
वैशाख २६, २०८०
झापाको दमकमा पहिचान पक्षधरले प्रदर्शन गरेकाे राँके जुलुसमा प्रदर्शनकारि र प्रहरीबीच मंगलबार साँझ झडप भएको छ । झडप हुँदा १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिचान पक्षधरले कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै मंगलबार साँझ दमकमा राँके जुलुस निकालेका थिए । राँके जुलुस गणतन्त्र चोकमा पुगेपछि प्रहरीले राँको निभाउन खोज्दा झडप भएको थियो । जुलुसमा सहभागीहरूले प्रहरीमाथि राँको, इँटा र ढुंगा प्रहार गरेका थिए ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर जुलुसमा सहभागी गजेन्द्र फागो र अर्का एक जना गरी दुई जना घाइते भएका छन्
जिल्ला प्रहरी कार्यालय दमककाे अनुसार आन्दोलनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय दमकका डीएसपीसहित १० जना प्रहरी घाइते भएको जानकारी दिएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र १९ सेल अश्रुग्यास प्रहार गरेको थियो । घाइते भएकाहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।