पनि सकिएकोछ । मनाउनेले त मनाए मनाए जसको चाड होइन उसले पनि निधार रगांएर यो पर्व मनाएकोछ । तर यस्ता पर्व मनाइनुअघि यसको पृष्ठभमी के हो भन्न कोहि जान्न चाहदैन । मगर समूदाय त त्यसमा झन सबैभन्दा पछाडि छ । अरुले जे भन्छ, लहैलहैमा दौडने ।
यसपालि त्यो झन बढी भएको महसुस भयो । वास्तवमा के हो दशै ? के यो हाम्रो चाड हो ? बहस हुन जरुरी छ ।
हुम सुनारी मगर
मैले जाने देखि मेरो परिवारमा दशैं मनाउदै आएको थियो । म सानो छदा दशैं आउन दुई महिना बाँकी हुँदा देखि नै अब यति दिन छ उती दिन छ भनेर दिन गनिन्थ्यो । किन की बर्ष दिनमा एक पटक आउने ‘महान चाड दशैं’मा मासु टन्न खान पाइने, नयाँ लुगा फेर्न पाइने साथै नाच गान पनि गर्न पाइने । पछि जब मैले स्कुल जीवन सकाएँ, मलाइ कता कति यो दशैं मनाउने बिषयमा हामी मगरहरुले कतै गल्ति गर्दै त छैनौ, हामी मगरहरुले दशैं मान्न नहुने त होईन जस्ता खुल्दुलीहरु मेरो मनमा पैदा हुन थाल्यो । प्रत्येक दशैंमा मेरो पिताज्युले दुर्गा भवानीको पुजाआजा गर्नु हुन्थ्यो, दुर्गा भवानीले हाम्रो रक्षा गरुन् भनेर । बिद्यालयमै खोइ कुन्नी याद आएन कुन कक्षामा त दशैं किन मनाइन्छ भन्ने पाठ नै पढियो । त्यो अहिले पनि मलाइ याद छ । दुर्गा देवी र महिसासुर भन्ने राक्षस सँगको लडाइमा दुर्गा देवीले आश्विन शुक्ल पक्षको अस्तमी तिथी परेको दिन मध्य रातमा महिसासुर भन्ने राक्षसको सत्यानास गरेको भएर त्यसको दुई दिन पछि अथवा दशमी तिथीको दिन दुर्गा देवीको बिजय प्राप्त भएकोले बिजयादशमी धुमधामले मनाइएको हो भनेर पढियो । त्यसैले प्रत्यक बर्ष आउने सोही तिथी मै नेपालीहरुले घरमा पालिएको जनावर जस्तै बोका, सुँगुर तथा राँगोलाई त्यहि महीसासुर सम्झि दुर्गा देवीलाई बली चढाइ हर्सोल्लास मनाइएको हो भन्ने बुझियो । तर उक्त पाठमा दुर्गा देवीले महिसासुरलाई नस्ट गर्नुको कारण चाँही खुलाइएको छैन । को थिए महिसासुर रु महिसासुरको सत्यानास गर्नु पर्ने किन आवश्यक पर्यो रु यी सबै कुराहरु हिन्दू धर्म शास्त्रमा लेखिएको हुनु पर्छ । दशैंको संक्षिप्त परिभाषा मै स्पस्ट लेखिएको र भनिएको छ की ‘हिन्दू धर्मालम्बीहरुको महान चाड दशैं’ भनेर ।
पछिल्लो शालाखाला दुई दशक अगाडि देखि मगर ईतिहासकार तथा केही मगर बिज्ञहरुले मगरहरुको धर्मको बारेमा स्पस्ट पार्नु भएको छ की हामी मगरहरु हिन्दू होइनौ भनेर । यो पनि दाबी गरिएको छ की भगवान बुद्ध पनि मगर कै सन्तान हुन भनेर । बुद्ध मगर हुन भन्ने कुराको कारण सहित स्पस्ट पार्नु भएको छ । जस्तैस् बुद्धको मावली रुपन्देहीको देवदह (जहा अहिले सम्म पनि त्यो ठाउँमा मगरहरुको बाहेक अरु जातिको बसोबास पाइदैन) बुद्ध जन्मिने बेलामा उनको आमा माइत आउँदै गर्दा तिलौराकोटमा बुद्धको जन्म हुनु (बच्चा जन्मिने बेलामा गर्भवती महिलालाई बच्चा जन्माउनको खातिर माइत पठाउने चलन उती बेला मगरमा प्रचलित थियो रे) र लुम्बिनीको तिलौराकोटको (बुद्ध जन्मेको ठाउँ) केही स्थानहरुमा अक्खा लिपिमा (मगर भाषाको लिपी र अक्षेर) लेखिएको शिलालेख भेटिएको प्रमाणको आधारमा बुद्ध मगर नै थिए भन्ने प्रमाणित गर्न खोजिएको छ ।
पछिल्लो समयमा नेपालमा मगर जातिहरु आबद्ध भएको संघ संस्थाहरुले त २०६८को जनगणनामा प्रत्यक मगरहरुलाई धर्ममा बौद्ध र भाषामा मगर लेखाउने अभियान र अनुगमन नै गर्ने सम्म पनि गरियो । त्यो धेरै नै राम्रो पक्ष थियो । तर हामी मगरहरु मध्य कै केही शिक्षित र बिज्ञ मगरहरुमा नै हामी सबै मगरहरु बौद्ध हौ भनेर यति सजिलै मान्ने र श्विकार्ने पक्षमा छन जस्तो मलाइ लाग्दैन । हामी मगरहरुमा धर्मको बिषयमा ठुलो बिबाद छ भन्ने मलाइ लाग्छ । यो धर्मको बिषयलाई लिएर कतै पछि हामी मगर मगर बीचमा बिभाजन हुने त होईन भन्ने एउटा डर र खतरा पनि छ । केही मगरहरु ब्यक्तिगत स्वार्थ र फाइदाका लागि बाहुनबाद र हिन्दुबाद देखि टाढा रहन सकेका छैनन् । हिजोको यथास्थितीबादमा फसेका छन् । ब्यक्तिगत स्वार्थ र फाइदाका लागि आफूलाई परिवर्तन गर्न चाहेका छैनन् । आफूले राम्रो सँग बुझेर पनि राज्य संचालकहरुलाई खुशि पार्नका लागि बुझ पचाइ रहेका छन् । बाहुनबाद र हिन्दुबाद बिना मुलुक चल्न सक्दैनन भन्ने झुटको खेती गरिरहेका छन् । हिन्दू धर्मलाई लत्त्याऔ भने मुलुक बिभाजन हुन सक्छ भनि भ्रम पैदा गर्दै छन् । त्यसैले यी हाम्रा यावत कमी कमजोरीहरुलाई हामीले बेलैमा सुधारेनौ भने भोलिका दिनहरुमा हामी मगर मगर बीचमा द्वन्द हुन सक्ने खतरा मैले देखेको छु ।
हामी मगरहरु वास्तव मै के हौ ? कहाँबाट आयौं ? हाम्रो धर्म के हो ? भनि हामी मगरहरुले राम्रो सँग अध्ययन गर्नु र सोच्नु पर्ने जरुरी छ । मानव जातिको परम्परा र सँस्कृति त्यो मानव जातिले मान्ने धर्म सँग अन्तर सम्बन्ध हुन्छ । जस्तै हाम्रै देशमा बसोबास गर्ने बाहुनहरुको परम्परा र सँस्कृति हिन्दू धर्ममा आधारित हुन्छ । मुस्लिम जातिहरुको परम्परा र सँस्कृति ईस्लाम धर्ममा आधारित हुन्छ । पश्क्षिमा मुलुकहरुमा बसोबास गर्ने मानिसहरुको परम्परा र सँस्कृति क्रिस्चिअन धर्ममा आधारित हुन्छ । अब हामी सबै मगरहरुले छातीमा हात राखेर भनौ की के हाम्रो परम्परा र सँस्कृति हिन्दू धर्म सँग मिल्छ ? वास्तबिक मगरहरुको परम्परा र सँस्कृति त्यो मगरहरुलाई थाहा होला जो साच्ची कै मगर समाजमा जन्मे र हुर्केका छन् । कतिपय मगरहरुमा यो पनि देखिएको र भेतिएको छ की त्यो मगर समाजमा विवाह, ब्रतबन्ध तथा कर्मकाण्ड भयो भने बाहुन पण्डितलाई बोलाएर त्यहा हिन्दुबाद लादिन्छ । म आफै एउटा बिल्कुलै मगर समाजमा जन्मेर हुर्केको ब्यक्ति भएको नाताले के भन्न चाहन्छु भने तपाईं साच्ची कै मगर परम्परा र सँस्कृतिको बारेमा जान्न चाहनु हुन्छ भने तपाईं पाल्पा, स्याङ्जा, तनहुँमा बसोबास गर्ने मगरहरुको समाजमा जानुस् र हेर्नुस् त्यहा बसोबास गर्ने मगरहरुको परम्परा र सँस्कृति । त्यहा आफ्नै मौलिक्ता, परम्परा र सँस्कृति भेट्नु हुनेछ जुन हिन्दुबादसँग कत्ति पनि मेल खादैन । त्यो वास्तबिक मगर समाजको व्यबहार अथवा परम्परा र सँस्कृतिलाई हेरे पछि बल्ल हामी मगरहरुले भन्न सक्ने छौ की हामी वास्तव मै के रहेछौ त ?
मुलुकको केही ठाउँहरुमा बसोबास गर्ने सुकिला मुकिला मगरहरुले त के सम्म गर्न भ्याएका छन् भने विवाहको समारोहमा ठ्याक्कै बाहुनबाद र हिन्दुबादको नक्कल गरिन्छ । यसमा हामी यो बुझ्नु पर्छ की त्यो त हाम्रो सँस्कृति होईन एउटा बिकृति हो । त्यसले हाम्रो रिती रिवाज, परम्परा र सँस्कृति अथवा धर्म माथि प्रहार गरेको छ । मुलुक एउटा धर्म निरपक्षता र ब्यक्तिगत स्वतन्त्रता भएको मुलुक हो, जसलाई जुन धर्म मन पर्छ त्यो अप्नाउन पाइने भो तर यसो भन्दैमा आफ्नै रिती रिवाज, परम्परा र सँस्कृति अथवा धर्मलाई निमोठ्न त भएन नी । त्यसैले हामी सबै मगरहरु के कुरामा स्पस्ट हुनु पर्यो भने हाम्रो आफ्नै मौलिकता, रिती रिवाज, परम्परा र सँस्कृति छ र त्यो जुन धर्मसँग मेल खान्छ, नजिक छ अथवा अन्तर सम्बन्ध छ सोही अनुसार धर्म अपनाउनु पर्छ भन्ने मेरो मान्यता छ ।
लेखक नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाको अध्यक्ष हुन् ।