काठमाडौँ, २ कात्तिक
राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री माधवकुमार नेपाल र प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज राष्ट्रपति भवन शीतल निवासमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्न आग्रह गरेकाछन् ।
छलफलमा सहभागी एमाले अध्यक्ष झलनाथ खनालका अनुसार, तीन दलबीच आपसमा ठूला मतभेद भए पनि देश र जनताप्रति जिम्मेवारी महसुस गर्दै बाँकी साढे सात महिनाभित्रै राष्ट्रिय सहमतिका साथ कार्य अघि बढाउने निष्कर्ष निकालेकाछन् । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले अध्यक्ष खनालले शान्ति प्रक्रिया, संविधान लेखन, सरकार निर्माण र बजेट निर्माणका साथै देशको वर्तमान परिस्थिति बारेमा छलफल भएको उल्लेख गरे । केही नीतिगत असहमति भए पनि राजनीतिक सहमतिका साथ बजेट ल्याउने बारेमा छलफल भएको अध्यक्ष खनालले बताए ।
सो भेटवार्तामा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले शान्ति, संविधान, बजेट निर्माण र राजनीतिक निकासका लागि सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकाथिए ।
रासस