बेलायती मिडीया स्क्यान्डल – ‘के पत्रकार मालिकका पट्टा बाँधिएका कुकुर हुन् ?’

Read Time:16 Minute, 46 Second

राज्यसत्ता विशेष
विश्वको संचार जगतमा एकछत्र राज गर्न सफल अत्यन्त प्रभावशाली धनाद्य  व्यक्तित्व रुपर्ट मुर्डकको एक पत्रिका बन्द हुँदा मीडियाको भित्री खेलरुपी रह्स्यहरु सतहमा आउदैछन । बेलायतको चर्चित पत्रिका बन्द भएकोछ तर त्यससंगै कालो मुहार सहित बेलायती संचार जगत, प्रहरी प्रशासन, राजनैतिक दलहरु पनि उदागिंदैछन् ।

साथमा मीडियाको रंग र रुपको पनि क्रमश खुलासा हुँदै गैरहेकोछ । यसको  प्रभाव  अहिले बेलायतबाट अमेरिका ,अस्ट्रेलिया, क्यानडा सम्म पुगेको छ र त्यसले विश्वभर हडकम्प मच्चाएकोछ । मुर्डकको न्युज अफ द वर्ल्ड् पत्रिकाका पत्रकारहरुद्वारा फोन ह्याक गरि समाचार प्रकाशित गरिएको खुलासा भएपछि थुप्रा रहस्यका पाटाहरु बाहिरिदैछन् ।

बेलायतबाट डा. चजिन्द्र राना मगरको विशेष रिपोर्ट

 

सनसनी रिपोर्टमा विश्वास र ख्याती कमाएको यो ट्याब्लोइडका पत्रकारले अनधिकृत रुपमा सर्वसाधारण, बिभिन्न राजनीतिक व्यक्तित्व, सेलिब्रेटी ,आपराधिक क्रियाकलापमा संलग्न ,प्रहरी प्रशासन , सरकारी  कर्मचारी , राजघराना  देखि  लिएर ईराक र अफगानिस्थान लडाइ सम्मका  गतिविधीमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न ब्यक्ति र संस्थालाई आँतकित पारेको आरोप छ ।  उक्त पत्रिका विरुद्ध फोन ह्याक गरेको  ५ वटा मुद्धा दर्ता गरिएको  छ भने मुद्धाहरु थपिने क्रम जारी छ ।
हरेक आईतवार प्रकासित हुने उक्त ट्याब्लइड पत्रिका सन १८४३ मा सुरु गरिएको थियो । अपराध , सेक्स जस्ता बिषयमा सनसनीपूर्ण समाचार प्रकाशित गरि  लोकप्रियता कमाएको यस पत्रिकाले त्यो छवि बचाइराख्न गरेको बदमासीका कारण आज  १६८ बर्षको आफ्नो इतिहास धराशायी बनाएर विलुप्त हुनुपर्यो । यसको औपचारिक रुपमै बन्द गरिएको घोषणा गरिएकोछ । यता रुपर्ट मुर्डकको उक्त पत्रिका बन्द हुँदै थियो भने अर्को तर्फ उनकै न्युज कर्पोरसन ग्रुपले  बेलायतको  अत्यन्त लोकप्रिय च्यानल ब्रिटिश स्काई ब्रोडकाष्टिङको लागि यु एस डलर १२.५ बिलियनमा सम्झौता गर्न लागेको थियो । यसरी सम्झौता गर्न थालिएकोमा सरकारमाथी  व्यापक बिरोध भई रहेको छ ।

पत्रकारको बदमासी या मालिकको स्वार्थ

सन २००२ मा १३ बर्षीय  मिल्ली नामक बालिका स्कुलबाट घर फर्किदै गर्दा अपहरन मा परिन । उनको खोजतलास  हुँदै थियो । उक्त पत्रिकाले घट्नाका पीडित मिलीका अभिभावक ,साथी-सङगी आदिका फोन वार्तालाप ह्याक गरेको थियो । ती टेपबाट  केही अंश मेटाइएको  पाइएको  थियो जसले अनुसन्धानलाई थप रहस्यमय बनाएको थियो । पछि ती बालिका मृत  अवस्थामा फेला परिन ।  न्युज अफ द वर्ल्ड् का भूपू पत्रकार एन्डी कल्सनलाई प्रहरीले अहिले सोही अभियोगमा  पक्राउ गरेको छ । अहिलेका बेलायती प्रधानमन्त्री डेविड क्याम्रनका प्रवक्ता उनले जनवरी २०११ मा राजिनामा दिएकाथिए ।
उक्त  घटनाले बेलायतमा ठुलो तहल्का नमच्चाएपनी यस्तो फोन ह्याकिङ  स्कयान्डल  रोयल परिवारमा पनि छिरेपछि भने ठूलो हडकम्प मच्चियो । सुरुमा रोयल फेमिलीका उच्च  कर्मचारीहरुको फोन ह्याक भएको थाहा भयो । यो बदमासी पत्ता लगाउने जिम्मा लण्डन मेट्रोपोलिटियन प्रहरी सेवालाई दिइयो जसलाई स्कटल्यान्ड यार्ड पनि भनिन्छ । २००६ मा उक्त गतिबिधिमा सङ्लग्न व्यक्ति न्युज अफ द वर्ल्ड् का रिपोर्टर क्लिव गोदम्यान रहेको पत्ता लाग्यो । उनी संगै सोही पत्रिकाका ग्लेनम्यान पनि रहेको थाहा लाग्यो । उनीहरु उक्त पत्रिकाका रोयल फेमिली सम्बन्धी रिपोर्ट  तयार  पार्नुका साथै व्यक्तिगत अनुसन्धानकर्ता पनि थिए । उनीहरुले नै रोयल फेमिलीका कर्मचारीका पिन कोड चोरेका थिए । यता अनुसन्धान जारी थियो भने उता उनीहरुले रोयल परिवारका राजकुमार ह्यारी , विलियम आदिका पनि   फोन ह्याक गरिरहेकाथिए । यस्तो बदमासी गरेर पत्रिकाले राजकुमार ह्यारिका बारे समाचार लेखेको थियो जसमा राज्कुमार ह्यरीको गोप्य प्रेम सम्बन्धबारे प्रकासित गरिएको थियो । उक्त समाचारमा उनका दाजुले जिस्काएको शब्द हुबुहु रेकर्ड गरिएको वा लेख्न लगाइएको जस्तै गरि उतारिएको थियो । यसरी रोयल परिवारमा कसैले उनीहरुको व्यक्तिगत कुराहरु सुनिरहेको थाहा लाग्यो । यस प्रकरणले रोयल परिवारमा एक प्रकारको हल्लीखल्ली मच्चिएको  थियो ।
उक्त पत्रिकाले प्रहरीसँग पनि व्यापक लेनदेन गरेको खुल्न आएको छ । समाचार सम्प्रेसन को लागि मात्र नभएर कसैको गोप्य कागजात ,बिभिन्न अनुसन्धानका रिपोर्ट आदिको लागि पनि प्रहरीलाई मोटो रकम दिईएको खुलासा भएको छ । यसरी दिन दहादै जनताका आवाजहरु बेचिदा पनि  प्रहरी प्रशासन, सरकारले केही सुइको नपाउदा अहिले सबै अचम्मित छन् ।
मिडियाका सम्राट मुर्डकको मीडियाका पत्रकारहरुको फोन ह्यकिङ स्क्यान्डलले अहिले बेलायती प्रहरी , राजनीतिज्ञ सबैलाई तानेको छ । बेलायतका प्रमुख पत्रिकामा  लगानी रहेको उनको अन्य पत्रपत्रिका द सन, द टाईम्स , डेली मिरर जस्तालाई पनि अहिले शँकाको घेरामा राखिएको छ ।  बिश्वभर फैलिएको उनको मीडिया जालोलाई यस प्रकरणले प्रश्नको घेरामा ल्याइदिएकोछ ।
यस प्रकरणले राज्यको चौथो अगंको रुपमा परिभाषित गरिने  पत्रकार हैसियतमाथि पनि प्रश्नचीन्ह खडा भएकोछ । अकुत सम्पत्तिका मालिकले नोकरी दिएर समाचार उत्पादन गर्ने ब्यावसायिक मीडिया हाउसहरुको स्वार्थका गोटी मात्र रहेछन् पत्रकार भन्ने पनि यस प्रकरणले उदाँगो पारिदिएकोछ । दुई छाक हातमुख जोर्न अपराध समेत गर्न नहच्किने संचारकर्मी फगत मालिकका घाँटीमा पट्टा बाँधिएका कुकुर जस्तै रहेछन् भनेर कसैले टिप्पणी गरेमा आश्चर्य नमाने हुन्छ । मीडियाले वलियो र हुने खानेहरुकै पक्षपोषण गर्दोरहेछ । कमजोरहरुलाई त बेच्दो मात्र रहेछ भन्ने बजारवादको चरमपना भोगिरहेको विश्व बजारमा फेरि मीडियाको क्रुर रुप सार्वजनिक भएकोछ ।
नेपालको सन्दर्भलाई पनि यहाँ जोड्न सकिन्छ । नेपालमा किन आफ्नो सर्वश्व गुमाएर एउटा निश्चित जाति र वर्गकाले मीडियामा लगानी गरेका रहेछन् भन्ने बुझ्न पनि यो प्रकरणबाट अनुमान लगाउन सकिन्छ । नेपालमा संचारकर्मीहरुको जातीय तथ्याँक हेर्ने हो भने त्यहाँ पनि शासक जातिहरुकै दवदवा छ । उनीहरु किन अन्य क्षेत्रमा नगई मीडियामै जान रुचाँउछन् भन्ने रहस्यभित्र बेलायतको यो प्रकरणले धेरै कुरा खोल्न सहयोग गर्दछ । त्यसैले मीडिया पनि हुनेखानेहरुकै निम्ति र शासकको एउटा बलियो हतियार हो जसले सत्ताको सधैं चाकरी गर्ने मात्र होइन उसको साम्राज्यलाई नै वैधता दिन हरेक तिकडम गरिरहेको हुन्छ भन्ने प्रसिद्ध मीडिया आलोचक नोम्स चोबस्कीको भनाईलाई यसले बलियो बनाईदिएकोछ ।

को हुन रुपर्ट मुर्डक ?

चेयरम्यान एन्ड  चिफ एक्सिक्युटिभ अफ न्युज कर्पोरेसन एन्ड  फक्स न्युजका मुर्डक सन १९३१ मा अस्ट्रेलियामा जन्मेका थिए । मिडियाकर्मी बाबुका सन्तान सुरुका दिनमा उनको शिक्षा दिक्षा अस्ट्रेलियामै भयो । पछि फिलोसोफी ,पोलिटिक्स , इकोनोमी बिषय लिई उनले बेलायतको अक्स्फोर्ड  युनिवर्सिटीमा अध्ययन गरे । बाबुको निधनपछि उनले बुवाको पैत्तिक  मिडिया ब्यवसायमा हात हाले । १९५३ मा न्युज लिमिटेडका डाईरेक्टर  बने । उनले  सन्डे टाईम्स किने । ब्यावसायमा उनले छिटै प्रगतिको खुड्किलाहरु चढ्न थाले । प्रसिद्ध संचारगृह डेली मिरर, डेली टेलिग्राफको  आधिकारिकता माथी पनि आफ्नो पकड जमाए । त्यति बेला उनले अस्ट्रेलियाको लेबर पार्टीलाई निकै सहयोग गरे जसको परिणाम उक्त पार्टीले राम्रो परिणाम हासिल गर्न सफल रहयो ।
उनले अष्ट्रेलियापछि न्युजिल्यान्ड ,क्यानाडामा पनि मिडियामा लगानी बढाउन सुरु गरे । बेलायती  मिडियामा उनी सन १९६८ मा न्युज अफ द वर्ल्डको माध्यमबाट भित्रिए । त्यसपछि उनले द सन पत्रिका पनि स्वामित्वमा लिए । लगत्तै उनले ट्याब्लईड पत्रिकाको सुरु गरे जसले त्यहि प्रेसबाट पत्रिका निकाल्दा खर्च कतौटिमा व्यापक सहयोग गर्थ्यो । उनले १९८१ मा द टाईम्स र सन्डे टाईम्स पनि खरिद गरे । सन १९८६ तिर उनले बेलायत ,अमेरिका ,अष्ट्रेलियामा इलेक्ट्रोनिक प्रोडक्सन  प्रोसेस भित्रयाए जसले व्यापक कर्मचारी कटौती गर्‍यो । यसको प्रेस युनियनले निकै बिरोध गरेको थियो ।
उनको स्याटेलाइट  टेलिभिजन स्काई टेलिभिजनले खासै सफलता पाउन नसकेपनि उनकै प्रतिद्वन्दी कम्पनी ब्रिटिश स्याटेलाइटसँग उनको कम्पनी  गाभिन सफल रह्यो । त्यसपछि बनेको ब्रिटिश स्काई  ब्रोडकास्टिङले ब्रिटिश पेइङ टीवी बजारमा आधिपत्य जमाउन सफल रहेको छ । मुर्डकले उक्त कपंनीको सम्पुर्ण अधिकार आफुमा राख्न कसरत गरि राखेका छन् ।
उनको अमेरिकी मीडिया मार्केटमा वर्चश्वको कथा पनि रोचक छ । अमेरिकामा सन१९७३मा छिरि स्यान अन्तिनो न्युज एक्स्प्रेस किने पश्चात १९७६ मा न्यूयोर्क टाईम्स पनि किन्न सफल रहे । अमेरिकामा  टेलिभिजन चलाउन त्यहिको नागरिक हुनुपर्ने प्रावधानका कारण उनले त्यहाँको नागरिकता पनि ग्रहण गरे । उनले सन १९८५ मा २० सेन्चुरी फ्याक्स मुभि ,१९८७ मा ब्रोड काष्टिङङ कम्पनी ,१९९६  मा फक्स न्युज च्यानल किने । अहिलेको ईन्टरनेट सोसियल नेटवर्किङ  साइटहरुमा पनि उनको आधिपत्य रहेको बताइएकोछ ।

रुपर्ट मुर्डक

उनको मीडिया साम्राज्य युरोप र अमेरिका मात्र नभई एसिया महादेशमा पनि फैलिएको छ ।  उनले हङकङमा  स्टार टीवी १ बिलियन अमेरिकन डलरमा खरिद गरि एशियामा धमाकेदार प्रवेश गरेकाथिए । यो टीवी एसियाकै सबै भन्दा ठुलो स्याटेलाईट नेटवर्क मध्येको एक हो । तर यहाँ भने उनले सोचे जस्तो हुन सकेको छैन । चीन सरकारले उनको च्यानल माथी रोकटोक लगाएपछि चीनको  धेरै भूभागमा यसको पहँुच पुग्न सकेको छैन ।  चीनमा मीडिया राजनीति सफल बनाउन होला उनले तेश्रो श्रीमती चीनकी वेन्दी दोङलाई बनाएकाछन् ।
उनको  राजनीतिक पहुच निकै बलियो रहेको छ । शुरुका दिनमा  अष्ट्रेलियाको लेबर पार्टी समर्थक रहेका उनले केही समय कन्ट्री पार्टीको समर्थन पनि गरे ।  अहिले उनले लेबर पार्टीका प्रधानमन्त्री केविन रुडको समर्थन गरेका छन् । यता बेलायतमा सन १९८० र १९९० तिर उनको मिडिया कन्जरभेटिभ पार्टी समर्थक रहेको थियो जुन बेला उक्त पार्टीले अत्यधिक नतिजा लिई सरकार बनाउन सफल रह्यो । तर सन १९९७, २००१,२००५ तिर उनको पत्रिका या त तठस्थ रहयो या त आशिंक रुपमा  लेबर पार्टीका  टोनी ब्लयेरलाई समर्थन गर्‍यो । पछि उक्त पार्टी सरकारमा  छदै  उनको सन पत्रिका टोनी ब्लैरलाई त्यागी कन्जरभेटिभ पार्टीका डेविड क्याम्रोनलाई समर्थन गर्न थाल्यो । त्यसैको फलस्वरुप डेविड  प्रधानमन्त्री बनेपछि न्युज अफ द वर्ल्डका सम्पादक प्रधानमन्त्रीका प्रबक्ता हुने मौका पाए । जसलाई अहिलेको प्रकरणमा छानविन गरिदैंछ । यसरी आफ्नो स्वार्थका लागि जे पनि गर्ने र जस्तोसुकै हत्कण्डा अपनाउने उनलाई अवसरवादीको आरोप लाग्ने गरेको छ । विशेषगरि बलियो दलसंगको सहकार्य उनको विशेषता हुने गरेकोछ ।  जुन पार्टीले जित्ने  प्रबल संभावना रहन्छ उसैलाई समर्थन गर्ने उनले त्यसैको फाईदा लिई आफ्नो ब्यावसाय मजबुत बनाउने गरेकाछन् । त्यसै कारण उनको सम्बन्ध  विश्वका प्रमुख शक्तिशाली राष्ट्र प्रमुखहरुसंग सुमधुर रहेको छ ।
मुर्डक टाईम पत्रिकाको विश्वका चर्चित १०० मा  तीन पटक सम्म पहिलो नंबरमा  छानिएकाछन् । २०१० मा अमेरिकाकै फोबेस पत्रिकामा उनी उनी विश्वका १३औ शक्तिशाली ब्यक्तित्वमा  पर्न सफल रहे ।
बेलायतमा उनको कम्पनीले गत ११ बर्ष भित्र २०.१ बिलियन डलर नाफा गरेपनि कर नतिरेको आरोप छ । लगभग ३५० मिलियन डलर कर्पोरेट  ट्याक्स तिर्न बाकी रहेको अर्थशास्त्रीहरुको रिपोर्टले जनाएको छ । यसमा पनि उनी छानविनको घेराभित्र परेकाछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %