काठमाडौँ ३० असोज
सभामुख सुवास नेम्बाङ क्यानडा सरकार र त्यहाँको बार एसोसिएसनको निमन्त्रणामा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो त्यसतर्फ लागे । क्यानडा भ्रमणमा रहँदा सभामुख नेम्बाङसहितको प्रतिनिधिमण्डलले त्यहाँका राजनीतिक दलका नेता र सङ्घीय मामिलासम्बन्धी विज्ञहरूसँग सङ्घीयताका विषयमा छलफल हुनेछ ।
सभामुख नेम्बाङले त्यहाँका सभामुख र कानुनमन्त्रीसँग दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी गर्नुका साथै सङ्घीयताको बारेमा छलफल कार्यक्रम रहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ ।
सो प्रतिनिधिमण्डलमा नेपाली काँग्रेसका सभासद् पुष्पा भुषाल, एनेकपा माओवादीका सभासद् एकराज भण्डारी, नेकपा (एमाले)का सभासद् अग्नीप्रसाद खरेल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सभासद् रामजनम चौधरी तथा व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराई छन् ।
क्यानडा सरकारले कात्तिक ११ गतेसम्मको भ्रमणका लागि निम्तो दिएको भए पनि कात्तिक ९ गते व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको चयनको लागि निर्वाचनको कार्यक्रम तय भएकाले सभामुख नेम्बाङ र महासचिव भट्टराई भ्रमण छोट्याएर कात्तिक ८ गते नै स्वदेश फर्कनेछन् ।
रासस