नेपाली साम्प्रदायिक संचारमाध्यम र बेलायती मीडिया स्क्यान्डलको पाठ

Read Time:15 Minute, 16 Second

विश्वको संचार जगतलाई स्तब्ध पार्ने गरि आएको मीडिया टाइकुन रुपर्ट मुर्डकको बेलायती पत्रिका न्यूज अफ द वल्र्डको फोन ह्याकिङ ( अनधिकृत रुपमा वार्तालाप सुन्ने, म्यासेज चोर्ने ) भित्रको दुर्दनिय कथाका आपराधिक पाटाहरु अझ उदाँगिने क्रम रोकिएकोछैन । राजनीतिज्ञ, प्रहरी प्रशासन, संचारकर्मीहरुको अपवित्र गठबन्धनबाट कथित ब्यावसायिक पत्रकारिताको नाममा  कुन विध्न आपराधिक कार्य हुँदोरहेछ भन्ने दृष्टान्ट यसले सबैको सामु राखिदिएकोछ । पत्रकारिताको मर्यादा, संहिता र मानवता ब्यापारिक स्वार्थमा कसरी विलिन हुँदो रहेछ भन्ने पनि पाठ यस प्रकरणले सिकाएकोछ । यस अपराधमा कस्ता कस्ता ‘महान’ ब्यक्तिहरु संलग्न थिए भन्ने कुराको नमूना तल दिइएका सूचीले पनि प्रष्ट बोल्छ ।
डा. चजिन्द्र राना मगर

सनसनीखेज खबर दिएर १६८ बर्ष लामो( बेलायतको पहिलो राष्ट्रिय समाचारपत्र ) समय देखि राज गरिरहेको न्यूज अफ द वल्र्डका पूर्व प्रमुख संवाददाता नेविल थुर्लाेकलाई ५ अप्रिल २०११ मा पक्राउ गरियो । उनलाई अनधिकृत तरिकाले अर्काको मोवाईलबाट भ्वाईस म्यासेज चोरी गरेको आरोप लगाइएकोथियो । प्रहरीको निगरानीमा रहेका उनी अहिले अनुसन्धानको घेरामा छन् । आफ्ना नीजि अनुसन्धाताहरुलाई अनधिकृत रुपमा मोवाईल म्यासेज चोर्न लगाउने त्यसै पत्रिकाका पूर्व सहायक सम्पादक इयान एड्मन्सनलाई पनि अप्रिल २०११ मै पक्राउ गरिएकोथियो । अहिले उनलाई पनि नेविललाई जस्तै सेप्टेम्बर २०११ सम्मका लागि धरौटीमा रिहा गरिएकोछ । न्यूज वल्र्डमा राजपरिवार सम्बन्धि समाचार हेर्ने ‘राजपरिवार सम्पादक’ वि गोद्ययानलाई प्रहरी अधिकृतलाई घुस दिई राजपरिवारको गोप्य सूचना किनि समाचार बनाएको आरोपमा एन्डीसंगै समातिएकाथिए । उनी २००७ मा पनि यहि प्रकरणमा पक्राउ परि ४ महिना जेल परेकाथिए । पत्रिकाका नीजि अनुसन्धाता ग्लेन मुक्लैरले फोन ह्याकिङमा आफ्नो संलग्नता रहेको स्विकारेपछि पक्राउ गरिएकोथियो । उनले अपहरणमा परेकि र पछि हत्या गरिएकी स्कूले बालिका मिल्ली डोब्लर र उनका परिवारको वार्तालाप पनि चोरेको स्विकारेकाथिए ।
सन २००४– २००६ सम्म न्यूज वल्र्डमै समाचार सम्पादकको भूमिका निर्वाह गरेका जेम्स बेथेरुम पनि यहि आरोपमै १४ अप्रिलका दिन पक्राउ परे । त्यसैगरि न्यूज वल्र्ड लगायत विभिन्न संचारमाध्यममा काम गरेका स्वतन्त्र पत्रकार तेरेनिया तेरेस पनि यहि प्रकरणमा मुछिएकाछन् । २७ जुलाईमा पक्रा परेकी प्रेस एसोसियटकि लाउरा एल्स्तन मात्र एउटा यस्तो पत्रकार हुन् जसले न्यूज वल्र्डमा काम गरेकि थिइनन्् ।
न्यूज वल्र्डका पूर्व सम्पादक ( सन २००३–२००७) तथा प्रधानमन्त्री डेडिड क्यामरुनका प्रवक्ता एन्डी कल्सन ८ जुलाईमा यहि अभियोगमा पक्राउ परि हाल धरौतीमा छुटेकाछन् । एन्डीकै पालामा सह– सम्पादक रहि काम गरेका नील वालिसलाई १४ जुलाईमा पक्राउ गरिएकोथियो ।
यस प्रकरणको तारले विश्व हल्लाएपछि पत्रिका संचालन गर्ने समाचार संस्था न्यूज इन्टरनेशनलकी चीफ एक्सिक्यूटिव विका ब्रुकले उक्त पदबाट राजिनामा दिइन । तर उनलाई भोलिपल्टै अर्थात १७ जुलाईका दिन पक्राउ गरियो । उनी अपहरण पश्चात हत्या गरिएकी स्कूले बालिकाको फोन ह्याकिङको बेला न्यूज अफ द वल्र्डमा सम्पादकको पदमा आसिन थिइन । पछिल्लो समय २२ बर्ष देखि न्यूज वल्र्डमा काम गर्दे आइरहेका ७१ बर्षिय स्तुवात कुट्नर पक्राउ परेकाछन् । उनी उक्त पत्रिकाका प्रवन्ध सम्पादक हुन् । यसरी पक्राउ पर्ने कतिपयका नाम गोप्य राखिएको र तिनलाई धरौतीमा छाडिएको बताइएकोछ । यस प्रकरणमा थुप्रैलाई अनुसन्धानको घेरामा राखिएको पनि जनाइएकोछ ।
यसरी समाचार उत्पादनका नाममा जघन्य अपराध गरेका मीडियाकर्मीहरुको धरपकड अझै रोकिएकोछैन । तर पत्रिकाका मालिक तथा न्यूज इन्टरन्यास्नलका मालिक मुर्डक भने यस प्रकरणमा आफु पूर्णतया अनभिज्ञ रहेको स्पष्टिकरण दिइरहेकाछन् । माफी मागिरहेकाछन् । इन्टरन्याशनलका अध्यक्ष तथा उनका छोरा जेम्स मुर्डक पनि बाबुकै बोलीमा लोली मिलाइरहेकाछन् ।

झन रहस्यमय
न्यूज वल्र्डकि पूर्व संवाददाता सेअर होरको रहस्यमय निधनले यो प्रकरणलाई झन रहस्यमय बनाएकोछ । उनले फोन वार्तालाप चोरी गरेको स्विकारेका मात्र थिएनन् त्यसरी चोरिएका वार्तालाप न्यूयोर्क टाईम्सलाई समेत बेचेको रहस्य उद्घाटित गरेकाथिए । त्यस कार्यमा सम्पादक एन्डी कल्सनले उक्साएको उनले बयान दिएकाथिए । उनले विविसीमा समेत न्यूज इंटरनेशनलमा ब्यापक भ्रष्टाचार रहेको र गैरकानुनी कामका लागि दवाव दिइने गरेको खुलासा गरेकाथिए । पत्रिकाबाट ड्रग्स र अत्यधिक रक्सी सेवनको आरोपमा निकालिएका उनीबाट धेरै कुरा बाहिर आउने अपेक्षा राखिएकोथियो । तर सुनुवाई हुने केहि दिन अगाडि नै उनको रहस्यमय मृत्यु भयो । यद्यपि प्रहरीले उनको निधनमा कसैको संलग्नता रहेको बताएकोछ । तर उनका छिमेकीका अनुसार उनी प्रहरी र सरकार देखि केहि दिन देखि भयभित देखिन्थे ।
यस प्रकरणमा प्रहरीका उच्च अधिकृत र नेताहरुको पनि संलग्नता देखिएकोले उनका छिमेकीका भनाई अपत्यारिला लाग्दैनन् । जस्तै, बेलायत प्रहरीको सबैभन्दा उच्च पद मानिने पुलिस कमिस्नर सर पौल स्टेफन्सले यहि काण्डका कारण राजिनामा दिनुपर्यो । न्यूज वल्र्डका सह– सम्पादक नेल वालेससंगको अप्राकृतिक ब्यापारिक लेनदेनका कारण आलोचना खेप्नु परेपछि उनले राजिनामा दिनुपरेकोथियो । असिस्टेन्ट कमिस्नर जोन एत्स पनि यहि प्रकरणका कारण राजिनामा दिन बाध्य भए । उनीहरु माथि अनुसन्धान चलिरहेकोछ । त्यसैगरि प्रहरी कम्यूनिकेशन चीफ, पूर्व कमिस्नर आदि पनि भ्रष्टाचार र यो प्रकरणमा अनुसन्धानमा भएको लापर्वाहीका कारण अनुसन्धानको घेरामा परेकाछन् ।

कोहि बाँकी रहेनन्
न्यूज वल्र्डको फोन चोरी प्रकरणको फन्दाभित्र पर्नेहरुको सूची लामो छ । उक्त फोन पीडित मध्ये एक पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन स्वंय हुन् । उनको कान्छो छोरालाई सिस्टिक फाईब्रोसिस नामक गम्भीर रोग लागेकोछ भन्ने गोप्य सूचना न्यूज वल्र्डकै अर्काे प्रकाशन द सन ( सन २००६) ले प्रकाशित गरिदिएपछि उनी अदालतको शरण पुगेकाथिए । अस्पताल श्रोतबाट कागजात प्राप्त गरि उक्त सूचना दिइएपनि पत्रिकाले  त्यहि रोग लागेका विरामीबाट सूचना प्राप्त गरेको तर्क गरेकोथियो । द सनले नै जोन यतेस नामक महिलाको हत्यामा पूर्व अग्रेंजी शिक्षक क्रिस जेफ्रिस संलग्न रहेको कपोकल्पित समाचार प्रकाशित गरेकोथियो । तर अदालतले उनलाई निर्दाेष सावित गरेपछि पत्रिकालाई १८ हजार पाउण्ड जरिवाना गरिएकोथियो । त्यसमा डेलिमिरर, डेली एक्सप्रेस, डेली स्टार लगायत पत्रिका पनि फसेंकाथिए ।
उता रुपर्टकै समाचार संजाल न्यूज कर्पाेरेशन माथि अमेरिकामा पनि एफवीआईले अनुसन्धान शुरु गरेकोछ । ११ सेप्टेम्बरमा भएको आक्रमणका पीडितहरुका फोन वार्तालाप चोरिएको हुनसक्ने आशंकामा यस्तो छानविन शुरु गरिएको हो । उक्त घट्नामा मारिएकाहरुको विवरण समाचार संस्थाहरुले प्रहरीलाई पैसा दिई प्राप्त गरेको आरोप लाग्दै आएकोछ ।
यसरी राज्यको चौथो अंग दावी गरिने संचारमाध्यमबाटै यस्तो दुर्दान्त अपराध गरिन्छ भने अरुबाट के आश राख्न सकिन्छ र भन्ने मनोविज्ञान यस प्रकरणले बढाएकोछ । यसले मीडिया उद्योगको विश्वस्नियता घटाएकोछ । ब्यावसायिक पत्रकारिताको नाममा मीडियाको आडमा खेलिने खेलहरुको पर्दाफास गरेकोले यसबाट विश्वका संचारकर्मीहरुले पाठ सिक्न जरुरी छ । साथै यसले सर्वसाधारणलाई पनि सतर्क गराउन सहयोग पुगेकोछ । तसर्थ नकारात्मक घट्ना भएतापनि यसलाई गतिलो शिक्षाको रुपमा लिन सकिन्छ । बेलायत जस्तो विश्वको छठौ र यूरोपियन युनियनमा दोश्रो ठूलो अर्थब्यवस्था भएको देश जहाँ साक्षरतादर ९९ प्रतिशत छ । जहाँ धनी र गरिवको बीच हुने भेदभाव कम छ, समान अधिकार बढी सुरक्षित छ , मा त शक्तिको आड लिई यो विध्न भ्रष्टाचार र चलखेल हुन्छ भने हाम्रो जस्तो ५५.२ प्रतिशत साक्षर भएको, गरिवी र चेतना न्यून भएको देशमा के विजोग होला भनि सहजै अनुमान लगाउन सकिन्छ ।
त्यो भन्दा पनि महत्वपूर्ण पाठ हाम्रो सन्दर्भमा अर्काे छ । बेलायत जस्तो सजग र सचेतना यो विध्न माथि उचाईमा पुगेको देशमा त मीडियाको दुरुपयोग गरेर कसरी विपक्षलाई दवाउदा रहेछन् भन्ने यसले देखाएकोछ । केहि सिमित ब्यक्तिको हातमा रहेको मीडियाको यो दुरुपयोग नेपालमा झन कति होला अनुमान गर्न गाहे छैन । किन टाठाबाठा जातिहरु पत्रकार बन्न मरिहत्ते गर्दा रहेछन् , किन पत्रिका, एफएम, टिभीमा लगानी गर्दारहेछन् भन्ने कुरा अब बुझ्न सकिन्छ । दलित, आदिवासी, जनजाति, मधेसी, पिछडावर्गका समूदायले उठाउने अधिकारको माग र आन्दोलनलाई दवाउन एउटा निश्चित जातिको नियन्त्रणमा रहेको कथित मूलधारका संचारगृह कसरी अरिगांल झैं खनिन्छन् भन्ने पीडा हामीले भोग्दै आइरहेकै हौं । आखिर मीडिया स्वतन्त्र भन्ने त नहुँदो रहेछ ? ब्यावसायिकताको नाममा मीडिया मालिकको ब्यापार प्रवद्र्धन गर्ने नेपाली पत्रकारलाई उनीहरुको जातीय स्वार्थ बचाउन मालिकहरुले पनि संचारमाध्यमरुपी मन्च उपलब्ध गराईदिइरहेको अहिलेको यथार्थ हो । ति दुबैको स्वार्थ मिलेकोछ तर पीडितहरु सधैं यस्ता ध्रुर्तहरुको चंगुलमा फँस्दै आइरहेकाछन् । बेलायती मिडिया स्क्यान्डलले यो कुराको खुलस्त अझै राम्ररी गरिदिएकोछ । यो हाम्रो लागि पनि आँखा खोलिदिने पाठ भएकोछ । त्यसैले यसबाट सिक्दै यो प्रकरणले दिएको पाठलाई यसरी सुत्रबद्ध गर्न सकिन्छ – १, प्रख्यात मीडिया आलोचक नेम चोस्कीले भने जस्तो नेपाली मीडिया परम्परागत जातीय सत्ताका रक्षाकवच मात्र हुन् । ति प्रचार गरिए जस्तो परिवर्तनका वाहक होइनन् । २, ती उत्पिडित मैत्री न हिंजो थिए न आज छन् न भोलि टड्कारो परिवर्तन हुने प्रक्रियामा छन् । ३, उनीहरु पछाडि परेकाहरु सचेत र संगठित हुँदै गएपछि झन संगठित हुँदै गैरहेकाछन् । ४, त्यसैले आफ्नो कुरा राख्न पनि हामी आफै कलम बोकेर यो नितान्त तर शक्तिशाली  दिमागले लडिने यो मैदानमा प्रविष्ट नगरि हुँदैन । ५, आफ्ना सन्ततिलाई मसल हैन मगजको शक्तिको बारेमा बुझाएर यसमा संलग्न गराउन जरुरी छ । ६, सत्ता सिवाय अरु सबै भ्रम हुन् भन्ने उक्ति जनजातिहरुका लागि गुरुमन्त्र बन्न र बनाउन जरुरी छ ।

यस सम्बन्धि अन्य लेखरचना-

 

बेलायती मिडीया स्क्यान्डल – ‘के पत्रकार मालिकका पट्टा बाँधिएका कुकुर हुन् ?’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %