नेपालको मिथिला चित्रकार रन्जु यादवको डेनमार्कमा सम्पन्न एकल चित्रकला प्रदर्शनीसम्बन्धी समाचार

Read Time:3 Minute, 2 Second

काठमाडौं- युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ ।

कोपनहेगनको मुटुमा रहेको रेस्टुरेन्ट नेपाली भान्छाको ग्यालेरीमा बैशाख २९ र ३० गते दुई दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।

डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा.रामस्वार्थ रायले बैशाख २९ गते शनिबार एक कार्यक्रमका बीच प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको थियो ।
प्रदर्शनीमा चित्रकार यादवका ३२ वटा मिथिला चित्र राखिएका थिए । ती चित्रहरु नेपालको समाज र संस्कृति झल्किने खालका थिए ।

यसअघि चित्रकार यादवले कोपनहेगनमै नेपाली र भारतीय बालबालिकालाई शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएकी थिइन् । एनआरएनए डेनमार्कले आयोजना गरेको चित्रकला कार्यशालामा करिब पचास जना प्रशिक्षार्थी सहभागी थिए । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा आएका अभिभावकहरुले पनि चित्रकार यादवसँग मिथिला चित्र कोर्न सिकेका थिए।

नेपालको प्रतिष्ठित राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित चित्रकार यादव ३३ दिवसीय युरोप कला यात्राको क्रममा अहिले डेनमार्कमा छिन् । डेनमार्कपछि उनी स्वीडेनको भ्रमणमा जाने बताइएको छ । त्यसपछि उनको गन्तव्य फिनल्याण्ड हुने छ । त्यहाँ एनआरएनए फिनल्याण्डको आयोजनामा चित्रकार यादवको अर्को अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जेठ ६ गते सम्पन्न हुनेछ ।

यसअघि चित्रकार यादवको अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्र्यान्कफर्ट सहरमा बैशाख ८ गते आयोजना गरिएको थियो । नेपाली समाज जर्मनीको आमन्त्रण र आयोजनामा चित्रकार यादवका मिथिला चित्रहरुलाई एक दिवसीय प्रदर्शनीमा राखिएको थियो । बैशाख ६ गते युरोप यात्रामा निस्किएकी चित्रकार यादव जेठ ८ गते नेपाल फर्किने कार्यक्रम छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %