श्री एयरलाइन्सकाे जहाजमा आगाेकाे संकेत देखेपछि सबै जहाज ग्राउन्डेड

Read Time:2 Minute, 41 Second

फाल्गुन २५, २०७९

काठमाडौंबाट भैरहवाको लागि उडेकाे श्री एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगो लागेको देखापरेपछि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई ग्राउन्डेड गरिदिएको छ ।

श्री एयरलाइन्सले बिहीबार ७८ जना यात्रु बोकेर काठमाडौंबाट भैरहवा जाँदै गर्दा श्रीको विमानको दायाँ इन्जिनमा आगलागी भएको संकेत ककपिटमा देखिएकाे थियाे । साे आगाेकाे संकेत देखेपछि उक्त विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । साे आगाेकाे संकेत भएको विमान काठमाडौंमा अवतरण गराइ सकेपछि प्राविधिकहरुको निगरानीमा राखिएको थियो । उक्त जहाजलाई जाँच गर्ने श्रीका दुई प्राविधिकलाई प्राधिकरणले दिउँसै निलम्बन गरि दिएको छ ।

बिहीबार बिहान काठमाडौंबाट उडेको केहीबेरमै इन्जिनमा फायर वार्निङ (आगोको संकेत) देखिएपछि चालक दलले ९ नोभेम्बर–अल्फा नोभेम्बर रोमियो विमानको दायाँ इन्जिन बन्द गरेर एउटा इन्जिनकै भरमा आपतकालीन अवतरण गराएका थिए । एसएचए–८२१ उडान नम्बरको विमान काठमाडौंबाट ९:३८ मा भैरहवाका लागि उडेको थियो । उपत्यका छाडेर धार्के आसपासको आकाशमा पुगेलगत्तै दायाँ इन्जिनमा आगोको संकेत देखिएपछि ९:५५ मा काठमाडौं अवतरण गराइएको थियो ।

पाइलट राजेन्द्रमान शाक्यको नेतृत्वमा आगलागी घटना छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणले समिति बनाएकाे छ । प्राधिकरणले शुक्रबारसम्म समितिलाई प्रतिवेदन बुझाउन भनिएको छ । प्राधिकरण मातहत रहेको सेफ्टी स्ट्यान्डर्ड विभागका एक इन्जिनियरले विमानको इन्जिन नै फेर्नुपर्ने बताएका छन् । ‘आगोको संकेत देखिएपछि पाइलटले ककपिटबाट आगो नियन्त्रण गर्ने फायर एस्टिङ्गुइसर चलाएका थिए,’ उनले भने, ‘फायर एस्टिङ्गुइसर चलाएपछि त्यही इन्जिनमा विमान उडान मिल्दैन, बदल्नैपर्छ ।’

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %