नुवाकोट (त्रिशूली), २९ असोज
जिल्लाका ११ हजारभन्दा बढी स्वच्छ खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । स्वच्छ पानीको अभावमा उनीहरू विभिन्न रोगको सिकार पनि भएका छन् ।
नुवाकोटका सर्वसाधारण अझै पनि खोला, कुलाको पानी पिउन बाध्य भएका छन् । जिल्ला खानेपानी कार्यालयका अनुसार नुवाकोटको कुल ५८ हजार १० घरका तीन लाख १४ हजार नौ सय ९४ जनामध्ये ७४.९६ प्रतिशतले मात्र स्वच्छ पेयजलको उपभोग गरिरहेका छन् ।
खानेपानीका लागि मूल, कुवा, इनार, खोला र कुलोमा २२.९२ प्रतिशत नुवाकोटका जनता निर्भर रहेका जिल्ला खानेपानी कार्यालयका प्रमुख रामकृष्ण शेरचनले बताए ।
खानेपानी कार्यालयको सर्वेक्षणअनुसार विदुर नगरपालिकासहित ६१ गाविसका ५८ हजार १० घरमध्ये ४४ हजार पाँच सय घरमा मात्र व्यवस्थित खानेपानीको सुविधा छ । त्यसैगरी, १४ हजार चार सय ३१ घरले मात्र व्यवस्थित शौचालय प्रयोग गर्ने गरेका छन् ।
रासस