
फाल्गुन २४, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ – यस पटकको राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने निर्वाचन आयाेगले जनाएको छ । यस भन्दा अघि दुईपटक भएको राष्ट्रपति निर्वाचन मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने चलन थियो । तर यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल एमालेबाट उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार भएका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यहि फागुन २८ सकिने छ । भण्डारीकाे कार्यकाल सकिएकोले निर्वाचन गर्न लागिएको हो । तेस्राे पटक हुने राष्ट्रपति निर्वाचनमा जम्मा ८ सय ८१ जनाले मतदान गर्नेछ । ८ सय ८१ जना सांसदमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद छन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
संघीय संसद् अर्थात् प्रतिनिधि सभा सदस्यका ३ सय ३४ मतदातामध्ये मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन् । रबि लामिछानेकाे नागरिकता प्रकरणले गर्दा चितवन निर्वाचन क्षेत्र २ रिक्त छ । जनता समाजवादी पार्टीका समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् । यसरी ३ सय ३४ संघीय ४ जना घट्नेछ । सांसद निर्वाचन अधिकृत कार्यालयकी सूचना अधिकारी अमृता भण्डारीले बिहीबार हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिएका छन् । एउटा मतदान केन्द्रमा ७ कर्मचारी खटिनेछन् । मतदान बिहीबार बिहान १० देखि ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।
राष्ट्रपति निर्वाचनका लागि प्रयाेग हुने मतपत्र बेग्लाबेग्लै रङ्काे हुनेछ । संघीय सांसद र प्रदेश सांसदका लागि फरक रङको ९ सय ९० मतपत्र छापिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका छन् । प्रवक्ता पाैडेलका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर छ भने प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर छ । मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । यसपटक मत बदर कम गर्नकाे लाग फोटो राखिएको प्रवक्ता पौडेलले बताए । मतगणना सकिएलगत्तै मत गन्ने आयोगको तयारी छ । प्रवक्ता पौडेलले भने ‘बेलुका ७ बजेसम्म परिणाम आइसक्छ,’ ।
निर्वाचन आयोगकाे अनुसार राष्ट्रपति निर्वाचनका लागि तोकेको मौन अवधि सोमबार राति नै सुरु भइसकेको छ । माैन अवधिमा प्रचारप्रसार गर्न पाइँदैन । राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि चार लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचन निर्वाचन प्रक्रिया फागुन २७ मा सुरु हुने निर्वाचन आयोगले जनाएको छ । ।
सत्तारूढबाट राष्ट्रपति पदका उम्मेदवार भएका पौडेललाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । नेम्वाङलाई एमालेको समर्थन छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले कसलाई मत दिने भन्नेबारेमा निर्णय भईसकेकाे छैन । मौन अवधि सुरु भइसकेकाले ती राजनीतिक दलले अब कुनै पनि राष्ट्रपति पदकाे उम्मेदवारको पक्षमा औपचारिक निर्णय लिन नपाउने निर्वाचन आयोगकाे बताएको छ। औपचारिक रूपमा निर्णय लिन नपाए पनि अनौपचारिक तहमा निर्णय लिन पाउने छ । तर पनि मंगलबारसम्म यी दलहरूले आफ्ना सांसदलाई अनौपचारिक रूपमा कुन राष्ट्र पति पदका उम्मेदवारलाई भाेट हाल्ने साे बारे कुनै संकेत वा जानकारी गरेका छैनन् ।
