तेस्रो लिङ्गीहरूको प्रश्न : हर्मोन थेरापी र सेक्सचेन्ज नगर्ने तेस्रो लिङ्गी होइनन्? 

Read Time:8 Minute, 47 Second

काठमाडौं , हर्मोन थेरापी र सेक्सचेन्जबाट हुने रिस्क एनालाइसिस गरेर तथा आफ्नो आर्थिक हैसियत कमजोर भएका कारण कतिपय व्यक्तिले आफ्नो शरीरमा यसको उपयोग नगर्न पनि सक्छन्। यसको मतलब यो होइन कि उहाँ तेस्रो लिङ्गी नै होइन। उहाँको मन आत्मादेखि त उहाँ तेस्रो लिङ्गी नै हुन्छ नि होइन र?

हर्मोन थेरापी र सेक्सचेन्जका लागि दबाब दिनेहरूलाई तेस्रो लिङ्गी हनि महर्जनले सामाजिक सञ्जालमा प्रश्न गरेका हुन्। हर्मोन थेरापी लिएर ब्रेष्ट बढाएको वा घटाएको नै हुनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्रका केही व्यक्तिको सोच रहेको उनले उल्लेख गरेका छन्।

अनि आफ्नो यौनाङ्ग सेक्सचेन्ज सर्जरी गरेर परिवर्तन गरेकै हुनुपर्ने तथा हरबखत महिलाकै पहिरन गरेको हुनुपर्ने भन्ने सोच रहेको छ,महर्जनले लेखेका छन्,यस्तो सोच यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र पनि कतिपय व्यक्तिको रहेको पाइएको छ। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको हक अधिकारका लागि काठमाडौं कीर्तिपुरमा स्थापना भएको समर्पण सभ्य समाज नेपालका सचिव हुन महर्जन। तेस्रो लिङ्गी पथ प्रदर्शक समेत रहेका महर्जनले कुनै व्यक्तिको लैङ्गिक पहिचानमा हर्मोन थेरापी र सेक्सचेन्ज गर्न दबाब दिनेहरूलाई खबरदारी गरेका हुन्। 

केही व्यक्तिहरू र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा स्थापना भएका पुराना संस्थाहरूले हर्मोन थेरापी र यौनाङ्ग परिवर्तन गर्न दबाब दिएपछि समुदायका व्यक्तिहरूले गलत अभियान तत्काल रोक्न माग समेत गरेका छन्।  

विशेषगरी तेस्रो लिङ्गी पहिचानका लागि हर्मोन थेरापी र शल्यक्रिया गर्न दबाब दिएपछि समुदायका व्यक्तिहरूले आपत्ति जनाएका छन्। पहिलेदेखि चल्दै आएको शब्द हो तेस्रो लिङ्गी। ट्रान्स वुमन भनेको विदेशबाट आयातित शब्द हो,समुदायका सदस्यहरूले भने,संस्थाका केही व्यक्ति मोटाउन गलत अभियान चलाइएको छ, यो गलत हो। 

यौनिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान पाउन हर्मोन थेरापी र यौनाङ्ग परिवर्तन गर्नु पर्दैन। तर, समुदायको अधिकारका लागि खुलेका संस्थाको नेतृत्वले हर्मोन थेरापी र सेक्सचेन्ज गर्न दबाब दिएकाले बोल्न बाध्य भएको उनीहरूले बताए। 

समर्पण सभ्य समाजले गरेको पोस्टमा बाबुधुमी राईले कुनै व्यक्तिको लैङ्गिक पहिचान, उसको वस्त्र, उसको हर्मोन, सर्जरीमा सीमितता नहुने प्रतिक्रिया जनाएका छन्। राईले लेखेका छन्,कुनै व्यक्तिको लैङ्गिक पहिचान, उसको वस्त्र र उसको हर्मोन, सर्जरीमा सीमितता रहेको हुँदैन। त्यो गलत सोच हो।

हर्मोन थेरापीका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को अनुदानमा तेस्रो लिङ्गीको अस्तित्व मेटाउन लाग्नेहरूलाई कानुनी कारबाही गर्न समेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भनेका छन्।  

दाताको इन्ट्रेस्ट अनुसार नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) र मितिनी नेपालले तेस्रो लिङ्गीको अस्तित्व मेटाउन हर्मोन थेरापी र सेक्सचेन्जको धन्दा चलाएको समुदायका सदस्यले बताए। 

व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पर्ने र महिला वा पुरुष नै बन्न दबाब दिने ब्लु डायमन्ड सोसाइटी र मितिनी नेपालको अभियानको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले विरोध गर्दै आएको छ। तर, यी संस्थाहरूले समुदायको आवाजलाई दबाएर आफ्नो व्यक्तिगत स्वार्थका लागि दाताको अनुदान लिएर गलत अभियान चलाउन छाडेका छैनन्। 

यी संस्थासँगको समन्वयनमा नेपाल परिवार नियोजन सङ्घले हर्मोन थेरापी क्लिनिक नै सञ्चालन गरेको छ। हर्मोन थेरापी गराउन उक्साउने र क्लिनिकमा पठाउने काम यी संस्थाको नेतृत्वले गर्दै आएको पाइएको छ। 

हर्मोन थेरापी र सेक्सचेन्जको प्रविधि नआउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रो लिङ्गी, दुईलिंगी, अन्तरलिंगी) समुदायको पहिचान थियो, र अहिले पनि छ। समुदायको अधिकारका नाममा खुलेका नील हिरा समाज, क्रुजएड्स नेपाल, एफएसजीएमएन, मितिनी नेपालसहितका संस्थाको नेतृत्वले हर्मोन थेरापी र यौनाङ्ग परिवर्तन नगर्ने तेस्रो लिङ्गी होइनन् भन्ने भाष्य सिर्जना गरेको भन्दै समुदायका सदस्यले आपत्ति जनाएका छन्।  

समर्पणको पोस्टमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई सरकारले कार्डको व्यवस्था गर्नुपर्ने माग पनि भएको छ। आफू तेस्रो लिङ्गी हो भनेर नर्मल पुरुषहरूले पनि तेस्रो लिङ्गीको भेसभुसा गर्दिदा तेस्रो लिङ्गीहरूलाई धेरै गारो भइरहेको उनले उल्लेख गरेका छन्। 

परिवारले नबुझिँदा, समाजले नबुझिँदा दुख हुन्छ। तेस्रो लिङ्गीहरूले धेरै दुःख खप्न सहन बाध्य भएका छन्,उनले लेखेका छन्,तेस्रो लिङ्गी हो भने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा सदस्य कार्ड लिनै पर्ने जस्ता कुराको सरकारले व्यवस्था गर्नु पर्छ। भोलिका दिनहरूमा सजिलो बाटो आउने छ।

समुदाय सुधारका अभियन्ता देवेन्द्रबहादुर खत्रीले हर्मोन थेरापी र सेक्सचेन्ज गरेर पहिचान खोज्नु गलत भएको लेखेका छन्। प्राकृतिक रूपमा लिएर आएको शरीर अनि आत्मालाई म यो हो भनेर पहिचान गर्न हर्मोन खानु र शल्यक्रिया नै गर्नु पर्छ भन्ने मान्यता गलत हो किन कि आदिम कालमा जब मानिसको उत्पत्ति भएको थियो त्यो बेलामा शल्यक्रिया र हर्मोन भन्ने चिज नै थिएन तर अस्तित्व त थियो नि,उनले लेखेका छन्, हो परिवर्तनको लागि गर्न राम्रो होला तर केही व्यक्ति फाइदामा पुग्नुलाई कसरी परिवर्तन भन्न सकिन्छ? नतिजा हामी सबैको बिचमा छ। 

नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल जोडी मध्येका एक सुरेन्द्र पाण्डेले तेस्रो लिङ्गीको अस्तित्व मेटाउन केही भू-माफियाहरु लागेको बताएका छन्। समर्पण सभ्य समाज नेपालको फेसबुकको पोस्टमा उनले लेखेका छन्,तेस्रो लिङ्गीको अस्तित्व मेटाउँदै छन् केही भू-माफियाहरूले सबै तेस्रो लिङ्गी साथीहरू एकजुट भएर यसरी नै आवाज उठाउनुपर्छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %