चैत्र ११, २०७९
राज्यसत्ता संवाददाता
कपिलवस्तु बुङ्चीमा आयोजित जिल्लास्तरीय प्रशिक्षणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने काम गरेकाे आरोप लगाएका छन् ।
केपी ओलिले भने ‘पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा । त्यसले त रुखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरुले त देश नै निमिट्यान्न पार्न उद्यत छन्,’ ।
ओलि आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको दाबी गरे । तर वर्तमान सरकारले देश र जनताका लागि काम नगरेको आरोप लगाए । ‘विदेशीका लागि, विदेशीको इसारामा काम गर्ने होइन । देश र जनताका लागि काम गर्नुपर्छ । तर, अहिले त्यस्तो भइराखेको छैन,’ ओलीले भने ।
गत निर्वाचन एमालेका लागि अस्तित्वको लडाइँ रहेको तर, लोकप्रिय मत हासिल गरेर पहिलो पार्टी भएको दाबी ओलिले गरेका छन् । अब आगामी निर्वाचनमा एमालेले तीन तहकै सरकारमा ५१ प्रतिशत मत हासिल गर्नका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाएको उनको भनाइ थियो ।
यतिबेला एमालेका शीर्ष नेताहरू ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत देशका विभिन्न जिल्लाहरूमा पुगेर कार्यकर्तालाई सम्बोधन गरिरहेका छन् ।