काठमाडौँ ३१ असोज
दशैं अवसरमा आज बिहान १०ः४३ बजेको शुभसाइतमा राष्ट्रपति डा रामवरण यादवले मूलपुरोहित रघुनाथ अर्यालबाट शितल निवासमा जमरा र देवी भगवतीको टीका प्रसाद ग्रहण गरे । राष्ट्रपति डा यादवले आफ्ना परिवारका सदस्यलाई टीका लगाई आशीर्वाद थापे ।
आजै राष्ट्रपति डा यादवले प्रधानमन्त्री, संवैधानिक अङ्गका पदाधिकारी, मन्त्रीहरू, सरकारका उच्चपदस्थ कर्मचारीलाई पनि टीका जमरा लगाइदिए । राष्ट्रपति डा यादवले शीतल निवासमा पुगेका सर्वसाधारणलाई पनि टीका लगाइदिए ।
यसैगरी, प्रधानमन्त्री माधवकुमार नेपालले टीकाको साइतमा सरकारी निवास बालुवाटारमा आफ्ना ९५ वर्षीय बुबा मङ्गलप्रसाद उपाध्यायबाट टीका र आशीर्वाद थापे । सोही अवसरमा प्रधानमन्त्री नेपालले आफ्ना पारिवारिक सदस्य र शुभेच्छुकहरूलाई टीका लगाइदिए ।
आज देशभर आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद लगाउने क्रम जारी छ ।नेपाल पञ्चाङ्ग निर्याणक समितिले आज बिहान १०ः४३ बजेका लागि टीकाको उत्तम साइत तय गरेको भए पनि दिनभर नै टीकाको साइत हुने जनाएको छ । टाढाटाढाबाट आउने आफन्तजनहरूले भने कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने परम्परा छ । घटस्थापनादेखि पूजा आराधना गरी घरघरमा उमारिएको जमरा र दूर्गा भगवतीको प्रसाद तथा दही अक्षताले मुछिएको टीका लगाएर विजयादशमी मनाइन्छ ।
आज राजधानीका सडकमा टीका लगाएर आफन्तकोमा जाने–आउनेहरूको लर्काे देखिन्छ । सडकमा देखिएका अधिकांशको निधारमा रातो अक्षताको टीका र कान तथा कपालमा पहेँलो जमरा लगाइएको देखिन्छ । उपत्यका बाहिरबाट काठमाडौँमा बसोबास गर्नेमध्ये धेरैजसो मानिसहरू गाउँघरमा गएकाले यहाँको यातायात र आवागमन भने खुकुलो देखिएको छ ।
रासस