न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे इजलासले रविविरुद्धको दरपिठ भएको रिट दर्ता गर्न आदेश

राज्यसत्ता संवाददाता
जेष्ठ ९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आदेश दिएको छ ।

गएको वैशाख २५ गते सर्वोच्च अदालतमा साे रिट लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको थियो । रिट पुनः दर्ताका लागि युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा निवेदन दिएका थिए । साे निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।

सफलले भने, “तिलप्रसाद श्रीमान्को इजलासबाट यसअघि वैशाख २८ मा प्रशासनबाट दरपिठ भएको रिट दर्ताका लागि आदेश भएको छ,” पौडेलले भने, “लिखित आदेश आइसकेको छैन । ३ बजेभित्र लिखित आदेश आएमा आजै रिट दर्ता हुन्छ ।”

युवराज सफलले लामिछाने सांसद हुन अझै अयोग्य रहेको रिटमा जिकिर गरेका छन् । सफलका अनुसार लामिछानेले पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी नागरिकता लिएको र त्यही रिट नपुगि लिएकाे नागरिकताकै आधारमा उपनिर्वाचनबाट निर्वाचित भएको उनको जिकिर छ ।

सर्वाेच्च अदालतले यसअघि रबि लामिछानेले अमेरिकाको नागरिकता नत्यागि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको कारण देखाउँदै गत माघ १३ गते लामिछानेको सांसद पद खारेज गरेको थियो । साे रिट दर्ता युवराज सफलले गराएका थिए र फेरि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट पनि युवराज पाैडेल सफललेनै लगेका हुन् ।