बैतडी (खलङ्गा) २९ असोज
दसैँको बेला घर फर्किरहेका यात्रुबाट यातायात व्यवसायीले चर्को भाडा असुल गरिरहेका छन् । दसैँको बेला मौकाको फाइदा उठाएर सवारी चालकले चर्को भाडा असुलिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।बैतडीदेखि देहीमाडौँसम्मको १० किलोमिटर सडकखण्डमा मात्रै जिप चालकले रु ५० लिइरहेका छन् ।
डडेल्धुरा–बैतडी दशरथचन्द राजमार्ग र खोड्पे–बझाङ जयपृथ्वी राजमार्गको विभिन्न खण्डमा जिपचालकले समितिले तोकेकोभन्दा दोब्बर तेब्बर भाडा असुल्ने गरिरहेका छन् । लामो दूरीका बसले भन्दा पनि स्थानीय जिपचालकले दोब्बर भाडा असुलिरहेको विशालपुर–५ का सुरेश भट्टले बताए ।
बैतडीदेखि सतबाझसम्मको १८ किलोमिटर खण्डमा सेती महाकाली बस व्यवसायी समितिले रु ४५ भाडा तोकेको छ । तर त्यसको आधा मात्रै दूरी रहेको बैतडीदेखि देहीमाडाँैसम्म १० किमि खण्डमा ५० लिइरहँदा पनि प्रशासन मौन बसेको छ ।
त्यस्तै जयपृथ्वी राजमार्गको खोडपे–श्रीभावर खण्डको २५ किलोमिटर दूरीमा समितिले नै महँगो भाडादर कायम गरेको छ ।
उक्त खण्डमा समितिले कच्ची सडक भएको बेला रु ९५ भाडादर तोकेको थियो जुन अहिले पनि कायम छ । तर डडेल्धुरादेखि खोडपेसम्मको त्यत्तिकै दूरीमा भने रु ५५ मात्र भाडा रहेको सेती महाकाली बस व्यवसाय समितिका बैतडी टिकट बिक्रेता करन खत्रीले बताए ।
यसैगरी श्रीभावरबाट खोडपे आएका हाटका नरेश धनुशेले २५ किमिमा रु १२० तिरेको बताए । प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद शर्माले चर्को भाडा असुल सम्बन्धमा बुझ्ने बताउनुभयो ।
पचासवटा गाडी थप
दसैँका लागि यात्रुलाई आवतजावतमा सहजताका लागि भेरी अञ्चल यातायात बस व्यवसायी समितिले लामो र छोटो दूरीका लागि गरी करिब ५० वटा सार्वजनिक सवारी थप गरेको छ ।
दसैँ–तिहारमा अघिपछि भन्दा यात्रुको क्षमता बढ्ने भन्दै यातायातको कमी हुन नदिन गाडीको सङ्ख्या थपिएको सो समितिका बाँके अध्यक्ष डेकनाथ गौतमले बताए ।
उनका अनुसार समितिले काठमाडाँैका लागि दैनिक १० वटा नयाँ गाडी थप गरेको छ भने अन्य छोटो दूरीका लागि ४० वटा बस थपेको हो ।
रासस
–––––