हेटौडाका सबै गाविस कम्प्युटरकृत हुने

Read Time:2 Minute, 34 Second

हेटौँडा, २९ असोज 

मकवानपुर जिल्लाका सबै गाविसका कार्यालयसम्बन्धी कामकाज अब कम्प्युटरबाट हुने भएका छन् ।गाविसबाट सेवाग्राहीका लागि गरिने सबै किसिमका सिफारिस अब कम्प्युटरबाट दिइने भएको छ । यसबाट सेवाग्राहीलाई दिइने सिफारिसलगायतका विवरण कम्प्युटरमा रहने र अर्को सिफारिस बनाउँदा त्यसैबाट मिलाएर दिन मिल्ने भएकाले काम गर्न समेत सजिलो हुने गाविसका सचिवहरू बताउँछन् । साथै जिल्ला विकास समितिमा गाविसबाट उपलब्ध गराउनुपर्ने सबै किसिमका अभिलेख एवम् विवरण इन्टरनेटबाट दिन मिल्ने व्यवस्था मिलाइएको जिल्ला विकास समितिका सूचना अधिकृत अजय बर्तौलाले बताए । ।

यसबाट जिल्ला विकास समितिमा पठाउनुपर्ने कागजपत्र लिएर गाविस सचिवहरू सदरमुकाम आउनुपर्ने बाध्यता समेत हट्ने भएको छ । त्रिचालीस गाविस र एक नगरपालिका रहेको मकवानपुर जिल्लाका सबै गाविस सचिव र प्राविधिक सहायकलाई आधारभूत कम्प्युटर तालिम समेत दिइसकेको र सबै गाविसमा जिल्ला विकास समितिले एक÷एक थान कम्प्युटरसमेत उपलब्ध गराइसकिएको सूचना अधिकृत बर्तौलाले बताए । ।

साथै जिल्ला विकास समिति र विद्युत् सेवा पुगेको २२ वडा गाउँ विकास समितिमा इन्टरनेट सेवासमेत जडान भइसकेको र बाँकी रहेको गाविसमा सौर्य ऊर्जा जडान गरेर वा वैकल्पिक व्यवस्था गरेर भए पनि इन्टरनेट सेवा जडान गर्ने जिल्ला विकास समितले जनाएको छ । सबै गाविसमा इन्टरनेट सेवा जडान भएपछि गाविसका बासिन्दालाई गाविसको कार्यालयबाट शिक्षा, कृषि, विज्ञान तथा प्रविधि, स्वास्थ्यका क्षेत्रमा सूचना केन्द्र सेवा उपलब्ध गराउने सोचाइ रहेको स्थानीय विकास अधिकारी युवराज सुवेदीले बताए । ।

 

 

रासस 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %